Saturday, October 25, 2014

पैसा वा प्रवृत्ती?

त्यति बेला गाउँमा सय रुपैयाँ भनेको राम्रै पैसा मानिन्थ्यो। त्यति पैसा पाउनलाई एक मुरी जति कोदो/मकै बेच्नु पर्थ्यो वा दश पाथी जति चामल बेच्नु पर्थ्यो। जे होस्,त्यहाँ सय रुपैयाँ हात पार्न सजिलो थिएन। यस्तो बेलामा उनले एउटा घोषणा गरे - 'मकै बेचेर सय रुपैयाँ जम्मा गरेको छु। बहिनीले साह्रै कचकच गरी; यसचोटीको तिहारमा चाँहि बहिनीलाई टीका लगाएर यो सबै पैसा दिन्छु।' गाउँभर हल्ला चल्यो। छर-छिमेकीहरूले नानाथरी टिप्पणी गरे। बुवासँग मागेर एक देखि पाँच रुपैयाँमा तिहार टार्ने हामीलाई पनि यस्ले नराम्रोसँग सतायो। गाउँमा एउटा नराम्रो 'ट्रेन्ड' बस्ने भो'-चाडबाडको रमाइलो र नाता सम्बन्ध भन्दा पनि पैसाको खेल शुरु हुने भयो भनेर गाउँमा सबै चिन्तित भए। हुन पनि तेस्तै भयो-ती हाम्रा गाउँले दाइले त्यो बेला बहिनीको हातको महँगो टीका लगाए र त्यस्पछि फेरि कहिल्यै टीका लगाएनन्। यसरी ती दाइ र बहिनीको सम्बन्ध बिग्रियो दक्षीणाको कारणले।
मलाई लागेको थियो शिक्षाको कमीले यस्तो हुन्छ गाउँघरमा। सन्जोगले भनौं कि के भनौं - शहरको वातावरण पनि हेर्ने मौका पाइयो देश भित्र र बाहिर पनि। शिक्षाको कमी नभएको शहरमा पनि पैसा वा पैसाजन्य कारणले सम्बन्ध बिग्रने क्रम अझ बढी हुँदो रहेछ जस्तो देखिन्छ। तर कुरो 'पैसा'को भन्दा पनि 'प्रवृत्ती'को पो हो कि!

जीवनको सत्य

दु:ख पीडा लुकाएर 
हाँस्नु पर्ने रैछ;
नजाने नि उभिएर
नाच्नु पर्ने रैछ।
होइनन् जस्ता कुरा पनि
मान्नु पर्ने रैछ;
जिन्दगीमा नाटक गर्न
जान्नु पर्ने रैछ!

हामीले अङ्ग्रेजी यसरी सिक्यौं।

चार कक्षाबाट अङ्ग्रेजी पढ्न थालियो,
'अङ्रग्रेजी' सर कक्षामा छिर्ने बित्तिकै 
हामी ठूलो स्वरमा एकैसाथ भन्थ्यौं-
'गूड मोर्निङ् सर!'
सर मख्ख पर्दै भन्थे-
'गूड मोर्निङ् क्लास!'
यसरी त्यो कक्षा सकिन्थ्यो!
हामी शब्द-शब्द नेपालीमा उल्था गरेर पढ्थ्यौं-
'गूड मोर्निङ्'लाई 'असल बिहानी'

'गूड इभिनिङ्' लाई 'असल साँझ'!
हामीले सिक्यौं-
TONGUE - 'टङ्ग्यू' माने 'जिभ्रो'
त्यस्तै
THIGH -'थिघ' माने 'तिघ्रो'!
घरमा MUSIC-'मुसिक' माने 'संगीत'

JUDGE -'जुड्गे' माने 'न्यायाधीस'
भन्दै पढ्दै गर्दा,दाइले भन्नुभो-
धत्, तिनीहरू त 'म्युजिक' र 'जज' पो हुन्।
भोलिपल्ट कक्षामा यही कुरा भन्ने दु:स्साहस गर्दा
सरको सजाय खाइयो-
'यू अन्डर स्ट्यान्ड विथ वान लेग'
जसको अर्थ थियो-
'तँ तल भूईंमा एक खुट्टाले उभी!'
मैले पूरै पिरियड त्यसरी बिताएँ।
अब भने सरले पढाएको मात्र सिक्ने बाचा गरें।
हामीले त अङ्ग्रेजी यसरी पो सिक्यौं त।


अक्टोबर २४, २०१४
आन आर्बर, मिचिगन 

नोट:यो कविता तिहार २०७१ को अवसरमा आन-आर्बरमा पढेर सुनाइएको थियो!

Sunday, October 12, 2014

झण्डै जात गएको !

