Saturday, August 8, 2015

मन र आँखा भरिंदा!

सँगै सुत्दा कैले काँहीं गोडा लागे होलान् 
हिंड्दा, बस्दा, ठट्टा गर्दा छेड्छाड् भए होलान् । 
अन्जानमा भए होलान् भन्ने सबै ठानौं 
परिवारमा यस्तो हुन्छ दु:ख नमानौं।
**
हिमाल, पहाड , तराइका हामी यहाँँ छौं
मेची महाकाली सम्म फैलिएका रैछौं।
हाम्रो जस्तो विविधता कहाँँ हुन्छ र?
यस्तो राम्रो समाज बन्न भाग्यै चाहिन्छ।
**
आन-आर्बरले हाम्रो मन-मुटु चोरेछ
तपाईंंहरुका मन-मुटु हामी सित छ।
साटिएका मन-मुटु राखौं सम्हालेर
फेरि फेरि भेट हुँदा देखाउँ खोलेर!
****
(आन आर्बर नेपाली समाज एउटा सुनौलो नेपाली समाज हो। हामी समाजका सम्पूर्ण सदस्यहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। दीजजी लाई बिशेष धन्यबाद्। 

*** यो कविता आन-आर्बर बाट हाम्रो बिदाइ हुने दिन लिली पार्कमा पढेर सुनाइेको थियो  ! )

August 08, 2015
Ann Abor, M

बाइसौँ डेरा सर्दैछु!

बाह्रै बर्ष हुँदाखेरी घर छोड्ने भएँं 
हाइस्कूललाई जिल्लातिर पैलो डेरा सरें। 
कलेज पढ्न अलिक टाढा धरान जानु पर्‍यो
जागीर खोज्न काठमाडौंको यात्रा तय भयो!
**
आकांक्षाको धरातल बढ्दै जाँदा खेरी
अमेरीकातिर अाइयो अर्को डेरा सरी!
इलिनोइ, मासाचुसेट्स, मिचीगन गैयो
मासाचुसेट्स तिर फेरि डेरा सर्ने भैयो!
**
कहिले यता कैले उता डेरा खोजीयो
घुम्दा घुम्दै जीवन साथी पनि रोजीयो।
अब सर्ने डेरा हाम्रो बाइसौँ पो रैछ
जीन्दगीमा यौटा घर खै कैले पो हुन्छ?
****
August 08, 2015
Ann Arbor, Michigan 

जीन्दगीले यस्ता यात्रा...

हेर्दा हेर्दै तीनवटा हिउँद काटिएछ 
उठ्दा बस्दा हिंड्दा खेल्दा मुटु साटिएछ!
भारी मन बोकी फेरि बाटो लाग्नु पर्ला 
जीन्दगीले यस्ता यात्रा अझै कति गर्ला?


August 07, 2015
Ann Arbor,Michigan

सन्दर्भ गुरुपूर्णिमाको

जिन्दगीमा सही बाटो खोज्न सिकायौ
गलत बाटो नलाग्नलाई सचेत बनायौ। 
दिमागका खाली पाना अझै भरिंदैछन् 
कर्म दिने गुरुहरु आज पूजिंदैछन्!
** 

July 30, 2015
Ann Arbor, Michigan

हामी सानो हुँदा...

छुराले कपाल खौरेर मुडुलै बन्थ्यौं। रिट्ठा मिचेर फिंजै फिंज बनाएर कपाल नुहाउँथ्यौं। कपालमा चाया आउँदैनथ्यो। अलिक पछि लुगा धुने साबुन किन्न पाइने भो,एक मोहोर तिरेर। त्यसले नुहाउँदा पनि चाया देखा परेन। गाउँ छोडेर शहरतिर गइयो। अनेक थरी नुहाउने साबुन, श्याम्पू, कन्डिसनर, जेल र नाना थरीका तेल देखिए। अब भने कपाल पनि जगल्टा हुन थाल्यो र चाया पनि आउन थाल्यो। यो बिदेशी डलरको श्याम्पूले पनि राम्रो गर्ला जस्तो छैन। रिट्ठै तिर फर्किनु पर्ला जस्तो छ!

July 29, 2015
Ann Arbor, Michigan

Thursday, July 30, 2015

एउटा यस्तो प्रेम!

धनी बाउकी कान्छी छोरी चिटिक्कै थी काली 
कलेज बजार गर्दा गर्दै मायाँ गाँस्न थाली। 
बाटो बिराउँछु कि भनी डराउँने गर्थें
कैलेकाहीँ सबै भुली जिस्क्याउँने गर्थें।
**
यति दर्हो पिरतीको गाँठो बाँधिएछ
ज्यान दुइटा भए पनि मुटु गाँसिएछ।
बा-आमाका आँखा छली बिहा गरियो
नाता-गोता सम्बन्धको अन्त गरियो!
**
ससुराले ज्वाँईको नाम सुन्नै नहुने
सासू भने अलिक मत्थर जस्ती देखिने।
बर्षौ पछि सासूमाको निम्तो पढियो
घरै छेउमा पुगे पछि ट्याक्सी चढियो!
**
ससुराले सबैखाले अन्तर्वार्ता लिए
लोकसेवाको जाँचभन्दा गाह्रो पारीदिए!
शहरमा घर, कार भए पछि मात्र
छोरी लिन आऊ,आज फर्क तिमी मात्र!
**
अब भने जीवनमा लक्ष्य एउटै रह्यो
मायाँ पाउन घर-कार जोड्नु पर्ने भयो!
प्रेम गर्ने प्रेमीहरु! प्रेम गर्नु पर्छ
प्रेम गर्दा धेरै कुरा ध्यान दिनु पर्छ!
**

जुलाई २७, २०१५ 

आन आर्बर, मिचिगन 

Saturday, July 25, 2015

अनि मात्र देश बन्ला!

खेत जोत्ने खन्नेहरु हिंडे बिदेश तिर 
डि. भी. लिंदै शिक्षक पनि लागे उतै तिर।
विध्यार्थी भै मैले पनि रोजें तेही बाटो
गाउँको खेत बँझिएछ बिरानो भो माटो!
**
खेल्न गाका खेलाडी नि उतै लुकी बस्ने
नेता पनि 'ताक परेमा तिवारी'झैं गर्ने।
राजदूतले उतैबाट पि. आर. बनाएछन्
हाम्रा युवा कलाकार त्यतै हराएछन्!
**
नेताहरु देश भन्दा आफ्नो हुँदो खोज्ने
योग्यतामा भन्दा बढी आफ्नै स्वार्थ रोज्ने।
देश भित्रै उध्योग धन्दा खोल्ने कैले अरे?
सरकारले फ्री टिकट र भिशा दिंदैछ रे!
**
नानाथरी नाटकले देश खस्किंदैछ
भारी मुटु बनाएर युवा बिदेशिन्छ।
यो देशले त्यस्तो नेता कैले जन्माउला?
युवाशक्ति लगाएर देश बनाउला!
**

July 25, 2015
Ann Arbor, MI

मायाँ किन लाउनु पर्थ्यो?

