आज एउटा आदर्श शिक्षणको कुरा गरौं है त!
A FIRM SAILOR
Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Saturday, August 6, 2022
आदर्श शिक्षण
मोहिनी गुरु र मेरो नेपाली भाषा-साहित्यको मोह
केही दिन अगाडि एक जना मित्रले एउटा सन्देश पठाउनु भएछ-"सर, तपाईंले नेपालीमा लेख्नु भएका कुराहरू मलाई मन पर्छन्। मैले एउटा कथा लेखेको छु। पढेर यस प्रति आफ्नो बिचार व्यक्त गरिदिनु भए आभारी हुने थिएँ।" मैले भनें, 'हुन्छ नि! पठाइदिनुस् न!' मैले पढें; कथा राम्रो लाग्यो। त्यसै अनुसार प्रतिकृया पठाएँँ।
ईश्वी सम्बत् १९९२ तिर भर्खर भर्खर लिट्टिल एन्जल्समा पढाउन शुरु गरेको थिएँ। मेरो पद 'विज्ञान प्रयोगशाला सहायक' थियो। तर प्रिन्सिपल सरले 'कोही शिक्षकहरू अनुपास्थित भएमा उहाँहरूको कक्षामा गएर हेरिदिनू है' भनी अह्राउनु भएको थियो। त्यही निर्देशनको पालना गर्दै एक दिन नेपाली पढाउने शिक्षक अनुपस्थित हुनु भएकोले उहाँको कक्षामा गएर 'आँखाको गुराँस र हत्केलाको सुनगाभा' भन्ने कविता व्याख्या गरेर फर्किएँ। विद्यार्थीहरूले रमाइलै माने। भोलिपल्ट, फणिन्द्र गुरु आएर मुस्काउँदै भन्नु भो-'रुद्र सर, तपाईं त सदाबहार हुनुहुँदो रहेछ नि!'
मेरो नेपाली भाषा र साहित्य प्रति मोह जगाउने श्रेय मलाई माद्यामिक विद्यालयमा नेपाली विषय पढाउनु भएका मोहिनी गुरुलाई जान्छ। गुरुले यसरी पढाउनु हुन्थ्यो कि उहाँले भनेका कुरा एकोहोरिएर सुनिरहूँ जस्तो लाग्ने! उहाँले पढाएका कविताहरू त्यही दिनमै कण्ठस्थ हुन्थे। उहाँले कहिले हिज्जे प्रतियोगिता गराउनु हुन्थ्यो त कहिले अन्ताक्षरी खेलाउनु हुन्थ्यो। कविताको अन्ताक्षरीमा हाम्रो समूहले जित्थ्यो भने गीतको अन्ताक्षरीमा भने हामी हार्थ्यौं। गुरुको शिक्षणले मेरो व्याकरण त्यत्तिकै वलियो बनेको थियो। संस्कृत छन्दको ज्ञान पनि गुरुले नै दिनु भएको थियो। गुरुसँग तीन बर्ष लिएको नेपाली विषयको शिक्षाले मेरो नेपाली भाषाको ज्ञान अहिले सम्म धान्दै आएको छ। धेरै पछी मोहिनी गुरुलाई काठमाडौंमा बिरामी अवस्थामा भेट्ने मौका पाएको थिएँ। त्यस पछि फेरि भेट हुन पाएन।
अहिले लाग्छ - यही रहेछ शिक्षकले विद्यार्थीको जीवनमा पार्ने दूरगामी प्रभाव भनेको!
कलेज गए पछि थुप्रै कविता, कथा र निबन्धहरू लेखें। केही छापिए त धेरै बाकसमै थुप्रिए! धरानमा आइ.एस्सी. पढ्दै गर्दा सप्तकोशी साप्ताहिकमा छापिएको मालिनी छन्दमा रचिएको मेरो लामो कविताका चार हरफहरू मोहिनी गुरुलाई सम्झँदै यहाँँ राख्छु है त:
**
म म म म ममी भन्दै शेखी कत्ती गरेको,
तन मन किन आफ्नै चिन्न हेला गरेको।
पर पर सतही भै बग्दछौ माथि माथी,
अब मुटु नयपाली छाम आफ्नै समाती!