'तैले मुख धोइस् त? सन्जेको मन्त्र पढिस्?' बुवाले तेसो भन्दा मेरो त सातो-पुत्लै उड्यो। मुखमा हालेको मकै-भट्मास थुक्दै गायत्री जप्न धारातिर दौडिएँ। बाबै नि,झन्नै जात गएको - मुख नधोइकन, गायत्री मन्त्र नजपिकन कसो खाइएन! मलाई यो घटनाले धेरै दिनसम्म सताइरह्यो। बिहानै उठेर बासी भात बजाउने बानी परेको मलाई ब्रतबन्ध गरेपछि निकै गार्हो परेको थियो। कहिले दिशा-पिसाब गर्दा जनै कानमा सिउरिन बिर्सिएला कि भन्ने पीर त कहिले छर-छिमेकीमा हिंडदा सुँगुर-कुखुराले छोइएला र जात जाला भन्ने डर! सेतो धोती फेरेर चुल्होको छेउमा बसेर खाने देखि लिएर बेलुका गृहकार्य सकिएपछि एकफेरा खडङ्ग-रुद्री पाठ गर्नु पर्ने समेत दैनिकीमा थपिएका थिए। धेरै जसो यस्ता दैनिकीहरू अहिले दन्ते कथा जस्ता 'वान्स अपन अ टाइम' हुन पुगेका छन्। अहिले त दिनहुँ मेरो 'लन्च' नै भुटेको बासी भात र 'फ्राइड' अन्डा अनि 'डिनर'मा चिकेन। जनै कानमा सिउरिने कुरा त परै जाओस्! समयसँग चल्नु पर्ने त होला नि!

October 09, 2014, Ann Arbor

तपाईंको दशैं कस्तो भो कुन्नि?

अमेरिका आइकन दशवटा दशैं भ्याइएछ। हरेक दशैं आफ्नै ढंगले मनाइएका भए पनि आन-आर्बर आएपछिका दशैंहरू भने अलिक फरक भएका छन्। टीका लगाउन आउने र जाने क्रम अलिक् बढेको छ। केटा-केटीहरू पनि टीका-जमरा-दक्षिणामा रमाउन थालेका छन्। यी क्रियाकलापहरूले दशैंको सँस्क्रितीलाई बिदेशमा पनि जीवन दिन थालेको झैं अनुभव भएको छ। बुवाको हातको टीका र पिङ् चाहिं 'मिस' भएकै छ। काम-काजबाट बिदा नपाए पनि समग्रमा बिदेशको दशैं पनि लगभग 'नेपाल'कै दशैं जस्तो हुन थालेको हो कि जस्तो पो लागेको छ! साँच्ची, तपाईंको दशैं कस्तो भो कुन्नि?

October 04, 2014

सुन्तलाको अङ्ग्रेजी उच्चारण मिलेको भए

आइ एस्सी दोश्रो बर्षको जाँच सकियो। त्यसपछि जागीर खोज्न थालें। ईंटहरी नजिकैको एउटा बोर्डिङ् स्कूलले बिज्ञापन निकालेको देखें स्थानीय पत्रिकामा-'वान्टेड!साइन्स टिचर'!अरु के चाहियो र! पत्रिका बोकेर निबेदन हाल्न गएँ। अन्तर्वार्ता त 'वाक-इन' पो रहेछ। पालो पर्खें। मेरो नाम बोलाएपछी भित्र छिरें, अलि डराउँदै। प्रिन्सिपल आफ्नो डेस्कमा र छेउमै अर्का भलादमी थिए। केही प्रश्नहरू सोधिए। सकेसम्म राम्रोसँग उत्तर दिने प्रयास गरें। तर कुरा बिग्रियो - सुन्तलामा। अन्तरवार्ता-टीममा बसेका भलादमीले मेरो अङ्ग्रेजी 'टेस्ट' गर्न खोजे। उनले सुन्तलालाई अङ्ग्रेजीमा जे भन्छ त्यो शब्दको सही उच्चारण के हुन्छ भनी सोधे। त्यहीताका एउटा बिज्ञापन आउँथ्यो रेडियोमा-'चिसो चिसो फ्यान्टा ओरेन्ज, मिठो मिठो फ्यान्टा ओरेन्ज'। मैले त्यो बिज्ञापनको अनुसारै उच्चारण गरी 'ओरेन्ज' भनें। ती भलादमीले मलाई भने -'यु डोन्ट ह्याव गूड् इङ्लिश'। मेरो जागीर भएन-सुन्तलाको अङ्ग्रेजी नजान्दा! यदि त्यो मिलेको भए, मेरो जागीर त्यहीं हुन्थ्यो होला र त्यसपछीका बीसवटा जति दशैं पनि त्यतै मनाइन्थ्यो होला! 

आज बिजयादशमी रहेछ-हार्दिक शुभकामना!