कैलेकाँहीं देख्दा 'हेलो' 'हाइ' गर्या भा हुन्थ्यो 
ओठभरि मुस्कान छरी 'बाइ' गर्या भा हुन्थ्यो! 
मन मुटु चोरी सँधै किन राख्नु पर्थ्यो?
अँगालोमै हाली मायाँ किन लाउनु पर्थ्यो?


July 18. 2015
Ann Arbor, MI

Sunday, July 12, 2015

आखिर, मानवीय प्रव्रित्ती न हो!

पुस्तकालय छिरेर पढ्दै थिएँ 
हात टेबलको मुनि पुग्यो 
र च्याप्प टाँस्सियो!
यसो हेरें-
चपाइएको 'चुइङ् गम' रहेछ!
एउटा कहाँँ हो र?
टेबलको तल्लो सतह त
'चुइङ् गम'को ट्र्यास नै भएछ!
**
सधैं सफा देखिने एलिभेटर
आज भित्तो कोरिएको रहेछ।
केही चित्रहरु थिए
त्यहाँ नहुनु पर्ने!
केही शब्दहरु थिए
बोल्नै लाज लाग्ने!
**
बाटोमा हिंड्दै थिएँ
कान बन्द गर्नु पर्‍यो!
कक्षाकोठा पुगें
एक माथि अर्को खप्टिएको
'चक बोर्ड' तल तानें।
आँखा छोप्नु पर्‍यो!
**
स्‍मृतिले अतित'री-प्ले' गर्‍यो
यसरी-
बाटोमा छेड्छाड्का शब्दहरु थिए
कक्षाका भित्ता र बेन्च-टपहरु
नाङ्गा चित्रहरुले रङ्गीएका थिए!
छाडा शब्दहरुले भरिएका थिए!
बेन्चका तलपट्टी
चपाइएका'चुइङ् गम' टाँसिएका थिए!
शिक्षक पढाउँदै थिए
अगाडिका बेन्चहरु खाली थिए
पछाडिका बेन्चहरु प्रेममय थिए!
ट्वाइलेट्का भित्ताहरु
रंगीन थिए
चित्र-बिचित्रका थिए!
**
कसैले ढोकामा 'नक-नक' गर्‍यो
आँखा खोलें
डस्टरले हतपत चक-बोर्ड मेटाएँ!
दिमागमा एउटा 'क्लिक' आयो-
जहाँं गए पनि
जहाँँ भए पनि
आखिर, मानवीय प्रव्रीत्ती न हो!
****

July 12, 2015
Ann Arbor, Michigan

सडकमा प्रेम यसरी पोखियो!

जाडो थिएन 
चर्को गर्मी पनि थिएन। 
महिना जुलाई थियो 
तर दिन जुलाईको जस्तो थिएन!
सिर्सिरे बतास चलेको थियो
दिनभरिको कामले थाकेको थिएँ
सडक पेटीमा बस कुर्दै थिएँ।
प्रेम एकाएक पोखिएको देखें।
**
एउटा युवक बाटो काट्दै थियो
ढाडमा बच्चा झैँ कोही बोकिएको थियो
मैले नियालेर हेरें -
बाबै, कहाँँ बच्चा हुन्थ्यो र!
युवती पो रहीछ!
**
ऊ थाकेछ र बिसायो
अब पालो युवतीको रहेछ।
उस्ले युवकलाई बोकी
बडो सकसले अलिक पर पुर्याई।
तर थाम्न सकिन
दुवै गर्ल्यामगुर्लुम्म लडे।
धेरै बेरसम्म लडिरहे!
**
बस आएर घ्याच्च रोकियो।
म बस चढें
चालकले सोध्यो-
त्यहाँ के भयो?
मैले खुलेर भन्न सकिंन-
सडकमा दिउँसै प्रेम पोखियो!
**
July 10,2015
Ann Arbor, Michigan

यो पनि सँस्कारकै कुरो

स्नातक तहमा बिहानीको कक्षामा भर्ना भएको थिएँ। भर्खरै काठमाण्डौं आएको म सहपाठी साथीहरु भन्दा अलिक भिन्न थिएँ; यो अर्थमा कि बिहानी कक्षा पढेर दिउँसो एउटा निजी विध्यालय पढाउन पुग्नु पर्थ्यो। बिहान र बेलुका ट्युसन पढाउनैमा ब्यस्त मेरो लागि कक्षामा मैले जति बुझें या गरें, सामान्यत: त्यही परीक्षाको लागि मेरो तयारी पनि हुन्थ्यो!बिहानी कक्षा पढाउने केही प्राध्यापकहरु निकै अनुभवी र मेहनती पनि थिए। त्यस्तै गणितमा निक्कै दक्खल भएका एक प्राध्यापक एक दिन 'क्याल्कुलस' पढाउँदै थिए। उनले पुस्तक बाट एउटा 'प्रोब्लेम' छाने र 'सल्व' गर्न थाले। दुर्भाग्यबश उनले अलिक कठीन 'प्रोब्लेम' छानेछन् र त्यसमा 'होमवर्क' पनि गरेका रहेनछन्। उनले इमान्दारिता देखाउँदै निक्कै प्रयास गरे, तर समाधान गर्न सकेनन्। मुन्टो निहुर्याएर निधारमा हात राखी उनी सोच्न थाले। टनाटन भरिएको कक्षाकोठाबाट एक्कासी एउटा आवाज आयो - 'सरले आज बिहान बिहानै दारु पिएर आएछ कि, क्या हो?'। कक्षाकोठा हाँसोले भरियो। ती प्राध्यापक जङ्गीए। त्यसपछि उनी फेरि पढाउन आएनन्। विध्यार्थीले प्राध्यापक चाहियो भनी बिभागीय प्रमुखको कार्यालयमा तालाबन्दी गरे। तर पनि प्राध्यापकको ब्यवस्था हुन सकेन। अान्दोलन चलिरहेकै थियो। धेरै जसोले बागबजारका 'कोचिङ् सेन्टर' मा गएर तिनै प्राध्यापकसँग पढी कोर्स पूरा गरेछन्। हामी केही भने हेरेका हेर्यै भयौं। किताबका उदाहरणहरु हेर्दै परीक्षाको तयारीमा लाग्यौँ!

July 05, 2015
Ann Arbor, Michigan

कस्तो सँस्कारलाई पछ्याइरह्ने?

