Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Saturday, December 31, 2011
Looking back to 2011
Friday, August 5, 2011
मिस्टर ट्रान्स्लेटर
एक ताकाको कुरा हो जुन बेला म काठमाडौंको एउटा स्कूलमा पढाउँथें ! सप्ताहान्तमा हाम्रो विध्यालयले केही शिक्षक-शिक्षिकाहरुलाई चितवनको एउटा फार्म-हाउसतिर बिदा मनाउन लैजाने निधो गर्यो । त्यो समूहमा म पनि परेंछु । भर्खर् - भर्खर् बिहा गरेको थिएँ । जान त त्यति मन मानेको थिएन, तर पनि सबै साथीहरु जान लागेको बेला म मात्रै के 'एक्लो ब्रिहस्पती' हुने है भनेर मिस्सिन पुगें ।
हामी जम्मा दश-बाह्र जना थियौं। त्यो समूहमा एक अस्ट्रेलियन शिक्षिका पनि थिइन् । आफ्नो देशमा जागिरबाट अवकाश पाइसकेर नेपाल घुम्न आएकी ती शिक्षिकालाई बिध्यालयले स-साना केटाकेटीहरुलाई अङग्रेजी बोलीचालीको बिकासमा सहयोग पुर्याउनको लागि उनलाई नियुक्ति दिएको थियो । जे होस् हामी मध्यान्ह अगाडि नै त्यतातिर लाग्यौं । बेलुका त्यहीं चितवनको स्थानीय विध्यालयका शिक्षकहरु पनि भेला भए, भलाकुसारी भयो, पढ्ने-पढाउने बिषयमा कुराकानीहरु भए ! राम्रै जमघट भयो !
ठूलो साँझ झमक्कै परिसकेको थियो, खान-पिन शुरु भयो । रमाइलो गफ-गाफ हुँदै थियो ! स्थानीय एक साथीले दोहोरी गाएर रमाइलो गरौं भन्ने प्रस्ताव राखे; गाउन पनि पो शुरु गरी हाले त पूरा भाका हालेर - 'बल्ल पर्यो निर्माया, माकुरी जालैमा !' लौ न त भनेर मैले पनि स्वरमा स्वर मिलाएँ । समूहमा गाउँदा रमाइलै भयो । ती अस्ट्रेलियन शिक्षिका पनि रमाउँदै ताली पड्काउन थालिन् । मलाई लाग्यो - उनले त्यो गीतको शब्द र अर्थ पनि बुझे कति रमाइलो गर्दी हुन् । मैले गीतका हरेक अंशको अङग्रेजीमा अनुवाद गरेर उनलाई सुनाउने निर्णय गरें । साथीहरुले गाइसक्ने बित्तिकै मैले अनुवाद गरिदिन्थें । उनी 'गूड' भन्दै रमाइलो मान्दै ताली पड्काउँथिन्।
अरुबेला म सामान्य उल्था गर्न पनि गार्हो मान्ने मानिस त्यतिबेला दोहोरी गीतका हरफहरुको फटाफट उल्था गरेको देख्दा सबै साथीहरु छक्क परे, रमाइलो पनि माने ! एकजना साथीले त खप्नै नसकेर मुखै खोले - 'यो सब सोमरसको कमाल हो है' ! त्यो साँझ सार्है रमाइलो र अविस्मरणीय भयो ! बिदा मनाएर हामी काठमाडौं फर्कियौं ।
केही समयपछि एकदिन बिहानको कक्षा पढाइसकेर बिध्यालयको प्राङगणतिर निस्कदैं थिएँ । एउटा तिखो महिला स्वर कानमा ठोक्किन आयो - 'हेलो मिस्टर ट्रान्स्लेटर'। म यसो के फर्केको मात्र थिएँ, तिनै अस्ट्रेलियन शिक्षिका रहिछन् स्कूलबाट बिदा भएर आफ्नो देश फर्किन लागेकी ! लौ त 'गूड बाइ' भनेर अर्को कक्षातिर लागें । म अहिले यसो सम्झन्छु - त्यो सोमरसकै कमाल थियो क्यारे मलाई 'मिस्टर ट्रान्स्लेटर' बनाउने !
अगस्ट ०५ , २०११ , लस अलामोस, न्यू मेक्सिको
Friday, July 29, 2011
सत्य सन्देश
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो;
कैलाश श्रेणि कालो, झलमल गरने सूर्यको बिम्ब कालो;
यो सारा सृष्टि कालो, मन बीच छ भने दम्भ दुर्भाव कालो ।
_________________________________________
दोषी माता पिताका वचन,गुरुजनादेश नि:शेष दोषी;
सत्यात्मा मित्र दोषी, गृह परिजनको चाल देखिन्छ दोषी;
पत्नीको प्रेम दोषी, अमृतमय मीठा वेदका वाक्य दोषी ;
यो सारा सृष्टि दोषी, विधीवश छ भने आफनो दृष्टि दोषी !
_________________________________________
थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन उज्यालो;
भीक्षा भारी उज्यालो , अझ वन वनको साग सिस्नु उज्यालो;
फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जिर्ण कन्था उज्यालो ;
तृष्णाको तुच्छ जालो मनवीच नभए जो मिल्यो सो उज्यालो !
_________________________________________
मत्ता हात्ती हलुङ्गो, बितत जलधीको ह्वेल माछा हलुङ्गो;
जङ्गी बेडा हलुङ्गो, बिकट कटकटे रेलगाडी हलुङ्गो;
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो;
यो ब्रह्मान्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो !
- कवि शिरोमणी लेखनाथ पौड्यालको सत्य सन्देशबाट
जुलाई २९, २०११ , लस अलामोस, न्यू मेक्सिको
Sunday, July 24, 2011
हतुवागढीको एक रात
साँझ झमक्क परिसकेको थियो । पिठिउँमा नूनको गह्रौं भारी थियो ! खुट्टा दुखेर मर्नु न बाँच्नु भैसकेको थियो । 'आज धेरै बाटो हिंडिसकियो,बुवा; एतै भात पकाएर खाउँ अनि एही खनिउँको रुखमनि सुतौं है त !' मैले भनें । अरू पनि तीन चार जना साथीहरु थिए । घरबाट हिंडेको पाँच दिन भैसकेको थियो । मेरो कुरा सबैलाई मनासिबै लागेछ । हामीले तेसै गर्यौं। भातसात पकाएर खाएपछी, खनिउँको रुखमुनि एउटा तन्ना ओछ्याएर पल्टिउँ । राती पानी परेछ, थाकेको जीउले अलिक धेरै भिजे पछि मात्र थाहा पाएछ ! त्यस्तो राती हुँदी के गर्ने होला त, बाबै ! अँध्यारोमा छाम-छाम् छुम-छुम् गर्दै बाटो लाग्यौं । अलिक माथि तिर डाँडाको छेउमा एउटा गाईगोठ रहेछ। त्यँही ओत लागेर सुत्ने निर्णय गर्यौं। बर्षाको पानीबाट त बचियो, तर रातभरी मुटु छेड्ने गरि चिसो बतास चलिरह्यो । कहिले उज्यालो होला र बाटो लागौंला जस्तै भयो । धैर्य भएर पर्खनुमात्र पर्ने रहेछ,उज्यालो त हुने नै रहेछ ! अन्तत: उज्यालो भयो । नूनको भारी बोकेर बेलुका घर पुग्ने आशाले बाटो लाग्यौं!
"भारी बोक्ने भरियाको, यै हो जिन्दगानी !"
जुलाई २४, २०११ , लस अलामोस, न्यू मेक्सिको