Sunday, May 25, 2014

भर्चुएल लभ र गाउँकी पुतली

मेरी प्यारी पुतली 
तिमीबाट छुटेको पनि धेरै भएछ। 
तिमीले सोच्यौ होला - 'मलाई बिर्स्यो'!
तर होइन
मैले तिमीलाई खबर नगरे पनि
बिर्सेंको चाँही छैन!

जब म शहरमा पुगें
एउटी 'सुन्दरी' फेसबूक कुमारीसँग भेट भयो।  
पहिलो भेटमै उसले भनी-
'तिमी त मेरो राजा,!
राजतन्त्र हटिसकेको देशमा,
म 'राजा' भएँ!
कति मख्ख परें, 
भूइँमा खुट्टा रहेनन्!
मैले अंग्रेजी नबुझे पनि 
उसले 'बेबी आइ लभ यू' भन्दा,
मैले आफूलाई 'हीरो' नै ठानें। 

अँ,तिमीले कहिल्यै त्यसो भनिनौ!

उसले घरमा बा-आमालाई पनि चिनाई-
'हि इज माई लेटेस्ट बोइफ्रेन्ड'!
मेरो खुशीको सीमा रहेन!

धेरै रमाइलो भयो 
घरमा पकाउनु नपर्ने,
रेष्टुरेन्टमा खाने, सिनेमा हेर्ने
सोचें-जीवन त मस्ती रहेछ!

तर कथा आज एकाएक फेरियो!
गाउँबाट ऋण गरेर ल्याएको पैसा,
तिम्रा बा-आमाले टीका लाएर दिएको दक्षीणा 
सबै सकिएछ!
खल्ती खाली भएछ!

उसले भनी-
'तिमी त कस्तो पाखे'!
'आइ डोन्ट लभ यू एनीमोर'!

म छाँगाबाट खसेजस्तै भएँ। 

मलाइ माफ गरिदिन्छ्यौ भने, 
अलिकति बाटो खर्च पठाइदिन्छयौ भने,
म चाँडै फर्किन्छु, 
फेरि कहिल्यै शहर पस्दिन!

* नयाँबर्ष बिक्रम सम्बत २०७१ को शुभकामना सहित
   आन अर्बोर, मिचिगन 
   अमेरिका 

Saturday, May 24, 2014

मेरो परिवार

पहाड-मधेश घुम्दा-घुम्दै शहरतिर आइयो 
मन परेकी मायाँलाई त्यतैतिर पाइयो । 
एउटी छोरी त्यतै पाइयो,छोरो बिदेशमा 
यस्तो बन्यो परिवार भई चारजना।

Sunday, May 18, 2014

प्रेम-उषा प्रेम दोहोरी

प्रेम:  के छ हो कान्छी चिटिक्कै परी आइछौ नि यसरी।
        आँखामा गाजल चुल्ठीमा फूल साह्रै छ्यौ सुन्दरी।

उषा:  उषा हो नाम बोलाउ है कान्छा मेरो नाम लिएर
         जुँगाको रेखी आँखामा चस्मा तिमी के कम छौ र !

प्रेम:  म हुँ नि प्रेम तन्नेरी केटो मायाँको खोजीमा
        आएको उषा तरुनी हेर्न यो हाट-बजारमा!

उषा:  कहाँ हो घर के हो नि थर ए प्रेम पुजारी
        कस्तो छ खान्दान सोध्नेछन् बाले प्रेमको भिखारी।

प्रेम:  सल्यान हो घर, खान्दानी केटो थर हो भण्डारी
        शहरमा बस्छु कलेज पढ्छु, तिमी हौ कताकी।

उषा:  फुर्तिला रैछौ मन पर्‍यो मलाई के छ त योजना
        दँगाली कान्छी थापाकी छोरी राख है सम्झना।

प्रेम:  स्पष्ट बोल्छ्यौ, सुन्दरी रहिछ्यौ कुरो नि मिल्दैछ
        तिमीले माने यै बैशाखमा झ्याईं पार्ने बिचार छ।

उषा:  बा-आमा सँग नसोधी तिम्लाई के भन्न सक्छु र
         भोलि नै मेरो हात माग्न आउ दाङको घरतिर।

प्रेम:  तिमीले भने म झर्छु अहिले बा-आमा भेटन
        यसमा चिन्ता नगर खप्पिस छू कुरा मिलाउन।

उषा:  शहर तिम्ले लैजानु पर्छ बिबाहा गरेछी
        बस्दिन म त सल्यानको घरमा दुलही भएछी।

प्रेम:  त्यसको चिन्ता नगर पछि अम्रिका जाउँला  
        आशिष र आबेश दुवैलाई लिई मिचिगन पुगौंला।

उषा:  मन मेरो उड्यो कसरी मैले पर्खन सकौंला
        पच्चिसौं हाम्रो विवाह-उत्सब त्यै ठाउँमा मनाउँला।

दुवै:  सब कुरा पुग्छ देवी र देउता भाकल गरेछी
       बैशाखमै हामी झ्याई पार्नुं पर्छ देखाई ज्योतिषी।

(NOTE: यो गीती-कबिता झ्याउरे-छन्दमा लेखिएको छ। श्री प्रेम भण्डारी र श्रीमती उषा भण्डारीको २५ सौं बिबाहोत्सबमा आन-आर्बोरमा पढेर सुनाइएको हो!)