October 2, 2014, Ann Arbor

एउटा प्रश्न

पौराणिक कथा अनुसार सत्यवादी युधिस्ठिरले एक-पटक मात्र 'सत्य' कुरा 'सोझै' भनेका थिएनन् रे! त्यसो हुँदा महाभारतको युद्दमा पाण्डवहरूलाई ठूलो सफलता मिलेको थियो रे! गुरु द्रोणाचार्य सेनापती भएको युद्दमा उनको अजेय शक्ति कमजोर बनाउनलाई युधिस्ठिरले गुरु द्रोणाचार्यलाई सुनाएका थिए रे -'नरो वा कुन्जरो वा, अश्वत्थामा हतो हत:'। जसको अर्थ हो - मानिस हो वा हात्ती, अश्वत्थामा चाहिं मारिएकै हो। पुत्र मृत्‍युको खबरले मर्माहत् बनेका सेनापती द्रोणाचार्यलाई त्यही कमजोर समयमा पाण्डवहरुका सेनाहरूले मारिदिए र पाण्डवहरूको बिजय भयो! सत्य कुरा सोझै भन्ने हो या युधिस्ठिरले जस्तै बंग्याएर? यसमा तपाइँको के बिचार छ?

September 26, 2014, Ann Arbor

अहिले पनि दशै उस्तै छ कि?

फेरि दशैं आएछ। देश छोडेको एक दशक र गाउँ छोडेको एक बीस नाघेछ। उबेलामा हामीलाई दशैं गजबले आउँथ्यो। स्कूल, कलेज, र सरकारी कार्यालयहरू सबै बिदा हुन्थे। पर्देशिएका छिमेकी सान्दाइले लुगा-फाटो र खसी किन्ने पैसा लिएर घर आउँथे। तोरीका गेडा भएका स-साना मिठाइ ल्याइदिन्थे हामीलाई। ऋण-पान गरेर बाले नयाँ लुगा ल्याउनुहुन्थ्यो। दर्जी दाइले लुगा सिइदिन्थे। स्कूल छुट्टी भैसकेकोले साथीहरूलाई नयाँ लुगा देखाउन कम्तीमा महिना दिन कुर्नु पर्ने-दशै-तिहारको एक महिने छुट्टीले। नयाँ दौरा, नयाँ सुरुवाल, नयाँ इस्टकोट, कट्टु समेत नयाँ। भुईंमा खुट्टा कहाँ हुनु र ! घरमा खसी पालेर ढालेको अर्कै मजा! मज्जामात्र कहाँ हो र - इज्जत पो थियो यो त इज्जत! 'हाम्रोमा त दशैंलाई घोर्ले खसी पो छ है पुतली, तेरो घरमा घोर्ले खसी छ?' भनी जोशीएर फूर्ती लाउँदा आफू त गाउँको राजा जस्तै लाग्ने। उसको घरमा घोर्ले खसी नहुँदा पुतली खिन्न हुन्थी र भन्थी - 'हेर न, बाले भनेका-हामीले त काकाको बाट दुई धार्नी मासु ल्याउने रे!' घरमा चामल, चिउरा, अनि केरा जोरजाम गर्ने रन्को! पिङ् खेल्ने, आफन्तकोमा टीका लगाएर आशीक थाप्न जाने त छँदै थियो-त्यो भन्दा पनि अझ उत्साहित के ले बनाउँथ्यो भने दक्षीणा सकेसम्म बढी कसले जम्मा गर्ने। यो एउटा प्रतिष्पर्धा जस्तै हुन्थ्यो। पुतलीसित बसेर पिङ्मा दोहोरी मच्चाउँदाको रमाइलोको बर्णन गर्न त मसँग शब्दै छैनन्। अहिले पनि गाउँमा दशैंको रौनकता यस्तै छ कि?

September 20, 2104

कारण र असर

समय फेरिएजस्तो छ। ग्रह-दशा कमजोर भएका हुन् कि-साढे सातको शनीले पक्ष्याएको जस्तो! यता बिग्रिएको छ, उता भत्किएको छ, सबै छरपष्ट! न बाटो सोझो छ, न सोझ्याउन मिल्छ। यता मिलाउन खोज्यो उता बाङ्गिन्छ। न भनेको कुरा मिल्छ, न गरेको प्रतिफल आउँछ। न कसैले भनेको मान्छ, न त मनाउनै सकिन्छ! तर होइन, खास कुरा चाँही के रहेछ भने- 
न सीता हरिन्थिन् ,
न रामै सुरिन्थे।
न बाली सुलिन्थ्यो,
न बाँदर झुमिन्थे।
न सेतु बनिन्थ्यो,
न लङ्का जितिन्थ्यो।
नठोसी अगुल्टो
कहाँ अग्नी बल्थ्यो!


September 19, 2014