Sunday, November 30, 2014

ब्वाँसोले कसरी शीकार गर्छ?

चरनमा गाईहरू चरिरहेका हुन्छन् 
जंगलबाट एउटा ब्वाँसो फुत्त निस्कन्छ। 
गाईहरू सोझा छन्
डराएर भाग्न खोज्छन्।
ब्वाँसो बिस्तारै एउटा गाईतिर बढ्छ
मानौं ऊ शत्रु नभएर एउटा साथी हो।
उसले गाईलाई सुम्सुम्याउँछ
गाई आनन्द मान्छ ।
ब्वाँसोले आफ्नो 'प्लान ए' सफल हुने ठान्छ!
ऊ बिस्तारै-बिस्तारै गाईभित्र पस्छ
आन्द्रा-भुडी, मुटु-कलेजो सबै सिध्याउँछ।
क्षणभरमै गाई भूईंमा ढल्छ!
गाईले नमानेको भए,
ब्वाँसोसित 'प्लान बी'हुन्छ।
ऊ 'केभ'तिर फर्किन्छ
आफ्नो 'ग्याङ्'लिएर आउँछ
गाईमाथि आक्रमण गर्छ
र घाइते बनाउँछ।
ब्वाँसोले यसरी शीकार गर्छ !

एउटा अर्को सत्य!

दायित्व हो भनी तिमी मरीमेटी गर्छौ 
औंला दिंदा हातै निल्ने भेट्न पनि सक्छौ। 
सतहमा जे देखिन्छ भित्र त्यस्तो हुन्न 
ख्याल्-ख्यालमा गहिराइ बुझ्न सकिंदैन!

Wednesday, November 26, 2014

'सर्वाइवल'को लागि के चाहिन्छ-क्रेडिट कार्ड, माइक्रोवेव, ईन्टरनेट वा कार? (पछाडि फर्केर हेर्दा)

दूधको थोपै रहेनछ। पसल गएँ। 'कोल्ड स्टोरेज'बाट एक ग्यालन दूध झिकें र काउण्टरमा गएँ। दूधको मूल्य तिर्न क्रेडिट कार्ड झिकें। पसलेले भन्यो - 'सरी सर, वी डोन्ट एक्सेप्ट क्रेडिट कार्ड फर दिस अमाउण्ट।'त्यतिबेला खल्तीमा चार पाँचवटा क्रेडिट कार्ड थिए। ती सबै निकम्मा भए। यसले मलाई लगभग दश बर्ष अगाडि एकजना साथीले भनेको याद गरायो जुनबेला म भर्खर अमेरीका आएको थिएँ। एक दिन सामान किन्न जाँदा पसलमा मैले 'क्याश' तिरेको देखेपछि उनले तपाईंसँग क्रेडिट कार्ड छैन भनेर सोधे। मैले छैन भन्ने बित्तिकै उनले भने 'ए, हो र! लौ, क्रेडिट कार्ड बिना कसरी 'सर्वाइव' गर्नुहुन्छ त?' अर्को एक बर्षसम्म क्रेडिट कार्ड आएन तर 'सर्वाइव' चाहिं गरें। अलिक पछि एक अर्का साथीले पाउरोटी त चीज लगाएर 'माइक्रोवेव' गरेर खाँदा पो मिठो हुन्छ भनेर मलाई सल्लाह दिए। मैले फेरि कमजोरी देखाएँ- म सँग 'माइक्रोवेव' छैन। उनले भने-'ल मैले तपाईंलाई मानें। 'माइक्रोवेव' बिना पनि तपाईं कसरी 'सर्वाइव' गर्न सक्नु हुन्छ नि!' यो त भयो इलिनोइमा एक बर्ष बस्दाको 'सरवाइवल'को कुरा!
मासाचुसेट्समा पि. एच. डी. गर्दै गर्दा एकजना सहपाठी साथीले एउटा 'वेबलिङ्क' दिएर भनिन् 'यू क्यान सी दिस इन ईन्टरनेट'। मेरो कमजोरी त्यहाँ पनि फुत्किहाल्यो-'आइ डोन्ट ह्याव इन्टरनेट!' उनले तुरुन्तै भनिन् -'हाउ डु यू सर्वाइव विदाउट ईन्टरनेट?' त्यहीताका एकदिन छोरोलाई अस्पताल लानु पर्ने भयो। नजिकै भएकोले हामी प्राय: हिंड्दै जान्थ्यौं। एउटा साथीले भन्यो-'आइ क्यान ड्रप यू गाइज् देअर, बट आइ वण्डर हाउ यू सर्वाइव विदाउट अ कार!' कुरा के भने यस्ता सबैकुरा भएपनि 'सर्वाइवल'का गाँठीकुरा चाँही अरु नै हुन् कि जस्तो लाग्न थालेको छ।

कसो दश बर्षमै बूढीसित बिहा भएन!(पछाडि फर्केर हेर्दा)

त्यस्तै दश बर्षको थिएँ होला। तल्लो ओठको भित्रपट्टि एउटा फोका/घाउ आयो। बुवाले हेर्दै हुनुहुन्थ्यो। त्यहीबेला छिमेकी ठूलाबा आए र सोधे 'के भो माइला,तिम्रो ओठ?'मैले प्रश्नको उत्तर दिन नपाउँदै उनले भने,'अब तिम्रो ओठ बढ्दै गएर तल फर्किन्छ। मैले त्यस्तै ओठ भएकी एउटी बूढी आईमाई देखेको छु। तिम्रो बिहे त्यसैसँग गर्दिनु पर्ला। जोडी पनि मिल्छ।' उनले शायद मलाई जिस्क्याउन त्यसो भनेका थिए होला, तर बालमन न हो साँच्चिकै जस्तो लाग्यो र त्यसले त्यो घाउ निको नहुन्जेलसम्म मलाई सताइरह्यो। यो घटनाले अहिले पनि म बेला-बेलामा झस्किन्छु-कसो दश बर्षमै बूढीसित बिहा भएन! कुरा के भने जिस्केर पनि बालबालिकाको मनमा नकारात्मक असर पार्ने कुरा नभनेको बेश!