**
August 06, 2022
डा. रुद्र काफ्ले
हाल: उस्टर, मास्साचुसेट्स, अमेरीका
शिक्षणका ३० बर्ष
इश्वी सम्बत् १९९२ मा लिट्टिल एन्जल्स बाट औपचारिक रुपमा शुरु भएको मेरो संस्थागत शिक्षणको यात्राले तीसौं बर्ष पूरा गरेको छ। त्यतिबेला देखि नेपालमा लिट्टिल एन्जल्स, भानुभक्त मेमोरियल, आइडियल मोडेल, अमृत साइन्स तथा त्रिचन्द्र गरी पाँच वटा शिक्षण संस्थाहरूमा तथा अमेरीकामा वेष्टर्न इलिनोई युनिवर्सिटी, उस्टर पोलिटेक्निक इन्स्टिच्युट र युनिवर्सिटी अफ मिचिगन आन आर्बर गरी तीनवटा शिक्षण संस्थाहरूमा शिक्षाको ज्योति छर्ने पवित्र कार्य गरिएछ।
Friday, June 18, 2021
भौतिक विज्ञानको रमाइलो (Physics Is Fun)
अहिले सम्म ब्रह्माण्डमा हामीले थाहा पाएका दुई कुराहरू पदार्थ (Matter) र शक्ति (Energy) हुन्। पदार्थ र शक्ति दुवैले कण जस्तो र तरङ्ग जस्तो दुवै ब्यवहार (dual behavior) देखाउँछन्। पदार्थले तरङ्गको जस्तो ब्यवहार गर्दछन् भन्ने सिद्दान्त फ्रेन्च भौतिक शास्त्री लुइ डि बोए (Louis de Broglie)ले दिएका हुन्।
यदि पदार्थको एउटा कणको पिण्ड m छ र यो v गतिमा चलिरहेको छ भने त्यो कणसँग भएको पदार्थ-तरङ्ग (Matter wave) को तरङ्ग लम्बाइ (Wavelength) तलको समीकरणले दिइन्छ। यसलाई ग्रीक अक्षर 'ल्याम्ब्डा' (Lambda) ले देखाउने गरिन्छ। तलको समीकरणमा भएको h लाई 'प्ल्याङ्क कन्स्ट्यण्ट' (Planck Constant) भनिन्छ, जसको मान ०.०००००००००००००००००००००००००००००००००६६३ जुल सेकेण्ड हुन्छ। उक्त समीकरणले क्वाण्टम भौतिक विज्ञानमा एउटा नयाँ र महत्वपूर्ण आयाम थप्यो।
उक्त आविष्कारको लागि लुइ डि बोएलाई १९२९को भौतिक शास्त्र तर्फको नोबेल पुरस्कारले सम्मान गरियो।
Wednesday, April 17, 2019
ब्ल्याक होल
ब्ल्याक होल भनेका 'स्पेसटाइम'को अथाह फैलावटमा रहेका 'सिङ्गुलारिटी' हुन् भन्ने कुरा हामीले अघिल्ला अंकहरूमा जानकारी लिइसक्यौं। तिनी हरूको गुरुत्वाकर्षण यति धेरै हुन्छ कि कुनै पनि पदार्थ र प्रकाश पनि ब्ल्याक होलको इवेण्ट होराइजन भित्र छिरे पछि फर्किन सक्दैनन्। ब्ल्याक होलहरू आइन्स्टाइनको सपेक्षतावादको सिद्दान्त प्रतिनीधित्व गर्ने समीकरणको हलको रुपमा देखा पर्दा वैज्ञानिकहरू अचम्भित थिए कि ब्ल्याक होलहरू अस्तित्वमा हुन्छन् त? तर प्रविधिको बिकाससँगै ब्ल्याक होलहरूको अस्तित्व मात्र पत्ता लागेन कि हालसालै इवेण्ट होराइजन टेलिस्कोपको सहायता बाट एम-८७ तारापुञ्जको केन्द्रमा रहेको सुपरमासिव ब्ल्याक होलको फोटो पनि खिचियो।
चाखलाग्दो कुरा त के हो भने आइन्स्टाइनको सपेक्षतावादको सिद्दान्त प्रतिनीधित्व गर्ने समीकरणको हलमा एउटा निश्चित शर्तमा ब्ल्याक होलको प्रतिबिम्ब पनि देखा पर्छ जसलाई ह्वाइट होल भनिएको छ। ब्ल्याक होलले सबै कुरा निले झैं ह्वाइट होलले सबै कुरा बाहिर फाल्ने गर्छ। ब्ल्याक होल र ह्वाइट होल जोड्ने अर्को बनौटलाई 'वर्म होल' वा 'आइन्स्टाइन-रोजेन ब्रिज' भनिन्छ। वर्म होल र ह्वाइट होल अहिले सम्म सैद्दान्तिक रुपमा मात्र अस्तित्वमा देखिएका छन्। भौतिक विज्ञानका केही आधारभूत नियमहरूको बिरुद्दमा देखा परेकाले यी बनौटहरू अस्तित्वमा हुन नसक्ने शंकाहरू पनि व्यक्त गरिएका छन्।
****************************************************************************
***** Sunday, May 05, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-७: ताराहरू कसरी मर्छन् र ब्ल्याक होलको रुपमा पुनर्जन्म लिन्छन्?
