Friday, December 12, 2014

रंगमञ्च - पर्दा बाहिर र भित्र


द्रिष्य-१
_________
ऊ जङ्गीदै आउँछ
एउटी स्वास्नी-मानिसलाई घिसार्दै ल्याउँछ
बेस्सरी पिट्छ।
*
ती स्वास्नी-मानिस रुन्छिन्, कराउँछिन्-
मलाई यस्ले मार्ने भो हजुर,
यसरी पिटेको-पिट्यै छ
पेट भोकै छ!
*
द्रिष्य हृदयबिदारक देखिन्छ!
दर्शकहरू पग्लिन्छन्
सके जति दिन्छन्।
उनी रुँदै कराउँदै कमाइ बटुल्छिन्।
ऊ अझै जङ्गीन्छ र कपाल लुच्छ।
*
पर्दा बन्द हुन्छ।
*
एक-अर्काले अँगालो हाल्छन्
र भन्छन्-
आज त हाम्रो राम्रै कमाई भो।
दर्शकहरू नमज्जाले छक्किए!
________
द्रिष्य-२
________
________
एउटा भुस्तिघ्रे बाँसुरीको धून हाल्दै आउँछ
एक स्वास्नी-मानिस उसलाई पछ्याउँछिन्।
उनी मस्किन्छिन्,
बारुले कम्मर भाँच्छिन्
नाच्छिन् र दर्शकलाई नचाउँछिन्।
*
मन्त्र-मुग्ध दर्शकहरू नोटको बर्षा गराउँछन्।
उनी सबै बटुल्छिन्।
*
पर्दा बन्द हुन्छ।
*
त्यो भुस्तिघ्रेले उनलाई पिट्छ,
बेईज्जत गर्छ र कमाइ हडप्दै भन्छ-
देखिस्?
फेरि पनि दर्शकलाई झुक्याइयो!

Thursday, December 4, 2014

नदी किनाराबाट शहर हेर्दा

नदी किनारमा गिट्टी कुट्दै थिएँ,
एक हूल मानिसहरू ट्रक लिएर आए। 
गिट्टीको भाउ सोधे।
मैले भाउ बताएँ।
उनीहरूले त्यस्को आधा भाउमा मागे
मैले त्यतिले त साँझको छाक टार्न गाह्रो हुन्छ भनें।
उनीहरूले थर्काए - तँ रातारात धनी हुन खोज्छस्!
नाम मात्रको पैसा दिए
गिट्टी लिएर गए!
मेरो छाक नटरेर के भो त !
त्यो गिट्टीले त शहरमा
मजदूर नेताको करोडौंको महल बनेछ!