प्रसिद्द इँटालेली-अमेरिकी भौतिक बैज्ञानिक एनरिको फर्मीकी श्रीमती लाउरा फर्मीले एउटा प्रसँगमा लेखेकी छन्-'जब हाम्री छोरीले घरमा प्रार्थना गर्दा मुसोलिनीको नाम लिइन्, म त असमन्जसमा परें। मेरो प्रश्नको उत्तरमा उनले स्कूलमा यही सिकाएको र हरेक दिन त्यो प्रार्थना गर्नै पर्ने बताइन्। हामीलाई खपी नसक्नु भयो। त्यसैले हामीले प्राण भन्दा प्यारो देश छोड्ने निर्णय गर्यौँ।' 
एउटा अर्को प्रसँग पनि जोडौं-मलाई सानो हुँदा दसैंको टीकामा बुवा तथा मान्यजनले टीका लगाइदिँदा भनेको याद आउँछ-'श्रीपाँच बिरेन्द्र विर बिक्रम शाहदेवको पालाको टीकाको प्रभावले गरिकन राजा दाहीना हुन्!'
आखिर सँस्कार के हो? र कस्तो सँस्कारलाई पछ्याइरह्ने? तानाशाहहरुको गुणगानलाई दैनिकी बनाउने हो कि सँस्कार? कमैया प्रथालाई जीवितै राख्नु पर्ने हो कि सँस्कार? एकान्तको गोठ्मा जङ्गली जन्तुको त्राशमा एक्ली महिलालाई राती सुत्न पठाउनु पर्ने छाउपडी प्रथा हो कि सँस्कार?मध्यरातमा जाँड-रक्सीले मातेर स्वास्नी कुट्ने हो कि सँस्कार? यो सँस्कारको कुरो अलिक जटील देखिन्छ। अहिले छापाहरू वा सामाजिक सन्जालहरुमा चर्का बहस भैरहेका छन्-'नेपालीहरु बिदेशीएर सँस्कार बिर्सिए, सँस्क्रिती बिर्सिए।' तर त्यहाँ के/कस्तो सँस्कार/सँस्क्रिती पछ्याइरह्नु पर्ने भनी स्पस्ट्याइएको भने भेटिन्न! नेपालीहरुले बिदेशमा के सँस्कार बचाउँने? कुन सँस्कार पछ्याइरहने? यसमा तपाईंँको बिचार के छ?


July 05, 2015
Ann Arbor, Michigan

जुलाई ४ को वनभोज ...

जुलाई ४ को वनभोजमा खूबै खाइयो 
बिङ्गो खेली,कम्मर भाँची राम्रै नाचियो।
मादलको ताल हाली अन्ताक्षरी गाउँदा 
रमाइलो भो, अर्को बर्ष यस्तो कहाँँ होला?

July 05, 2015
Ann Arbor, Michigan

मुस्कानले सबै कुरा ...

मुस्कानले सबै कुरा कहाँँ बोल्छ र 
ओठले नि पीर-ब्याथा कहाँँ खोल्छ र !
मन भित्र बेदनाका ताल बन्छन् होला 
एकान्तमा बाढी बनी बग्दा होलान् खोला!


July 05, 2015
Ann Arbor, Michgan

Saturday, July 4, 2015

प्रव्रिती नै हो कि!?

म छु धनी भनी 
हल्ला गरेको भा हुन्थ्यो!
तर 
ऊ छ साह्रै गरीब भनी
भन्नु किन पर्थ्यो?
**
मैले जागीर पाएँ भनी
सुनाको भा हुन्थ्यो।
तर
ऊ छ अझ बेरोजगार
भन्नु किन पर्थ्यो?
**
मेरो छोरो 'बोर्ड-टपर' भो
भनेको भा हुन्थ्यो।
तर
उस्की छोरी 'फेल' भै भनी
भन्नु किन पर्थ्यो?
**
मेरो छोरो बिदेश बस्छ
भनेको भा हुन्थ्यो।
तर
तेरो छोरो रल्लीई हिंड्छ
भन्नु किन पर्थ्यो?
**
मेरा बाउ त मन्त्री पो छन्
भनेको भा हुन्थ्यो ।
तर
तेस्को बाउ ता मेरो पि.ए.
भन्नु किन पर्थ्यो?
**
आफैं ठूलो, आफ्नै राम्रो
भन्नु ठिकै हो कि?
तर
अरु सबै खतम भन्ने
प्रव्रिती नै हो कि!?
**

July 4, 2015
Ann Arbor, Michigan

फर्किन्छन् कि ती लँगौटीहरू!?

एउटा सेतो कपडाको धरो 
जो कन्धनीमा अडिन्छ 
र लाज छोप्छ
यही नै हो लँगौटी!
**
न धेरै कपडा चाहिने
न त सिउनु नै पर्ने
लगाउन सजिलो
खोल्न अझ सजिलो
गर्मीमा हावा सजिलै छिर्न दिने
गजबको थियो लँगौटी!
**
दुई-तीन पुस्ता भो
लँगौटी हराएको थियो।
इतिहास दोहोरिन्छ भने झैं
अब नयाँँ पुस्ता सँगै
लँगौटी फर्कंदै जस्तो छ!
**
रङ्हरू फेरिएका छन्
आकारहरू घटेका छन्
प्वालहरू परेका छन्
यत्रतत्र लत्रिएका छन्!
हाम्रा बा-आमाका पालामा
लाजले फालिएका थिए!
कुनै बहानाले
कुनै चाहनाले
फेरि
फर्किन्छन् कि ती लँगौटीहरू!?
**
July 2, 2015
Ann Arbor, Michigan

तपाईंलाई पनि सम्झना छ कि?

'तिमीले दौराको बाउलाले सिंगान पुछ्दै गुच्चा हानेको बिर्सियौ कि?' बर्षौ पछि गाउँघरको दैनिकी सम्झाउँदै स्कूले साथीले आज फेसबूकबाट खबर पठाए। उनलाई मात्र खुसुक्क जवाफ लेख्न मनले मानेन किनभने जिन्दगीको त्यो सुनौलो क्षण हामी धेरैले भोगेका छौं। स्कूलमा टिफ्फिनको समयमा गुलेली झैं औंला तन्काएर गुच्चा मारी खेलेको म कसरी बिर्सन सक्छु र ! छुट्टीको घन्टी बजेपछी घर जान बुर्कुसी मार्दा सुरुवालको ईँजार चुँडिएर एक हातले किताब च्यापेर अर्को हातले सुरुवाल समाती घर पुगेको पनि हिजै जस्तो लाग्छ! त्यही माथि बाटोमा पुतलीले जिस्क्याउँदा लाजले रातो पीरो भएको त अहिल्यै जस्तो लाग्छ! अहा, क्या थिए ती दिनहरू! साथी, समयको झटारोले आज धेरै टाढा पुगिएछ। तिमी उता रहे छौ, म यता पुगेँछु। माथ्लाघरको ठूले कता छ? तल्लाघरे साने नि? जे होस् तिमीले झक्झ्क्यायौ र ती दिनहरुलाई अझ ताजा बनायौ। नमरी बाँचे, कालले साँचे फेरि त्यतै कतै भेटौंला!