आज स्टेलार ब्ल्याक होल याने मृत ताराहरू बाट बन्ने ब्ल्याक होलको बिषयमा थप जानकारी लिऔं है त!
ताराहरूको केन्द्र भागको तापक्रम लाखौंं डिग्री सेल्सियस हुन्छ। यस्तो तापक्रममा हाइड्रोजन न्युक्लियसहरू बाँधिएर हिलियम न्युक्लियस बन्छन्। यो प्रकृयालाई 'थर्मोन्युक्लीयर फ्युजन' भनिन्छ। यसरी बन्ने हिलियम न्युक्लियसको पिण्ड दुई हाइड्रोजन न्युक्लियसका पिण्डहरूको योगफल भन्दा कम हुन्छ! अब प्रश्न उठ्छ त्यो पिण्ड कहाँँ हरायो त? यसरी हराएको पिण्ड शक्तिमा परिणत हुन्छ। यो शक्तिको परिमाणलाई आइन्स्टाइनको पिण्ड-शक्तिमा परिणत हुँने शूत्रबाट हिसाब गरेर निकाल्न सकिन्छ। यसरी उत्पन्न भएको शक्तिले दिने चापको बाहिरतिर धकेल्ने बल र आफ्नै गुरुत्वले भित्र तिर तान्ने बल सन्तुलित भई ताराहरू जीवित रहन्छन्। जब ताराहरूको केन्द्रमा थर्मोन्युक्लीयर फ्युजन प्रकृया घट्दै जान्छ, उक्त सन्तुलन बिग्रिन्छ। यस्तो अवस्थामा ताराको बाहिरी भाग बिष्फोट भै अन्तरीक्षमा छरिन्छ। यस्लाई 'सुपरनोवा एक्स्प्लोजन' भनिन्छ। त्यो बिष्फोटको प्रतिकृयाबाट केन्द्र भागको पिण्ड अत्यन्त खाँदिन गई,यदि ताराको पिण्ड अत्यन्त धेरै छ भने, उक्त ताराको केन्द्र भागबाट ब्ल्याकहोलको जन्म हुन्छ!
****************************************************************************
***** Wednesday April 24, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-६: भ्रष्टाचारीलाई ब्ल्याक होलतिर हुर्याउँदा तिनीहरूको अवस्था कस्तो हुन्छ?
आज ब्ल्याक होलको गुण बारे केही रमाइलो कुरा गरौं है त!
ब्ल्याकहोलको गुरुत्वाकर्षण बल अत्यन्तै धेरै हुन्छ भन्ने कुरा अघिल्ला भागहरूबाट जानकारी पायौं। अब यसलाई कसरी सिर्जनात्मक ढंगले उपयोग गर्न सकिन्छ भन्ने कुराको चर्चा गरौं है त!
