केही दिन अगाडि एक जना मित्रले एउटा सन्देश पठाउनु भएछ-"सर, तपाईंले नेपालीमा लेख्नु भएका कुराहरू मलाई मन पर्छन्। मैले एउटा कथा लेखेको छु। पढेर यस प्रति आफ्नो बिचार व्यक्त गरिदिनु भए आभारी हुने थिएँ।" मैले भनें, 'हुन्छ नि! पठाइदिनुस् न!' मैले पढें; कथा राम्रो लाग्यो। त्यसै अनुसार प्रतिकृया पठाएँँ।
ईश्वी सम्बत् १९९२ तिर भर्खर भर्खर लिट्टिल एन्जल्समा पढाउन शुरु गरेको थिएँ। मेरो पद 'विज्ञान प्रयोगशाला सहायक' थियो। तर प्रिन्सिपल सरले 'कोही शिक्षकहरू अनुपास्थित भएमा उहाँहरूको कक्षामा गएर हेरिदिनू है' भनी अह्राउनु भएको थियो। त्यही निर्देशनको पालना गर्दै एक दिन नेपाली पढाउने शिक्षक अनुपस्थित हुनु भएकोले उहाँको कक्षामा गएर 'आँखाको गुराँस र हत्केलाको सुनगाभा' भन्ने कविता व्याख्या गरेर फर्किएँ। विद्यार्थीहरूले रमाइलै माने। भोलिपल्ट, फणिन्द्र गुरु आएर मुस्काउँदै भन्नु भो-'रुद्र सर, तपाईं त सदाबहार हुनुहुँदो रहेछ नि!'
मेरो नेपाली भाषा र साहित्य प्रति मोह जगाउने श्रेय मलाई माद्यामिक विद्यालयमा नेपाली विषय पढाउनु भएका मोहिनी गुरुलाई जान्छ। गुरुले यसरी पढाउनु हुन्थ्यो कि उहाँले भनेका कुरा एकोहोरिएर सुनिरहूँ जस्तो लाग्ने! उहाँले पढाएका कविताहरू त्यही दिनमै कण्ठस्थ हुन्थे। उहाँले कहिले हिज्जे प्रतियोगिता गराउनु हुन्थ्यो त कहिले अन्ताक्षरी खेलाउनु हुन्थ्यो। कविताको अन्ताक्षरीमा हाम्रो समूहले जित्थ्यो भने गीतको अन्ताक्षरीमा भने हामी हार्थ्यौं। गुरुको शिक्षणले मेरो व्याकरण त्यत्तिकै वलियो बनेको थियो। संस्कृत छन्दको ज्ञान पनि गुरुले नै दिनु भएको थियो। गुरुसँग तीन बर्ष लिएको नेपाली विषयको शिक्षाले मेरो नेपाली भाषाको ज्ञान अहिले सम्म धान्दै आएको छ। धेरै पछी मोहिनी गुरुलाई काठमाडौंमा बिरामी अवस्थामा भेट्ने मौका पाएको थिएँ। त्यस पछि फेरि भेट हुन पाएन।
अहिले लाग्छ - यही रहेछ शिक्षकले विद्यार्थीको जीवनमा पार्ने दूरगामी प्रभाव भनेको!
कलेज गए पछि थुप्रै कविता, कथा र निबन्धहरू लेखें। केही छापिए त धेरै बाकसमै थुप्रिए! धरानमा आइ.एस्सी. पढ्दै गर्दा सप्तकोशी साप्ताहिकमा छापिएको मालिनी छन्दमा रचिएको मेरो लामो कविताका चार हरफहरू मोहिनी गुरुलाई सम्झँदै यहाँँ राख्छु है त:
**
म म म म ममी भन्दै शेखी कत्ती गरेको,
तन मन किन आफ्नै चिन्न हेला गरेको।
पर पर सतही भै बग्दछौ माथि माथी,
अब मुटु नयपाली छाम आफ्नै समाती!
**
August 06, 2022
डा. रुद्र काफ्ले
हाल: उस्टर, मास्साचुसेट्स, अमेरीका
No comments:
Post a Comment