July 1, 2015
Ann Arbor, Michigan

असारको पन्ध्र

आज असारको पन्ध्र रहेछ। मूठी रोपेर मुरी फलाउने समयको शुरु हुने दिन! बाउसे भएर रोपाहारलाई हिलो छ्याप्दै गरेको मजा अब सम्झनामा मात्र छ। यत्ति धेरै रमाइलो हुन्थ्यो कि-त्यति मजा त फेरि कहाँँ होला र! दिनभरीको रमाइलो पछि ठेकीको चक्ला-चक्ला परेको दही, घरैमा कुटेका मग्मगाउँने चिउरा र घ्याम्पोमा हालेर पकाएका मुङ्ग्रे केरा मिसाएर दही-च्यूरा-केरा खाँदाको क्षणको वर्णन गर्ने शब्द मसँग छैनन्। अहिले पनि त्यहाँ असारको पन्ध्रको रमाइलो उस्तै छ कि?

June 29, 2015
Ann Arbor, Michigan

आखिर के चाहिन्छ?

मत्ता हात्ती जस्तो
गर्जंदै ऊ आयो। 
आसेपासे र काँटा-चम्चाहरुले 
एकै स्वरमा जय-जयकार गरे-
'मालिकको जय होस्!'
'मालिकको जय होस्!'
**
ऊ मख्ख पर्‍यो
सबैको जाय-जेथा हडप्यो।
पीडीतहरु रोए, कराए
उसले सुनेन।
चम्चाहरुले ताली बजाए
बिजयोत्सव मनाए!
**
बस्तीमा बिपत्ती बढेको बढ्यै भो
दिन दुगुना र रात चौगुना भो।
सबै डराए
ओठ-तालु सुकाए।
आफ्नो भाग्यलाई धिक्कारे!
**
कथा एक्दिन एकाएक बद्लियो
छट्पटिएको बस्तिले नदी किनारामा
एउटा प्राणहीन शरीर देख्यो।
त्यो उही रहेछ
आज ऊ प्राणबिहिन थियो
न गर्जन सक्थ्यो
न थर्काउन सक्थ्यो
न जय गान गाउनेहरु थिए!
एक्लो थियो, फगत एक्लो!
**
बस्तीले एकभारी दाउरा जम्मा गर्‍यो
उसको प्राणबिहीन शरीर
क्षणभरमै खरानी भयो।
एउटा रोदन-मिस्रित आवाज आयो-
'लौ तिम्रो स्वर्गमा बास होस्
आखिर तिमीलाई
यो बस्ती नै त नचाहिने रहेछ
एक भारी दाउरा नै काफी रहेछ!'
**

June 28, 2015
Ann Arbor, Michigan

भाग्य वा कर्म?

अालिशान बङ्गलामा जन्मिएको राजाको छोरो जन्मिने बित्तिकै युवराज हुन्छ र बाबुले पद त्यागे पछि राजा हुन्छ। यसमा कर्मले भन्दा भाग्यले बढी भूमिका खेलेको देखिन्छ! परालको थुप्रोमा जन्मिएको साधारण जनताको छोरो अनेकौं सँघर्ष गर्छ, पढ्छ, राजनिती गर्छ, ढुङ्गा र गोली समेत खान्छ, जेल पर्छ र अन्त्यमा प्रधानमन्त्री वा राष्ट्रपती बन्न सक्छ। यहाँँ भने भाग्य भन्दा कर्म मह्त्वपूर्ण छ! बहुमतमा दोस्रो बर्ग नै पर्ने हुनाले कर्म नै विश्वव्यापी जस्तो देखिन्छ। यसमा तपाईंको के बिचार छ?

June 27, 2015
Ann Arbor, Michigan

प्रेमको नयाँँ बाटो

संसारले प्रेमको नयाँँ बाटो खोज्दै रैछ
यही प्रेमले संसारलाई जित्न सक्दो रैछ।
प्रेमको भाषा बुझ्न भने धेरै गाह्रो रैछ 
यो प्रेम भन्दा ठूलो शक्ति अरु हुन्न रैछ।


June 26, 2015
Ann Arbor, Michigan

Friday, June 26, 2015

एउटा जिन्स प्यान्टको कथा

मेरो एउटा जिन्स प्यान्ट छ,१० बर्ष भो' किनेको;
निलो झैं थियो नयाँ हुँदा, अहिले सबै खुइलेको !
कुर्कुच्चा र घुँडामा, फाटेर प्वाल परेको ;
दिनहुँ लाउँछु यसैलाई,महिनौं भयो नधो'को!

मेरो एउटा जिन्स प्यान्ट छ, १० बर्ष भो' किनेको!
------
जाडोमा न्यानो गराउने, गर्मीमा पनि नअत्याउने;
फेशनमा पनि सुहाउँने, कसैको 'कमेन्ट' नआउँने !
नधोए पनि भैहाल्ने, 'सेन्ट' छरे पछि बसाउँने;
आइरन गर्न नपर्ने, अझै बर्षौं रमाउँने !
मेरो एउटा जिन्स प्यान्ट छ,१० बर्ष भो' किनेको!

-------

January 10, 2014
Ann Arnor, Michigan

Wednesday, June 24, 2015

च्यातिएको मेरो गन्जी र शहरका पारदर्शी पोशाक

नुहाएर गन्जी फेरें 
च्यातिएको रहेछ
दुईटा ठूल्ठूलै प्वाल परेछन्।
छोरीले आधा अङ्ग्रेजी मिसाउँदै भनी-
'ड्याड, यू नीड टू बाइ ए न्यू गन्जी।'
छोरोले खित्किताउँदै भन्यो-
'मम, सी ! ड्याडस् गन्जी ह्याज् होल्स् इन इट!'
दुवैको उत्तरमा उनले भनिन्-
'बाबाले माने पो त,
मैले भनेकै हो नयाँ गन्जी किन्नू भनेर!'
**
यी सब सुनें
तैपनि त्यही गन्जी लगाएँ
एउटा पुरानै कमीज लगाएँ
बाउला र कुममा प्वाल परेका रहेछन्।
प्यान्ट त जीन्सको छ
दश बर्ष पुरानो।
दुवै घुँडामा प्वाल पर्न लागेछन्।
यी सबै मेरा मन पर्ने लुगा थिए
त्यसैले तिनै लाएँ र काममा हिंडें!
**
दिनभरी काम गरें
कसैले भनेन-तेरो गन्जी च्यातिएछ
न त कसैले भन्यो-
कमीज र प्याण्ट फाटेछ!
ड्युटी सकियो
बस-स्टपतिर लागें।
**
शहरको पेटीमा बस कुर्न थालेँ
चर्को घाम थियो
तैपनि भीडभाड थियो।
घामको तापको असर
कमै देखिन्थ्यो!
मैले तिनीहरुको पोशाक हेरें।
धेरै जसोका पारदर्शी लुगा थिए
कसैका ढाड, कसैका कुम