ब्ल्याक होलको नजिकै आइरहेको बस्तुको बिभिन्न भागमा फरक फरक गुरुत्वाकर्षण बल लाग्दछ। यसलाई 'डिफरेन्सियल ग्र्याविटी' भनिन्छ। त्यो बस्तुको नजिक तिरको भागमा डिफरेन्सियल ग्र्याविटी एकदम धेरै हुन्छ भने टाढा तिरको भागमा कम हुन्छ। यसकारणले गर्दा त्यो बस्तु असामान्य ढंगले तन्किन्छ। यो प्रकृयालाई 'स्पागेतिफिकेशन' भनिन्छ।
यस्तो अवस्थामा देशका सबै भ्रष्टाचारीहरूलाई तिनीहरूका खुट्टा चाहीँ ब्ल्याक होल तिर फर्काएर हुर्याइदिने हो भने तिनीहरू पनि असामान्य ढंगले तन्किएर 'स्पागेतिफिकेशन'को अवस्थामा पुगेर ब्ल्याक होलको इवेण्ट होराइजन पार गरी ब्ल्याक होलको 'सिङ्गुलारिटी'मा बिलीन हुनेछन्। यसो गर्न सकिएमा भ्रष्टाचारीहरूको अन्त्य भई सम्मृद्दीको युगको जन्म हुँनेछ!
****************************************************************************
***** Sunday April 21, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-५: ब्ल्याक होल कति ठूला हुन्छन्?
आज ब्ल्याक होल सम्बन्धी केही संख्याहरूको कुरा गरौं है त! अघिल्लो भागबाट हामीले थाहा पायौं कि बन्ने प्रकृया अनुसार ब्ल्याक होलहरूलाई मूख्यत: दुई प्रकारमा बाँडिएका छन्: (क) स्टेलार ब्ल्याक होल-मृत ताराहरू बाट बनेका ब्ल्याक होल (ख) सुपरमासिव ब्ल्याक होल-ब्रम्हाण्ड बन्दै ताका अस्तित्वमा आएका ब्ल्याक होल!
यो भागमा स्टेलार ब्ल्याक होलहरूको बिषयमा चर्चा गरौं है त! जब ताराहरू मर्छन्, तिनीहरूको पिण्ड अनुसार कि त व्हाइट ड्वार्फ वा न्युट्रन स्टारमा देखा पर्दछन् अथवा ब्ल्याक होलमा परिणत हुन्छन्। अत्यन्तै धेरै पिण्ड भएका ताराहरू चाहीँ ब्ल्याक होल हुने गर्छन्। जब ती ताराहरू ब्ल्याक होल हुन्छन्, तिनीहरू कत्रो 'साइज'का हुन्छन् हँ? यसको उत्तर खोजौं है त!
इस्वी सम्बत् १९१६ मा अल्बर्ट आइन्स्टाइनले 'जेनेरल रिलेटिविटी'को सिद्दान्त प्रतिपादन गरे। उनले दिएको समिकरणलाई हल गर्ने क्रममा कार्ल स्वार्चाइल्डले ब्ल्याक होलको साइज थाहा पाउँन सकिने गणितीय शूत्र पत्ता लगाए। त्यसले ब्ल्याक होलको इवेण्ट होराइजनको अर्धब्यास निकालिदिन्छ। त्यो अर्धव्यासलाई 'स्वार्चाइल्ड रेडियस' भनिन्छ। यो शूत्रले देखाउँछ कि ब्ल्याक होलको साइज ताराहरूको पिण्डमा मात्र भर पर्छ। उदाहरणको लागि, हाम्रो पृथ्वी ब्ल्याक होलमा परिणत भएको कल्पना गर्ने हो भने त्यो ब्ल्याक होलको स्वार्चाइल्ड रेडियस १ सेन्टिमिटर भन्दा कम हुन्छ! हाम्रो सूर्य ब्ल्याक होलमा परिणत भएको कल्पना गर्ने हो भने त्यो ब्ल्याक होलको स्वार्चाइल्ड रेडियस ३ किलोमिटर जति मात्र हुन्छ! यसरी स्टेलार ब्ल्याक होलहरूमा पदार्थ अत्यन्त धेरै खाँदिएर बसेको हुन्छ। त्यसैले तिनीहरूको गुरुत्वाकर्षण बल यति धेरै हुन्छ कि प्रकाश पनि तिनीहरूबाट भाग्न सक्दैन!
****************************************************************************
***** Friday April 19, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-४: ब्ल्याक होलहरू कसरी बन्छन्?
अहिले जताततै ब्ल्याक होल छाएको छ। आज राती सपनीमा पनि ब्ल्याक होल नै देखेंछु। ए राता मकै! यो ब्ल्याक होल वास्तवमा के रहेछ हँ? तपाईलाई पनि चासो छ? त्यसो भए, यसको थप जानकारी लिऔं है त!
जान्नलाई हतारमा हुन्हुन्छ? लौ! सुन्नुस् है त!