आधुनिक संचारको युगमा पुतली

मुखको शल्य-क्रिया गरेकोले लामो समयसम्म बोल्न गाह्रो भएको थियो। अब त अलिक बोल्न सक्ने भएँ; ल आज भने पुतलीलाई फोन गर्नु पर्‍यो भनेर फोन डायल गरें। मैले 'हेलो' मात्र के भनेको थिएँ, पुतलीले भनी-'तिमी अब त पूरै सन्चो भएछौ, होइन?'
'हँ! तिमीले थाहा पायौ? कसरी नि?' 
मैले यति मात्र के भनेको थिएँ-'जब तिमीले शल्य-क्रिया भएको कुरा फेसबूकको स्ट्याटस् मा लेख्यौ; मैले तिमीलाई फोन गर्न लागेकी थिएँ। त्यसैबेला तिम्रो ट्वीट देखें-'म अहिले बोल्न सक्दिन'! त्यसैले मैले फोन गरिन। बिरामी भए पनि कथा र कविता त लेखी नै रहेका रहेछौ नि! मैले तिम्रो ब्लग पनि हेरिरहेकी छु। आजको पोस्टिङ्बाट थाहा पाएँ-अब तिमी पूरै सन्चो भएछौ! बेला-बेलामा फेसबूक र ट्वीटरमा तिम्रो बिषयमा अपडेट गर्दै गर। म पनि यतातिरको खबर त्यहीं लेख्दै गर्छु। ल त, आजलाई बाइ!' यति भन्दै उसले फोन बन्द गरी!
मैले जे सुनाउन पुतलीलाई फोन गरेको थिएँ, त्यो सबै उसैले भनी! मनमनै सोचें - पुतली पनि थाहै नपाई संचार-युगमा प्रवेश गरिछे!

के हो वास्तविकता?

आधा पानी भरिएको इनारमा एउटा बडेमानको भ्यागुतो रहेछ। उसले सबैलाई थर्काउँदो रहेछ-'बुझ्यौ, म त यो संसारको राजा हुँ राजा!' इनारका सबै प्राणीहरू थर्कमान् भएछन् र उसलाई राजा मानेछन्। एकदिन बेस्सरी पानी परेर इनार भरिएछ। त्यो भ्यागुतो र इनारका अरु प्राणीहरू पानीमा बगेर बाहिर आएछन्। उनीहरूले अरु अनेकौं प्राणीहरू देखेछन् र संसार त उनीहरूको राजाले भनेको भन्दा फरक र बिशाल भएको थाहा पाएछन्। उनीहरूले राजालाई प्रश्न गरेछन्-'महाराज, संसार त यहाँले भनेको भन्दा ठूलो रहेछ नि! यो सम्पूर्ण संसारकै राजा यहाँ नै होइबक्सिन्छ छ कि?' राजा भ्यागुतोलाई निद्राबाट बिउँझे झैं भएछ र ऊ हत्पताउँदै इनारतिर हाम्फालेछ!

यी भनाइ सत्य नै हुन् कि?

_______________
मूर्खको मनमा अर्ती गाली तुल्य बिझाउँछ 
दूध पान गरी सर्प खाली बिष बहाउँछ!
------------X---------------X-------------
उर्लंदो खहरे हेर भेलमा गड्गडाउँछ
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ।

जनावरको भाषामा

एउटा बहर (तन्नेरी) र अर्को बूढो गोरुको हल (जोडी) रहेछ। खेत जोत्न बेंसी झर्दै गर्दा यी दुईलाई एउटी बूढी गाईले भेटीछन् र सोधिछन्-'कता जान लागेको बहर गोरु?' बहरले बडो जोशले छाती फुलाएर भनेछ-'खेत जोत्न जान लागेको, देखिनस्?' बूढी गाईले त्यही प्रश्न बूढो गोरुलाई पनि सोधिछन्। उसले भनेछ -'कहाँ हुनु र खै! खेत जोत्न जान लागेको नि।' दिनभर खेत जोतेर दुवै फर्किएछन्। सन्जोगले बाटोमा ती दुवैले फेरि पनि तिनै बूढी गाईको प्रश्नको सामना गर्नु परेछ! बूढी गाईले सोधी हालिछन्-'कहाँबाट आएको बहर गोरु?' उसले खुइय सुस्केरा हाल्दै भनेछ-'कहाँ हुन्थ्यो र; खेत जोतेर आएको नि!' तर गाईलाई शान दिंदै बूढो गोरुले भनेछ, 'खेत जोतेर आ'को नि बूढी, देखिनस्?'