कसैका तिघ्रा टल्किएका थिए।
बडो सतर्कताका साथ
लाज चाहीं छोपेका थिए!
**
यस्तो घाममा पनि
आज मलाई गर्मीको अनुभव भएन!
यसो बिचार गरें-
च्यातिएको गन्जीले पो रहेछ।
प्वालहरुबाट हावा भित्र छिर्दो रहेछ
पसिनालाई उडाउँदो रहेछ
त्यसैले शरीर चिसो बन्दो रहेछ!
च्यातिएको गन्जी त
बडो उपयोगी हुने रहेछ।
यसले त भौतिक बिज्ञानलाई
उपयोगमा ल्याउने रहेछ!
**
June 24, 2015
Ann Arbor, Michigan

प्रेमको कथा

सडक छेउका पेटी र भट्टी चाहर्दै गर्दा 
एकदिन अचानक तिमीसित भेट भयो
मलाई बिकट-सूनसान मरुभूमी भित्र 
एकाएक मरुद्यान पुगे झैं भयो!
एक्लै एक्लै जिन्दगीका कहर धेरै काटिएछ
अब तिम्रो साथ पाइएला झैं भयो 
कृपया हुन्न नभन प्रिये
मेरो बाँकी जीवन तिम्रो भयो!
**
(नोट: भर्खरकै कुरा हो मेरा एकजना अभिन्न मित्रले भन्नु भयो-'रुद्र जी, दु:खका कुरा मात्र कति लेख्नुहुन्छ कहिलेकाहीं त रमाइला कुरा पनि लेख्नुस् न।' के लेखौं त भनी सोचें - यही प्रेम कथा उहाँसित पनि प्रासङ्गिक होला जस्तो लाग्यो र लेखें। मीठो सित प्रेम गीत गाइदिनु होला।)


June 20, 2015
Ann Arbor, Michigan

Thursday, June 18, 2015

त्यहाँ अहिले पनि उस्तै छ कि?

१५ बर्ष बढी बितिसकेछ। भौतिक शास्त्रमा भर्खर एम. एस्सी. सकेको थिएँ। निजी बिध्यालयमा जमेरै काम गरिरहेकोले जागीरको समस्या त थिएन। तर अरु साथीहरुको सिको गर्दै मलाई विश्वविध्यालयमा एक-दुई पिरियड भए पनि पढाउन पाए हुन्थ्यो भन्ने रहर लाग्न थाल्यो। संयोगबस विश्वविध्यालय अन्तर्गतको एउटा कलेजले यस्तै पार्ट-टाइम शिक्षकहरुको लागि विज्ञापन गरेकोले मलाई ढुङ्गा खोज्दा देउता मिले झैं भयो। तुरुन्तै निवदन हालें। अन्तर्वाताको लागि नाम पनि निस्क्यो। गजबै भो, मक्ख परें।
निकै तयारी गरेर स्कूलमा बिदा मागी अन्तरवार्ता दिन गएँ। अन्तर्वाता यति राम्रो दिएँछु कि प्रश्नकर्ताले 'ल राम्रो तयारी गर्नु भएको रहेछ। बिध्यार्थीलाई पनि यसरी नै तयारी गरी पढाउनु होला।' भन्दा मेरो छाती गर्वले ढक्क फूल्यो; खुसीले आँखा पनि रसाए। अन्तर्वातामा उतीर्ण भएँ।
बिहानी कक्षाहरु पढाउने कुरा पक्का भो।
एक दिन बिहानै कलेज पढाउन भनेर शानका साथ त्यता तर्फ लागें। बिभागीय कार्यलयमा गएर दैनिक कार्यतालीका हेरें। एउटा पिरियड बिहान ८ बजे रहेछ र अर्को ११ बजे रहेछ। २ पिरियड पढाउँदा बिहान बित्ने भो। ठिकै छ पढाउँदै गर्छु; कुनै बेला विभागीय प्रमुखलाई भेटी समय मिलाउन अनुरोध गर्नु पर्ला भन्ने लाग्यो। कक्षामा गएँ। कक्षाकोठा बिध्यार्थीहरुले खचाखच थियो। न्युटनका सबै नियमहरु पढाएँ। सफलतापूर्वक पिरियड सकियो। त्यसपछी दुई घण्टा कुरेर अर्को कक्षा पढाएँ। अनि आफ्नो नियमित जागीर गरिरहेको विध्यालयतिर लागें। बिद्यालय ढिलो पुगेकोले हाजीर पुस्तिका प्रिन्सिपलको कोठाभित्र पुगीसकेको रहेछ। म त्यो दिन गयल भएँ।
यसरी एक हप्ता बित्यो तर विभागीय प्रमुखलाई भेटेर मेरो समय मिलाउन अनुरोध गर्ने इच्छा पूरा हुन सकेन। उनी एकदिन आउँदा रहेछन् र हप्तादिन भरिको हाजीरी बजाएर जाँदा रहेछन्। धेरै मेहेनत गरेर उनी आउने दिन र समय पत्ता लगाएँ र कुरेर बसें। उनी आए, हाजीरी पुस्तिका पल्टाए र लहरै एक हप्ताको लागी हाजीरी ठोकिदिए। उनी हिंड्नै लागेका थिए; मैले 'सर, मेरो समय मिलाइदिनु न।' मात्र के भनेको थिएँ-उनले कड्किंदै भने-'यो बिभाग तिम्रो बाउको बिर्ता हो र तिमीले भने-भनेको समय मिलाउने!' र त्यहाँबाट उनी हिंडे। यसरी तीन महिनासम्म काम गरें र मैले गर्वले पाएको यो जागीर छोडिदिएँ। केही समय पछी तलब लिन गएको त "हाजीरी पुस्तिका हामीले 'डम्प' गरी सक्यौं। तिमीले यहाँँ काम गरेको 'रेकर्ड' छैन।" भनी प्रशासकले रित्तो हात फर्काइदिए!


June 18, 2015
Ann Arbor, Michigan

Sunday, June 14, 2015

जीन्दगीको यात्रामा

भारी टन्न थियो बडो सकसले घिस्रेर हिंड्दै थिएँ
टोपीले पसिना पुछेर रुखको छायाँ मुनि रोकिएँ। 
भित्तामा अडिएर फर्की तलको बाटो नियाल्दै गएँ 
आँखा यी भरिए बडो कठिन भो त्यो जिन्दगी सम्झिएँ। 
**
आँखा चिम्म गरी उठेर बलले सुस्ताउँदै तापले  
लागें चढ्न पहाडको बिकटमा एउटा ठूलो आशले।
थाकेको अझ भान छैन मनमा बाटो धेरै जानु छ 
हिंड्दै खोंच,पहाडको वरिपरी यो जिन्दगी लानु छ!
**
(नोट: यो कविता शार्दूल बिक्रिडीत छन्दमा लेखिएको छ, जसमा हरेक लहरमा १९ अक्षर हुन्छन्। यो जीवनको दु:ख-सुखको कथा भए पनि  भानुभक्तीय रामायाणको भाका हाली पढे मीठो सुनिन्छ। )    

जुन १४, २०१५ 
आन आर्बर, मिचिगन 

Saturday, June 13, 2015

म कविता किन लेख्छु?