ब्ल्याक होल भनेको आफ्नो वरिपरि आएको सबै पदार्थ र प्रकाशलाई समेत निलिदिने 'मरेको तारा' हो। त्यसो भए सबै ताराहरू मरे पछि ब्ल्याक होल बन्छन् त? अहँ, बन्दैनन्! तिनीहरूको पिण्डमा भर पर्छ। धेरै पिण्ड भएका ताराहरू ब्ल्याक होल बन्छन् भने थोरै पिण्ड भएकाहरू 'ह्वाइट ड्वार्फ' वा 'न्युट्रन स्टार'को रुपमा देखा पर्छन्। यसरी मृत ताराहरू बाट बनेका ब्ल्याक होलहरूलाई 'स्टेलार ब्ल्याक होल' भन्ने गरिन्छ।
तर अहिले चर्चामा रहेको ब्ल्याक होल भने यस्तो होइन है! त्यो चाहीँ एम-८७(मेसिअर-८७)'ग्यालेक्सी' याने तारापुञ्जको केन्द्रमा रहेको अत्यन्त धेरै पिण्ड भएको 'सुपरमासिव ब्ल्याक होल' हो। यस्ता भीमकाय ब्ल्याक होलहरू हरेक ग्यालेक्सीको केन्द्रमा रहेको ठानिएको छ। यस्ता ब्ल्याक होलहरू ब्रम्हाण्ड बन्दै खेरी बनेका हुन सकने मानिए पनि यो अनुसन्धानकै बिषय रहेको छ।
सारांशमा हेर्दा, बन्ने प्रकृया अनुसार-स्टेलार ब्ल्याक होल र सुपरमासिव ब्ल्याक होल गरी दुई प्रकारका ब्ल्याक होलहरू हुँने रहेछन् भन्ने बुझौं है त!
****************************************************************************
***** Thursday April 18, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-३: ब्ल्याक होलहरूको अस्तित्व कसरी थाहा पाउँने त?
यो भागमा ब्ल्याक होलको अस्तित्वको बारेमा थप जानकारी लिऔँ है त!
ब्रम्हाण्डको बनावटमा हामीलाई थाहा भएको पदार्थ लगभग ५% मात्र हो बाँकी ९५% ब्रम्हाण्ड के ले बनेको छ, अझै एकिन रुपमा पत्ता लागि सकेको छैन। त्यस मध्ये लगभग ७१% 'डार्क इनर्जी' र बाँकी २४% 'डार्क म्याटर' भएको अनुमान छ। भौतिक शास्त्रीहरू ब्रम्हाण्डको यो रहस्य पत्ता लगाउँन लागि परेका छन्।
यहाँँ डार्क म्याटरलाई अलिकति खोतलौं है त। ब्रम्हाण्डमा भएको त्यस्तो पदार्थ जसलाई प्रत्यक्ष देख्न सकिंदैन, त्यसलाई डार्क म्याटर भनिन्छ। ब्ल्याक होल पनि यही बर्गमा पर्न सक्छन् किनभने तिनीहरूले प्रकाशलाई पनि फुत्किन नदिने भएकाले तिनीहरूलाई देख्न सकिँदैन। त्यसो भए ती अस्तित्वमा छन् भनी कसरी थाहा पाउने त? यो स्वाभाविक प्रश्न हो नि! एउटा संकेत चाहीँ 'मियो बिनाको दाईँ' जस्तै हो! ब्रम्हाण्डका भीमकाय ताराहरू एउटा 'शून्य'को वरिपरि परिक्रमा गरिरहेका छन् भने, केप्लरको सिद्दान्त अनुसार, त्यो केन्द्र 'शून्य' नभएर कुनै भीमकाय खगोलीय पिण्डको सिंहाशन हुनु पर्छ। त्यसरी नै ब्रम्हाण्डको कुनै भागमा 'लेन्स'ले बङ्ग्याए झैं प्रकाशलाई बङ्ग्याएदिन्छ भने त्यहाँ पनि ब्ल्याक होल हुन सक्छ। ब्रम्हाण्डका भीमकाय पिण्डहरूले प्रकाशलाई यसरी बङ्ग्याउँने प्रकृयालाई 'ग्र्याभिटेशनल लेन्जिङ्' भनिन्छ!
