Saturday, August 6, 2022

आदर्श शिक्षण

 आज एउटा आदर्श शिक्षणको कुरा गरौं है त!

😀 शिक्षण यसरी गरौं ता कि विद्यार्थीहरूले उनीहरूको जीवन भर हामीले गरेको शिक्षणलाई सम्झनामा राखून्! त्यति मात्र होइन; उनीहरूले आफ्ना सन्तानहरूलाई पनि भनून् कि, "मलाई पढाउने शिक्षकमा भएको शिक्षण कला अरुमा देखेकै छैन।" यो क्रम त्यसरी नै चलिरहोस्। यही त हो नि अजर र अमर हुने भनेको। 🤔
शिक्षण एउटा पवित्र पेशा हो, यो उत्कृष्ट पेशा हो, यो रोमाञ्चक पेशा हो, तर यो एउटा चुनौतीपूर्ण पेशा हो। जब हामी कक्षा कोठामा जान्छौं, त्यहाँ अथाह जोश, जाँगर, र ज्ञानका भोका अत्यन्तै संवेदनशील मस्तिस्कहरूसँग हाम्रो भेट हुन्छ। हामीले योजनाबद्द रुपमा ती मस्तिस्कहरूसँग अन्तर्कृया गर्न सक्यौं र सबैलाई सिकाइ प्रकृयामा सहभागी गराउन सक्यौं भने हाम्रो शिक्षण अर्थपूर्ण हुनेछ। यहाँँ हामीले गम्भीर रुपमा बिचार गर्नु पर्ने कुरा के भने कक्षामा एउटा सिकाइ विधी पर्याप्त हुन सक्दैन किनकि कक्षामा भएका सबै मस्तिस्कहरूले एकै तरीकाले वाह्य वातावरणसँग अन्तर्कृया नगर्न सक्छन्। ती सबैलाई बुझेर र ध्यान दिएर शिक्षण गर्नु चानचुने कुरा हो र! त्यसैले त शिक्षण पेशा चुनौतीपूर्ण छ। मेरो एउटा भित्री चाहना छ - म त्यसो गर्न सकूँ! 😍
***
August 05, 2022
Dr. Rudra Kafle
Worcester, Massachusetts, USA

मोहिनी गुरु र मेरो नेपाली भाषा-साहित्यको मोह

केही दिन अगाडि एक जना मित्रले एउटा सन्देश पठाउनु भएछ-"सर, तपाईंले नेपालीमा लेख्नु भएका कुराहरू मलाई मन पर्छन्। मैले एउटा कथा लेखेको छु। पढेर यस प्रति आफ्नो बिचार व्यक्त गरिदिनु भए आभारी हुने थिएँ।" मैले भनें, 'हुन्छ नि! पठाइदिनुस् न!' मैले पढें; कथा राम्रो लाग्यो। त्यसै अनुसार प्रतिकृया पठाएँँ। 

ईश्वी सम्बत् १९९२ तिर भर्खर भर्खर लिट्टिल एन्जल्समा पढाउन शुरु गरेको थिएँ। मेरो पद 'विज्ञान प्रयोगशाला सहायक' थियो। तर प्रिन्सिपल सरले 'कोही शिक्षकहरू अनुपास्थित भएमा उहाँहरूको कक्षामा गएर हेरिदिनू है' भनी अह्राउनु भएको थियो। त्यही निर्देशनको पालना गर्दै एक दिन नेपाली पढाउने शिक्षक अनुपस्थित हुनु भएकोले उहाँको कक्षामा गएर 'आँखाको गुराँस र हत्केलाको सुनगाभा' भन्ने कविता व्याख्या गरेर फर्किएँ। विद्यार्थीहरूले रमाइलै माने। भोलिपल्ट, फणिन्द्र गुरु आएर मुस्काउँदै भन्नु भो-'रुद्र सर, तपाईं त सदाबहार हुनुहुँदो रहेछ नि!'