म करीअरले शिक्षक हुँ
पढ्छु अनि पढाउँछु। 
म करिअरले वैज्ञानिक हुँ 

समिकरण लेख्छु र हल गर्न खोज्छु!
कहिले 'एटम' हेर्छु

कहिले ब्याक्टेरिया र डी. एन. ए. सँग खेल्छु!
तैपनि
म कहिलेकाहीं कविता लेख्छु।
**
कहिले मनको खुसी ब्यक्त गर्न लेख्छु
कहिले पीर ब्याथा पोख्न लेख्छु।
कहिले पुतलीको माया-प्रेम खोल्छु
कहिले कुरो नलुकाऊ है भनी बोल्छु
त्यसैले म कविता लेख्छु।
**
कहिले बिसंगती केलाउँदै लेख्छु
कहिले सचेतना फैलाउन लेख्छु
एन्टोन चेकोवको 'मिजरी'मा झैं
म जिन्दगीलाई व्यक्त गर्न कविता लेख्छु!
त्यसैले म कविता लेख्छु।

**

जुन १३, २०१५ 

आन आर्बर, मिचिगन

Thursday, June 11, 2015

ढिलो हुन्न है!

म बिहान ७:३० बजे तिरै बस चढ्छु विश्वबिध्यालय जानलाई। सधैंं झैं आज पनि अरु एक दुई जना सहयात्री सँगै बस चढें। 'रिसर्च'को सामूहिक छलफल गर्नु पर्ने दिन आज परेको तर पढाउने र घरको कामले अलिक ब्यस्त भएकोले छलफलको बिषय पढ्न पाएको थिइँन। त्यसैले पछाडिको सीटमा गएर बसें र पढ्नको लागि झोलाबाट एउटा 'रिसर्च पेपर' निकालें जुन आजको छलफलको बिषयसँग सम्बन्धित् थियो। 
'पेपर' यसो पल्टाएको मात्र के थिएँ, छेवैमा बसेका एक 'नौला' सहयात्रीले मेरो ध्यानाकर्षण गराउँदै सोधे-'तिमी कलेज जान्छौ?' मैले 'हो, म कलेजमा काम गर्छु।' भनें। ६०-६५ बर्ष उमेरका मेरा पहिलो पटकका ती सहयात्रीले गुनासो पोख्दै भने-'मैले पनि कलेज पढ्ने बिचार गरेर स्याटको जाँच दिएको थिएँ; तर दुर्भाग्यवश केही अङ्क कमी भयो र कलेज प्रवेश पाइँन। अर्को बर्ष चाँही अलिक मेहेनत गरेर स्याट दिने योजना गरेको छु। मेरो पि. एच. डी. गर्ने बिचार छ।' उनले यस्तै भन्दै गए! मैले बीच-बीचमा 'ओ. के.', 'गूड लक' भन्दै गएँ। बस म सधैं झर्ने स्टपमा पुगिसकेछ। ती नयाँ सहयात्रीलाई 'बाइ' गरेर बसबाट ओर्लिएँ। मनमा कुरा खेल्न थाले-'उनको बाटो पनि मेरो जस्तै भयो र भाग्यले साथ दियो भने उनले ७५ बर्षमा पि. एच. डी. गरी केही बर्ष थप 'रिसर्च' पनि गर्ने रहेछन्। त्यसैबेला कतै फ्याकल्टीको स्थान पाए भने अरु १५-२० बर्ष सकृय 'रिसर्चर' हुन सक्ने रहेछन्। उनको त्यो आत्मबिश्वासलाई सम्मान छ। यी नौला सहयात्रीको योजना सुन्दा लाग्यो-'चाहेको काम गर्न ढिलो चाँही हुने रहेनछ है!'


June 11, 2015
Ann Arbor, Michigan

Sunday, June 7, 2015

भूइँचालो-२

जब ठूलो भूइँचालो जान्छ
जमिन खल्वलिन्छ। 
बाहिर राम्रै देखिए पनि 
भित्रको रूप बदलिन्छ ।
**
यस्तो जमिन फेरि मिल्नु पर्छ
यो सामान्य अवस्थामा फर्किनु पर्छ।
फेरि शक्ति पोखिएर 'शक वेभ' छरिन्छन्
अनि पराकम्पनहरु उत्पन्न हुन्छन् ।
**
पराकम्पनहरु प्राय: स-साना हुन्छन्
तर तिनीहरु खतराजनक हुन सक्छन्।
पहिले हल्लिएका भवनहरु, पुलहरु, पहाडहरु,
पराकम्पनमा भत्किन सक्छन् ।
तिनीहरुले ठूलो क्षती पुर्याउँछन्!
**
पराकम्पनहरु लामो समय रहन सक्छन्
त्यसैले सतर्क भएर बस्नु पर्छ ।
संचारको साधन छेउछाउमै राख्नु पर्छ
जहाँं जसरी सकिन्छ-
सहयोगी समाजको निर्माण गर्नु पर्छ!
**

जुन ०७ , २०१५ 

आन आर्बर, मिचिगन 

त्यता कस्तो छ?

न ओठमा मुस्कान छ,
न गालामा लाली छ! 
न साथीको साथ छ,
हातमा एउटा 'अाइफोन' छ।
**
आँखाहरु 'स्क्रीन'मा छन्
कानमा 'इयर-बड' छन् !
न कसैसँग 'हेलो' छ
न कसैलाई 'हाइ' छ।
**
मानिसमा संबेदना घट्दै छ कि?
समाज असामाजिक बन्दै छ कि?
यो मेरो यताको हेराइ हो
के त्यता पनि यस्तै छ कि?
**

जुन ०६, २०१५ 

आन आर्बर, मिचिगन 

भूइँचालो-१

पृथ्वीको सतहमुनी भिमकाय 'प्लेट'हरु सल्वलाउँदा 
कहिले तिनीहरु चिप्लिन्छन् 
कहिले तिनीहरु ठोक्किन्छन्। 
त्यस्तो चिप्ल्याइ र ठोक्काइले
तिनीहरुमा सन्चित शक्ति एकाएक छरिन्छ
'शक वेभ' भएर!
धर्ती कम्पन हुन्छ
र भूइँचालो जान्छ!
**
'प्लेट' ठोक्किएर जाने भूइँचालाहरु
धेरै शक्तिशाली हुन्छन्
डरलाग्दा हुन्छन् ।
कहिले सतहलाई तल-माथि उफार्छन्
कहिले दायाँ-बायाँ हल्लाउँछन्
घर, बाटो,पूल भत्काउँछन्
धेरै क्षती पुर्याउँछन् !
**
कहिले ठोक्काइहरु स-साना हुन्छन्
कम्पनहरु पनि स-सानै हुन्छन्
यस्ता कम्पनहरु दिनहुँ हुन्छन्
र सयौँको सङ्ख्यामा हुन्छन्।
कहिले ज्वालामुखीको बिष्फोटनले हुन्छन्
कहिले आणविक परिक्षणले हुन्छन् ।
तर यी स-साना हुन्छन्
आउँछन्, जान्छन्, थोरै बिगार गर्छन्।
**
भूइँचालाहरु लाई प्राकृतिक प्रकोप मान्नुपर्छ
भूइँचालो सकृय क्षेत्रमा सधैं सतर्कता राख्नुपर्छ
क्षती भएको ठाउँँमा पून:निर्माणमा लाग्नु पर्छ
देश-बिदेशको सहयोग सही ठाउँमा बाँड्नु पर्छ
!