यसरी भौतिक विज्ञानका नियमहरू प्रयोग गरी ब्ल्याक होलको अस्तित्व थाहा पाउँन सकिन्छ।
****************************************************************************
***** Wednesday April 17, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-२: ब्ल्याक होलहरू देख्न सकिन्छन् त?
यो भागमा 'ब्ल्याक होल'को ज्ञानलाई अलिकति बढाउँ है त!
प्रकृतीले संसार हेर्नलाई हामीलाई आँखा दिएकी छिन्। हाम्रा आँखाहरूले सप्तरङ्गी प्रकाश देख्ने गर्छन्। कुनै पनि बस्तुबाट आएको यही प्रकाश आँखामा परेपछि आँखाको 'कर्निया' र 'लेन्स' हुँदै 'रेटिना'मा पर्छ। रेटिनामा भएका बिशेष कोषहरूले प्रकाशले ल्याएको 'सिग्नल'लाई विद्युतीय तरङ्गहरूमा बदलिदिन्छन्। ती तरङ्गहरू हाम्रो मस्तिष्कमा पुग्छन् र मस्तिष्कले बस्तुलाई सही ढंगले हेर्ने निर्देशन दिन्छ।
ओहो! कुनै कुरा देख्नु भनेको त जटील प्रकृया रहेछ नि! कि होइन त?
यो प्रकृयामा एक महत्वपूर्ण भौतिक कुरा भनेको प्रकाश रहेछ। यही प्रकाशको सहायताले हामी संसारलाई देख्छौं। त्यो संसार चाहे हाम्रो घर भित्रको होस् या सम्पूर्ण ब्रम्हाण्डको! तर कुरो अझै गाह्रो छ है! त्यसो भए हामी ब्रम्हाण्डमा भएका सबै कुरा सजिलै देख्छौं त? अहँ, देख्दैनौं। किनभने हाम्रा आँखाका केही सीमाहरू छन्। त्यसो भए हामीले नदेखेको संसार कसरी हेर्ने त?
ग्यालिलियो ग्यालिलीले यसको उत्तर खोज्ने क्रममा १७ औं शताब्दीको शुरुमा 'टेलिस्कोप'प्रयोग गर्दा आँखाले देख्न नसकिने टाढा-टाढाका बस्तु पनि देख्न सकिने कुरा बताए। बताउँनु मात्र कहाँँ हो र! उनले टेलिस्कोपको प्रयोग गरी बृहस्पती ग्रहका उपग्रहहरू समेत पत्ता लगाए!
आहा! त्यसो भए त गज्जब रहेछ नि - टेलिस्कोप भए त सबै कुरा देखिने रहेछ कि? होइन, कुरो त्यति सजिलो छैन है। टेलिस्कोप प्रयोग गर्नलाई पनि धेरै ब्यवधानहरू छन् है! त्यस्ता ब्यवधानहरू संबोधन गर्ने क्रममा वैज्ञानिकहरूले 'रेडियो टेलिस्कोप'को आविष्कार गरे। त्यसो भए त्यस्ता रेडियो टेलिस्कोपहरूले ब्रम्हाण्डका सबै कुरा सोझै देख्न सकिन्छ त? सोझै त देख्न सकिन्न! तर अन्य आधुनिक प्रविधिहरूको पनि संयोजन गरी यस्ता टेलिस्कोपहरू प्रयोग गरी धेरै कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हेर्न सकिन्छ। हालै ब्ल्याक होलको फोटो पनि यसै प्रकृया बाट खिचिएको हो। यो फोटो निकाल्न पृथ्वीका विभिन्न भागहरूमा भएका रेडियो टेलिस्कोपहरू प्रयोग भएका थिए। यसले वास्तवमा ब्ल्याक होलको आवरण 'इवेण्ट होराइजन'को फोटो खिचेकोले, यो फोटो खिच्ने रेडियो टेलिस्कोपहरूको समूह र प्रकृयालाई 'इवेण्ट होराइजन टेलिस्कोप' भनिएको छ!
****************************************************************************
***** Wednesday April 17, 2019 (Worcester, MA) *****
****************************************************************************
ब्ल्याक होल-१: ब्ल्याक होलहरू के हुन्?