मेरो नेपाली भाषा र साहित्य प्रति मोह जगाउने श्रेय मलाई माद्यामिक विद्यालयमा नेपाली विषय पढाउनु भएका मोहिनी गुरुलाई जान्छ। गुरुले यसरी पढाउनु हुन्थ्यो कि उहाँले भनेका कुरा एकोहोरिएर सुनिरहूँ जस्तो लाग्ने! उहाँले पढाएका कविताहरू त्यही दिनमै कण्ठस्थ हुन्थे। उहाँले कहिले हिज्जे प्रतियोगिता गराउनु हुन्थ्यो त कहिले अन्ताक्षरी खेलाउनु हुन्थ्यो। कविताको अन्ताक्षरीमा हाम्रो समूहले जित्थ्यो भने गीतको अन्ताक्षरीमा भने हामी हार्थ्यौं। गुरुको शिक्षणले मेरो व्याकरण त्यत्तिकै वलियो बनेको थियो। संस्कृत छन्दको ज्ञान पनि गुरुले नै दिनु भएको थियो। गुरुसँग तीन बर्ष लिएको नेपाली विषयको शिक्षाले मेरो नेपाली भाषाको ज्ञान अहिले सम्म धान्दै आएको छ। धेरै पछी मोहिनी गुरुलाई काठमाडौंमा बिरामी अवस्थामा भेट्ने मौका पाएको थिएँ। त्यस पछि फेरि भेट हुन पाएन। 

अहिले लाग्छ - यही रहेछ शिक्षकले विद्यार्थीको जीवनमा पार्ने दूरगामी प्रभाव भनेको! 

कलेज गए पछि थुप्रै कविता, कथा र निबन्धहरू लेखें। केही छापिए त धेरै बाकसमै थुप्रिए! धरानमा आइ.एस्सी. पढ्दै गर्दा सप्तकोशी साप्ताहिकमा छापिएको मालिनी छन्दमा रचिएको मेरो लामो कविताका चार हरफहरू मोहिनी गुरुलाई सम्झँदै यहाँँ राख्छु है त:

**

म म म म ममी भन्दै शेखी कत्ती गरेको,

तन मन किन आफ्नै चिन्न हेला गरेको। 

पर पर सतही भै बग्दछौ माथि माथी, 

अब मुटु नयपाली छाम आफ्नै समाती!

**

August 06, 2022

डा. रुद्र काफ्ले 

हाल: उस्टर, मास्साचुसेट्स, अमेरीका 


 

      

  

शिक्षणका ३० बर्ष

इश्वी सम्बत् १९९२ मा लिट्टिल एन्जल्स बाट औपचारिक रुपमा शुरु भएको मेरो संस्थागत शिक्षणको यात्राले तीसौं बर्ष पूरा गरेको छ। त्यतिबेला देखि नेपालमा लिट्टिल एन्जल्स, भानुभक्त मेमोरियल, आइडियल मोडेल, अमृत साइन्स तथा त्रिचन्द्र गरी पाँच वटा शिक्षण संस्थाहरूमा तथा अमेरीकामा वेष्टर्न इलिनोई युनिवर्सिटी, उस्टर पोलिटेक्निक इन्स्टिच्युट र युनिवर्सिटी अफ मिचिगन आन आर्बर गरी तीनवटा शिक्षण संस्थाहरूमा शिक्षाको ज्योति छर्ने पवित्र कार्य गरिएछ।

जीन्दगीको यो यात्रामा हजारौं विद्यार्थीहरूसँग प्रतिकृयाहरू गरिए। आज ती विद्यार्थीहरू देश भित्र र बाहिर करीअरका विभिन्न तहमा पुगेका छन्। म साथीहरूसँग कुरा गर्दा गर्वका साथ भन्छु: मेरा विद्यार्थीहरू प्राध्यापक भएका छन्, चिकित्सक भएका छन्, इन्जिनीयर भएका छन्, वैज्ञानिक भएका छन्, अर्को पुस्ताका जनशक्ति भएका छन्,आदि,आदि! यसो भन्दै गर्दा गर्वले यो छाती ढक्क फूल्छ। यही मेरो जीन्दगीको अमूल्य कमाइ हो। 😍
**
August 03, 2022
Dr. Rudra Kafle
Worcester, Massachusetts, USA