**
जुन ०६, २०१५ 
आन आर्बर, मिचिगन 

बाटो अझै खोज्नु पर्ने?

कैले काहीं पछी फर्की हेरौं जस्तो लाग्छ 
जोश जाँगर थपिन्छ कि भन्ने आश जाग्छ। 
अझै कति चुनौती छन् खपी हिंड्नु पर्ने 
जिन्दगीमा नौलो बाटो अझै खोज्नु पर्ने?! 


जुन ०१, २०१५ 

आन आर्बर, मिचिगन 

फरक-फरक आवश्यकता

एउटै पोको खाजा थियो बाँडी खानु पर्ने 
चौतारीमा पुगेपछी मैले खाउँ त भनें। 
पुतलीले आफूलाई भोक छैन भनी 
पटुकाले पेट कसी हिंडे कनी कनी!


जुन ०१, २०१५ 

आन आर्बर, मिचिगन 

Tuesday, June 2, 2015

कवितामै बोलौं

पीर-व्याथा लुकाएर बस्नु हुन्न भन्छन्
मन्मा कुरा गुम्स्याएर राख्नु हुन्न भन्छन्। 
अाऊ सँगै बसौँ अनि मनका कुरा खोलौं 
राम्रो भाका मिलाएर कवितामै बोलौं।

दोहोरी

कान्छी- 
निलो-निलो आकाशमा चन्द्रमा झैं देख्छु  
टिपी ल्याउन कान्छा मेरो केश सजाउँछु!
कान्छा-  
चन्द्रमा नै हो त्यो तर धेरै टाढा पो छ 
देख्दै मात्र हुन्न कान्छी लेखेको पो पाउँछ!

Saturday, May 30, 2015

प्रतिक्षाको क्षण

तिमी आउँने बाटो भरी आँखा बिछ्याएको 
धेरै भयो आँशु झारी गह रित्याएको!
न त राती निद्रा पर्छ न छ भोक दिनमा
सम्झनाले सताउँछ मलाई छिन-छिनमा!
**
आउन प्यारी गोधूलीमा छम-छम गर्दै
मन्द मन्द मुस्कानले उज्यालो त्यो छर्दै।
त्यो दिनको आशा मेरो धेरै बलियो छ
प्रतिक्षाको घडी अब चाँडै टुङ्गीदैछ!
**
(संसार भरिका प्रेमीहरुमा समर्पण) 

मे ३०, २०१५
आन आर्बर, मिचिगन

सम्पूर्ण प्रेमीहरूलाई...

फर्की हेर्दा धेरै धेरै मन छोएँछु
एकान्तमा बसी कैले एक्लै रोएँछु। 
तर पनि तिम्रो मन छुन सकिन 
जिन्दगीमा कैले तिम्रो हुन सकिन!
**
तिम्रो मेरो भाषा पनि मिले जस्तै लाग्छ
खै के ले हो अझै पनि रोकी राखेकै छ!
यो मन भन्छ फेरि यौटा कोशीश गरौं कि
गुलाबको थुँगा बोकी त्यतै झरौं कि!
**
मे ३०, २०१५
आन आर्बर, मिचिगन

कुनै बेला सुन्तलाको अङ्ग्रेजी नमिल्दा ...

कुनै बेला सुन्तलाको अङ्ग्रेजी नमिल्दा 
जागीरबाट धोका खाइयो!
'वी नीड वाटर' भनी घरबेटीसँग पानी माग्दा 
'बडो अङ्ग्रेज भाको' भनी खप्की खाइयो! 
'अल-राउन्ड टीचर' भई अङ्ग्रेजी पढाउँदा 
सहकर्मी शिक्षकको गाली खाइयो!
नजानी नहुँने जान्दा पनि सुख नपाइँने
यो भाषामा सफल हुने एउटा मन्त्र चाहियो!

एउटा बाटो ...

एउटा बाटो बन्द भए, अर्को खुल्नु पर्छ । 
राम्रो बाटो खोल्नलाई, सबथोक् मिल्नु पर्छ!
बोली, कर्म, भाग्य, सन्जाल, हुनै पर्ने रैछ। 
होइन भने जीन्दगीमा, 'टेन्सन' हुने रैछ!

Thursday, May 28, 2015

डेराको खोजी

समय धेरै बितेछ
उताको एउटा याद आयो!
डेरा खोज्दै गर्दा
यसले सताउनु सम्म सतायो!
**
डेरा खोज्दै एउटा घरमा पुगें
घरबेटी बाले सोधे-
तपाईंले बिहा गर्नुभो?
छैन मात्र के भनेको थिएँ
उनले भने-
घरभरी बढेका छोरी छन्
अविवाहितलाई त हामी डेरा दिन्नौं!
**
अर्को पटक
श्रीमती र छोरा-छोरी लिएर
डेरा खोज्न गएँ.
घरबेटीले भने-
केटाकेटीहरु रुन्छन्, कराउँछन्
बच्चाहरु भएकोलाई त कोठा दिन्नौं।
**
यताको कुरा अर्कै छ
'क्रेडिट' चेक्-जाँच गर्नु पर्छ रे!
'ब्याकग्राउन्ड' जाँच गर्नु पर्छ रे!
आम्दानीको विवरण बुझाउनु पर्छ रे!
त्यसो मात्र कहाँ हो र-
'भरपर्दो रिफरेन्स' पनि चाहिन्छ रे!
**
मेरो साथीले घर बनाएछ
अर्कोले बनेकै घर किनेछ।
मेरो भने त्यत्रो तागत छैन
फेरि एउटा डेरा खोज्दैछु!
**
मे २८, २०१५
अान आर्बर, मिचिगन

जीन्दगी

पोखरीको अचल पानी भन्दा,
नदीको बहावको गती रमाइलो हुन्छ!
किनभने 
बग्दै जाँदा नयाँ ठाउँँ भेटिन्छ
नयाँ समाज भेटिन्छ
अनि
एउटा नयाँ संसार देखिन्छ!
त्यसरी नै
जीन्दगी एउटा यात्राको निरन्तरता रहेछ।
जीवन एउटा नटुङ्गींदो यात्रा रहेछ।

भाग्यको खेल !

