Friday, May 27, 2016

मेरा सपनाहरू

युवाशक्ति बिदेशिनु अब नपरोस्
क्षमता र योग्यताको कदर गरियोस्!
**
जीवनमा काम लाग्ने शिक्षा-दीक्षा होस्
जनशक्ति 'बाँधी राख्ने' आकर्षण होस्!
**
यति भए खेत बारी बाँझो रहन्न
पहाडको स्याउ त्यसै कुही झर्दैन!
**
बाटो-घाटो, पूल, रेल सबै बन्दछ
युवा शक्ति मिल्यो भने देश बन्दछ!
**
देशैभरि विश्व-बिध्यालय बन्नेछन्
बिदेशीले पढ्नलाई भिशा माग्नेछन्!
**
मे २१, २०१६
उस्टर, मासाचुसेट्टस्

के बिदेशिनु रहर हो?

छाला र हड्डी दिन-रात घोटी 
उब्जाई अन्न पेट-काटी बेची।
कैले लिई रीन ती साहूबाट
पढें बहुतै मिहिनेत साथ।
*
प्रमाणपत्र बोकी हातमा त्यो
जागीर खोज्दै बहुतै हिंडियो।
अङ्ग्रेजीमा खोट कतै लगाए
तिम्रा कोही छन् कि?भने कसैले!
*
न कोही नाता न त छन् रुपियाँ
जागीरका शूत्र बिना भएँ म!
भौंतारींदै आज पुगें बिदेश
मुटु छ मेरो त्यही देश भित्र!
**
April 30, 2016
Worcester, MA

जिन्दगानी ...

जिन्दगानी यस्तै रैछ 
घाम-छायाँ जस्तो। 
बतासले उडाएको 
एउटा पात जस्तो!
कुहिरोमा हराएको 
एउटा काग जस्तो।
जिन्दगानी यस्तै रैछ
घाम-छायाँ जस्तो!

**
April 07, 2016
Worcester, MA

मुस्कानले ...

मुस्कानले सबै कुरा कहाँँ भन्छ र,
चर्किएको मन भित्र हूरी चल्दछ!
कुना पसी भेल बनी बग्छ यो मन
जीन्दगीलाई डोर्याउने रैछ यै मन !

**
March 12, 2016
Worcester, MA

थाकेको चैं छैन जीन्दगी!

चर्किएर फुट्ला जस्तो हुन्छ जीन्दगी 
तन्किएर टुट्ला जस्तो लाग्छ जीन्दगी!
च्यापिएर, थिचिएर तात्छ जीन्दगी 
अझै पनि थाकेको चैं छैन जीन्दगी!

**
March 20, 2016
Worcester, MA

भारी बिशाल छ...

भारी बिशाल छ उता थिचिदिन्छ त्यो तन 
अझै बढी सकसले किचिइन्छ यो मन!
फुरुङ्ग भै उडीदिने मन हुन्छ कैले?
हो सत्य के जीवनको? बुझीने छ कैले?

**
March 22, 2016
Worcester, MA

नदी पारी ...

नदी पारी जाने थियो एउटै मात्र डुङ्गा
पुग्दा-पुग्दै किनारामा छुटी हाल्यो डुङ्गा। 
साँझ पर्‍यो एकान्तमा बास पर्ने भयो 
जीन्दगीको यात्रा अब अनिश्चित भयो!

**
March 25, 2016
Worcester, MA

आश

धेरै टाढा क्षितिजमा एउटा 'दियो' छ
त्यै उज्यालो खोज्दै जीवन अझै घस्रिंदैछ। 
आशै-आशमा झुन्डिएको यौटा जीन्दगी 
आँधी-हुरी भित्र परी बिलाई जान्छ कि!

**
February 24, 2016
Worcester, MA

संसार

धेरैका ओठ-तालु सुकेका छन् 
थोरैका भुँडी र गाला उठेका छन्। 
धेरैले सावाँको ब्याज बढी तिरेका छन् 
थोरैले अकुत सम्पत्ति थुपारेका छन् ।
धेरैले न्याय कम पाएका छन् 
थोरैले धेरैमा अन्याय गरेका छन्।
त्यसैले धेरैको लागि संसार कठिन छ
र थोरैका लागि संसार स्वर्ग छ!
**

February 26, 2016
Worcester, MA

जवानीको ...

जवानीको ठूलो हिस्सा उतै झरेछ 
जीन्दगीको केही अंश मात्रै बचेछ!
बाङ्गो-टिङ्गो नागबेली बाटो हिंडेर 
सोचे जस्तो जीन्दगीमा कहाँँ हुन्छ र!

**
February 29, 2016
Worcester, MA

सेल्फीको छ दुनियाँँ !

गरीबको छेउमा बसी सेल्फी खिचेर
'परोपकार' गर्नेहरू कहाँँ कम छन् र!
**
शोषितको छेउमा बसी सेल्फी खिचेर
'समाज कल्याण' गर्नेहरु कहाँँ कम छन् र!
**
महिलाको छेउमा बसी सेल्फी खिचेर
'नारी कल्याण बादी' हरू कहाँँ कम छन् र!
**
नाङ्गा बालकहरू सँग सेल्फी खिचेर
'बाल-कल्याण' गर्नेहरू कहाँँ कम छन् र!
**
बिद्यार्थीको छेउमा बसी सेल्फी खिचेर
'बिध्या-दान' गर्नेहरू कहाँँ कम छन् र!
**
सेल्फी खिची मिडियामा हालिदिए भैगो
कहींबाट औँला उठ्ने बाटै बन्द भो !
** ** **
January 28, 2016
Worcester, MA

समाजबाद् ...

समाजबाद् र साम्यबाद्का अभियन्ता पैले 
नयाँँ शक्ति निर्माणमा लाग्याछन् रे अैले। 
के रहेछ नयाँँ शक्ति? के के यस्ले गर्ला?
के यसले जनताका सास्ती कम गर्ला?

**
January 27, 2016
Worcester, MA

दक्षीणबाट ...

दक्षीणबाट न्यानो हावा बग्ला जस्तो छ 
ठडिएको चुच्चे टोपी ढल्ला जस्तो छ।
उत्तरतिर रातो कार्पेट खस्रो परेछ कि?
दक्षीणका प्रभू अब खुसी भएछन् कि?


**

January 25, 2016
Worcester, MA

सापेक्षताबाद

कहिलेकाँहीं मीठो बोली 
गाली बन्दो रैछ!
कुनै बेला गालीले त
आँखा खोल्दो रैछ।
देश, काल, परिस्थिति
हेर्नु पर्ने रैछ।
सापेक्षताबादको नियम
यस्तो हुँदो रैछ!
** ** **
उस्टर, मासाचुसेट्स
जनवरी २४, २०१६