'ब्ल्याक होल'लाई सजिलो तरिकाले बुझौं है त! पृथ्वीको सतहमा बसेर एउटा फलामको डल्लोलाई माथितिर फ्याँक्नुहोस्। के हुन्छ? त्यो फलामको डल्लो पृथ्वीतिरै फर्किन्छ। किन? पृथ्वीको गुरुत्वाकर्षणले गर्दा त्यसको गति घट्दै जान्छ, कुनै उचाइमा पुगेर रोकिन्छ र पृथ्वीतिरै फर्किन्छ। तर बेजोड्को शक्ति प्रयोग गरी त्यो डल्लोलाई ११,२०० मिटर प्रति सेकेण्डको दरले हुर्याउँनुस् त। त्यो डल्लो पृथ्वीलाई छोडेर अन्तरीक्षतिर जानेछ र
पृथ्वीमा कहिल्यै फर्किने छैन। यो गतिलाई पृथ्वीको 'इस्केप भेलोसिटी' भनिन्छ। यसको अर्थ हो-त्यति गतिमा हुर्याएको बस्तु पृथ्वीबाट सधैंंका लागि भाग्छ। अब त्यो डल्लोलाई बृहस्पतीको सतहबाट हुर्याएको कल्पना गरौँ है त! बृहस्पतीलाई छोडी जानलाई त्यो डल्लोलाई ५९,५०० मिटर प्रति सेकेण्डको दरले हुर्याउँनु पर्नेछ! ल ठिक छ! अब सूर्यको सतहबाट त्यो डल्लोलाई सूर्यमा कहिल्यै नफर्किने गरी हुर्याउँनलाई कति गति दिनु पर्ला त? भौतिक शास्त्रका सिद्दान्तले देखाउँछ कि त्यो गति ६,१८,००० मिटर प्रति सेकेण्डको हुनु पर्नेछ। वास्तवमा यो गति दुई वटा कुरामा भर पर्छ: (१) खगोलिय बस्तुको पिण्ड र (२) त्यस्को ब्यास।
अब फलामको डल्लोको ठाउँमा प्रकाशको कणको कुरा गरौं है त!
प्रकाशको कणलाई भौतिक वैज्ञानिकहरू 'फोटोन' भन्ने गर्छन्। फोटोन शून्यमा पनि प्रसारण हुन सक्छ र शून्यमा यसको गति ३,००,०००,००० मिटर प्रति सेकेण्ड हुन्छ। ब्रम्हाण्डमा त्यति ठूला र उच्च घनत्व भएका पिण्डहरू छन् जसको गुरुत्वाकर्षण बलले ३० करोड प्रति सेकेण्डको गतिमा हुइँकिने प्रकाशका कणहरूलाई पनि आफैंतिर तानी बन्धक बनाइदिन्छन्। त्यस्ता पिण्डहरू 'ब्ल्याक होल'को नामले कहलिएका छन्। यिनीहरूको न्वारान गर्ने पण्डित प्रसिद्द भौतिक वैज्ञानिक जन आर्चिबाल्ड व्हीलर हुन्।
****************************************************************************
***** Tuesday April 16, 2019 (Worcester, MA) *****
****************************************************************************
Friday, April 5, 2019
फर्केर हेर्दा-११
छोराछोरीलाई आफ्नो बाल्यकालको यो कथा सुनाउँदा भन्छन्: 'बाबा, इज दिस रियल?'
April 05, 2019
Worcester, MA
Tuesday, December 25, 2018
घुँडाको महत्व
सबै अङ्ग उत्तिकै महत्वका छन्
तर घुँडाहरू बिशेष महत्वका छन्! ** घुँडा खुम्च्याएर उफ्रिनेहरू धेरै उचाइमा पुग्छन्! नउफ्रिंदा पनि ठिकै छ, घुँडाहरूले शरीरको भार थाम्छन्। ** घुँडा टेकेर प्रार्थना गरिए ईश्वर खुशी हुन्छन्। घुँडा टेकी टीका थापे प्रभूजीहरू खुसी हुन्छन् पद र प्रतिष्ठाहरू तरक्कीमा पर्छन्! ** यसरी वैज्ञानिक ढंगले वा सामाजिक सोचाइले घुँडाको मह्त्व असीमित छ। कहिले काहीँ फाइदाको लागि टेके पनि डाक्टरहरू सधैं घुँडा टेक्नु हुन्न भन्छन् नत्र यी घुँडाका हड्डीहरू सबै खिइन्छन्! **
October 27, 2018
|