बाँसको सिन्को भाँचेर धूलोको पाटी कोरियो 
अनेक थरीका जाँच अनेकौँ पल्ट घोरियो। 
कहिले बाबु-आमाको, गुरुको झापु खाइयो
नाना दु:ख गरी यहाँँ बाटो खोजेर आइयो!
**
शिक्षाको उच्चतम् बिन्दू पुगिएको भए पनि
सिक्नु पर्ने कुरा रैछन् जिन्दगीमा कति कति!
तैपनि सही बाटोमा निरन्तरता दिंदै गरे
भेटिन्छ एकदिन लक्ष्य भाग्यको खेलमा परे!
**

जागीरको खोजी!

कहिले 'सुन्तलाको अङ्ग्रेजी' नमिलेर चिप्लियो 
कहिले 'प्रभू'को कृपा नपुगेर फुत्कियो। 
अहिले 'राम्रो सन्जाल' नभएर अड्कियो
अब फेरि पनि जागीरको खोजी शुरु भो!
**
यो जागीर पनि अचम्मको रहेछ!
१५ बर्षको उमेर देखि खोज्न थालेको,
कहिले भेटिन्छ
कहिले फुत्किन्छ
कहिले मिले-मिले जस्तो हुन्छ
अनि फेरि हराउँछ
यो जागीर त मृग-तृष्णा जस्तै रहेछ!
**
मिले पछि बाघ झैं बनाउँछ
जागीर! ए त्यो जागीर त पाइहालिन्छ नि!
चिप्लिए पछि 'टेन्सन' शुरु हुन्छ-
बाघ अब सजिलै बिरालो बन्छ!
**
सँगैको साथीले भन्छ-
'लौ, म त चाँडै रिटायर्ड हुँदैछु'!
तर म भने फेरि पुरानै बाटोमा छु-
एउटा जागीर खोज्दैछु!

एउटै हातले मात्र ताली ......

तिम्रो दु:खमा म दुखी हुन्न भने,
मेरो दु:खमा तिमी रुनुको के अर्थ हुन्छ र!
तिम्रो खुसीमा म हाँस्न सक्दिन भने,
मेरो खुसीमा तिमी हाँस्नुको के अर्थ हुन्छ र!
आखिर 
संवेदना त सबैमा उस्तै हुन्छ नि,
एउटै हातले मात्र ताली कहाँं बज्छ र!

घुम्दै फिर्दै ....

घुम्दै फिर्दै निशी-दिन हुँदै घाउ सारा पुरिन्छन् 
नेता आफ्नै वरपर घुमी भोटलाई धुरिन्छन् । 
पीडा भित्रै छटपटी हुँदै शोकले पिल्सिएका 
सोझा सादा नीरिह जनता छन् सधैं हेपिएका!

Sunday, March 22, 2015

के फोटोले त्यसै भन्छ?

फोटो हेरी सबले भन्थे-
कस्तो राम्रो मिलन,
कति मीठो मुस्कान छाएछ!
राम्रा-मीठा कमेण्टसँगै
सयौं 'लाइक' आएछ।
देखे जस्तो हुन्न जीवन,
सोचे जस्तो नि हुन्न रहेछ।
भित्र-भित्रै घम्सा-घम्सी,
फोटोमा त कृतिम हाँसो पो रहेछ!

एउटा 'परिवार'

लोग्नेले आफ्नी 'गर्ल-फ्रेन्ड' लिएर आयो 
स्वास्नीले आफ्नो 'बोइ-फ्रेन्ड' लिएर आई। 
एक-अर्काले 'हेलो, हाउ आर यू?' भनी सोधे
एक-अर्काले 'फाइन्, थ्याङ्क यू' भने!
स्कूल बस आएर 'फ्ल्याश लाइट' दिंदै रोक्यो।
छोरो बसबाट ओर्लिएर आमातिर गयो
छोरी बसबाट ओर्लिएर बुवातिर गई।
यसरी ती दुई समूहमा छुट्टिए ।
आ-आफ्ना मोटर चढे

बिपरित दिशातिर हुइँकिए!

खैरो-सूट र मित्रता


सँगै पढ्ने साथीको बिहे हुनेभो'
निम्तै नपाए पनि ऊ जन्ती जान तम्सियो!
साथीले उस्लाई एकान्तमा बोलाएर सोध्यो-
'तँसँग खैरो सूट छैन र?'
उसले भन्यो -
'मसँग त सूटै छैन!'
प्रत्युत्तरमा साथीले भन्यो-
'बाले भनेका छन्-
दुलहीका बा पार्टीका ठूला नेता हुन् ,
खैरो सूट नहुनेले जन्ती जान पाउदैनन् रे!
नराम्रो नमान् है!
म तँलाई बिहेपछि कतै रेस्टुरेन्ट्मा ट्रीट दिन्छु नि।'
त्यो 'साथी'त हिंडिसकेछ!
झसङ्ग हुँदै ऊ आफ्नो बाटो लाग्यो!

केही छोटा कविताहरु

  • जागीर खोज्दै निजी अनि बोर्डिङ् स्कूल धाउँदा
  • प्रिन्सिपलले अङ्ग्रेजीमा खोट देखाउँदा ।
  • अङ्ग्रेजी र अनुभवको खाँचो देखाएर 
  • कैयौं पटक रित्तै हात फर्काइदिए घर!
  •  ______________________

  • भाग्य खोज्दै डोको भर्दा दूध अडिन्न कि 
  • एकोहोरो कर्मले नि फल पाइन्न कि !
  • कर्म सहि-भाग्य राम्रो भयो भने मात्र
  • सोचे जस्तो खोजे जस्तो होला यत्र-तत्र !
  • ______________________

  • बेंसीबाट लेक हेर्दा आकाश छोए जस्तो
  • लेक पुग्दा आकाश अझै पर गए जस्तो!
  • प्रयत्न र आकांक्षाको दूरी बढे जस्तो 
  • जिन्दगीको लामो बाटो रैछ कस्तो कस्तो!!
     
  • ______________________

  • वर-पिपलको छहारीमा पीर ब्यथा गाउँदै 
  • देउरालीको बाटो हिंड्दा पाती चढाउँदै 
  • काटिएछन् उकाली र ओराली ती धेरै 
  • जिन्दगीले बाटो मोड्न के लाग्छ र बेरै!
  • ______________________

  • टाढा हुँदा गाउँघरको याद आउँदो रैछ 
  • परिवारको सम्झनाले सताउँदो रैछ।
  • पर्देशीलाई मुटुभित्र देश दुख्दो रैछ
  • नजिकको देउता सधैं हेला हुँदो रैछ!
  • ______________________

  • दिनभरी ढुङ्गा फोरें हातमा उठे ठेला 
  • साहूजीको गाली पनि खाएँ बेला-बेला।
  • साँझपख साहूजीले ज्याला छैन भने 
  • भाग्यो नीद खाली पेट बसी तारा गनें।
  • ______________________

  • सोचे जस्तो,रोजे जस्तो 
  • हुन्न जीवन खोजे जस्तो!
  • हुरीको त्यो पात जस्तो 
  • समुद्रको छाल जस्तो 
  • जिन्दगी खै कस्तो कस्तो!!
  • ______________________