Saturday, August 8, 2015

मन र आँखा भरिंदा!

सँगै सुत्दा कैले काँहीं गोडा लागे होलान् 
हिंड्दा, बस्दा, ठट्टा गर्दा छेड्छाड् भए होलान् । 
अन्जानमा भए होलान् भन्ने सबै ठानौं 
परिवारमा यस्तो हुन्छ दु:ख नमानौं।
**
हिमाल, पहाड , तराइका हामी यहाँँ छौं
मेची महाकाली सम्म फैलिएका रैछौं।
हाम्रो जस्तो विविधता कहाँँ हुन्छ र?
यस्तो राम्रो समाज बन्न भाग्यै चाहिन्छ।
**
आन-आर्बरले हाम्रो मन-मुटु चोरेछ
तपाईंंहरुका मन-मुटु हामी सित छ।
साटिएका मन-मुटु राखौं सम्हालेर
फेरि फेरि भेट हुँदा देखाउँ खोलेर!
****
(आन आर्बर नेपाली समाज एउटा सुनौलो नेपाली समाज हो। हामी समाजका सम्पूर्ण सदस्यहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। दीजजी लाई बिशेष धन्यबाद्। 

*** यो कविता आन-आर्बर बाट हाम्रो बिदाइ हुने दिन लिली पार्कमा पढेर सुनाइेको थियो  ! )

August 08, 2015
Ann Abor, M

बाइसौँ डेरा सर्दैछु!

बाह्रै बर्ष हुँदाखेरी घर छोड्ने भएँं 
हाइस्कूललाई जिल्लातिर पैलो डेरा सरें। 
कलेज पढ्न अलिक टाढा धरान जानु पर्‍यो
जागीर खोज्न काठमाडौंको यात्रा तय भयो!
**
आकांक्षाको धरातल बढ्दै जाँदा खेरी
अमेरीकातिर अाइयो अर्को डेरा सरी!
इलिनोइ, मासाचुसेट्स, मिचीगन गैयो
मासाचुसेट्स तिर फेरि डेरा सर्ने भैयो!
**
कहिले यता कैले उता डेरा खोजीयो
घुम्दा घुम्दै जीवन साथी पनि रोजीयो।
अब सर्ने डेरा हाम्रो बाइसौँ पो रैछ
जीन्दगीमा यौटा घर खै कैले पो हुन्छ?
****
August 08, 2015
Ann Arbor, Michigan 

जीन्दगीले यस्ता यात्रा...

हेर्दा हेर्दै तीनवटा हिउँद काटिएछ 
उठ्दा बस्दा हिंड्दा खेल्दा मुटु साटिएछ!
भारी मन बोकी फेरि बाटो लाग्नु पर्ला 
जीन्दगीले यस्ता यात्रा अझै कति गर्ला?


August 07, 2015
Ann Arbor,Michigan

सन्दर्भ गुरुपूर्णिमाको

जिन्दगीमा सही बाटो खोज्न सिकायौ
गलत बाटो नलाग्नलाई सचेत बनायौ। 
दिमागका खाली पाना अझै भरिंदैछन् 
कर्म दिने गुरुहरु आज पूजिंदैछन्!
** 

July 30, 2015
Ann Arbor, Michigan

हामी सानो हुँदा...

छुराले कपाल खौरेर मुडुलै बन्थ्यौं। रिट्ठा मिचेर फिंजै फिंज बनाएर कपाल नुहाउँथ्यौं। कपालमा चाया आउँदैनथ्यो। अलिक पछि लुगा धुने साबुन किन्न पाइने भो,एक मोहोर तिरेर। त्यसले नुहाउँदा पनि चाया देखा परेन। गाउँ छोडेर शहरतिर गइयो। अनेक थरी नुहाउने साबुन, श्याम्पू, कन्डिसनर, जेल र नाना थरीका तेल देखिए। अब भने कपाल पनि जगल्टा हुन थाल्यो र चाया पनि आउन थाल्यो। यो बिदेशी डलरको श्याम्पूले पनि राम्रो गर्ला जस्तो छैन। रिट्ठै तिर फर्किनु पर्ला जस्तो छ!

July 29, 2015
Ann Arbor, Michigan