Sunday, October 23, 2016

टेलिफोन संवाद

छोरो: 
यतातिर दु:ख सुख ठिकै चलेको छ 
त्यतातिर बा-आमालाई अैले कस्तो छ त? 
बा-आमा: 
हामी पनि सन्चै छौं है बाबु यतातिर
धेरै भयो तिमी गाको मन बेचैन भाछ। 
छोरो: 
पढाइ र जागीरमा बिदा मिलाएर
अर्को बर्ष पक्कै आउँछु सम्झी गाउँघर। 
बा-आमा: 
पोहोर पनि त्यसै भन्थ्यौ आएनौ खै तर 
हामीलाई नि बोलाएनौ कैल्यै त्यतातिर!
छोरो: 
आउँछु भनी भनेको थें कुरै मिलेन 
बल्ल पाकी गर्ल-फ्रेण्डलाई छोड्न भएन!
बा-आमा: 
हामी त्यतातिर आउने सपनै पो हो कि 
गर्ल-फ्रेण्डका बा-आमालाई बोलाई सक्यौ कि?
छोरो: 
बा-आमाले नाति जन्मे पछि आउनु है 
उनका बा-आमा त अाई फर्की सके है!
बा-आमा: 
हुन्छ छोरा! हामी आउँछौं त्यसै बेला तिर 
नाति हुर्काई फर्किनेछौं आफ्नै ओत तिर!
**

(यो बिदेशमा बस्ने छोरा र देशमा बस्ने बा-आमाबीचको टेलिफोन संवाद हो। कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोगमात्र ठहरिने छ।)
**
October 23, 2016
Worcester, MA

Thursday, October 20, 2016

आमाको संझनामा

मैना श्रावणको थियो घर सबै सन्तप्त भो शोकले
हामी बालक थ्यौं अबुझ, कसरी आमा लग्यो रोगले?
मेलापात सकी फिरेर घरमा पुग्दा ठिकै थ्यौ अरे
अर्को दिन नढल्कँदै, अब भने 'बाँच्दिन' भन्द्यौ अरे!
**
धामी झाँक्री मिली एकाग्र मनले फुके कि क्यै मन्तर
आशा थ्यो अझ मृत्‍यु जित्न, तिनले बाँधे कि क्यै जन्तर!
देखी ती कलिला अबोध बचरा भाकल् भए हुन् कति?
धामी झाँक्री र ज्योतिषी बीच हुँदा, तिम्रो भयो त्यो गति!
**
तिम्रा ती कलिला अबोध बचरा हुर्किसके है अब
इच्छा अन्तिमका थिए जुन कुरा, पूरा भए है सब!
फर्की आऊ भनी असम्भव कुरा मै भन्न खै सक्छु र?
आत्मा जीवन-सत्य हो यदि भने, आमा रहू अम्मर!
** ** **
(शार्दूल विक्रिडीत् छन्द)
August 05, 2016
Worcester, MA

हाम्रो सानो घर

तराइको कुनातिर हाम्रो सानो घर
घरै बस्ने कुरा त खोइ कैले मिल्छ र?
आँधी अाई पहाडको कुनाबाट झारी
उडाइलग्यो जीन्दगीलाई समुन्द्रको पारी!

**
August 17, 2016
Worcester, MA

शोक-कविता

जेठो भर्खर आठ बर्ष र अरू सानै उमेरका थियौं 
काखे बालक मात्र आठ महिना हुँदा विक्षिप्तै भयौं। 
आमाको दूध खोजी छट्पट गरी रून्थ्यो कि ऊ भोकले
हुन्थे बाबु दु:खी अधैर्य मनले सन्तप्त भै शोकले।
**
यात्रुले भरिपूर्ण सुन्दर थियो डुङ्गा नयाँँ सैरमा
आँधीको खतरा पनि वरिपरी देखिन्नथ्यो रे त्यहाँ।
कालो बादलले अचानक सबै छोपी अँध्यारो भयो
यौटा बज्र प्रहार भो र त्यसले डुङ्गा डुबाइदियो।
**

(शार्दूल विक्रीडीत छ्न्द)

August 18, 2016
Worcester, MA

मलाई पनि ...

मलाई पनि एउटा सानो 
मन्त्री बन्न मन छ!
यस्को लागि मैले कस्को 
झोला बोक्नु पर्छ?
सिंहदरबार भित्र बसी 
देश हेर्ने मन छ!
जनतालाई सपनाका
गीत भन्न मन छ।
मलाई पनि एउटा सानो
मन्त्री बन्न मन छ!

*
August 26, 2016
Worcester, MA

मीठो सपना

आज राती यौटा मीठो 
सपना देखेंछु।
बडी-गार्डले घेरिएको 
मन्त्री बनेंछु!
हेलिकोप्टर बाट देश
दर्शन गरेंछु।
स्विजरल्याण्ड र जापान जस्तो
देश देखेंछु!
आज राती यस्तो मीठो
सपना देखेंछु।


August 27, 2016
Worcester, MA

जीन्दगीमा धेरै हार ...

जीन्दगीमा धेरै हार, हुन्छन् थोरै जीत 
मान्नै पर्ने रैछ हजुर, संसारको रीत।
समुन्द्रको छाल भित्र, गर्दै दायाँ-बायाँ
जीन्दगीको डुङ्गा पुग्छ, कैले किनारामा?

*
August 29, 2016
Worcester, MA

मेरो गाउँघर

खुट्टा हात फुटे करङ् पनि टुटे त्यो ढाड बाङ्गो भयो
भारीले मिचिएर बाँकी कपडा सर्वाङ्ग नाङ्गो भयो । 
भोका छन् घरमा रुँदै धुरुधुरु ती बाल-बच्चाहरू
चर्केको मुटु बोकी हिंड्छ बिचरा उस्ले गरोस् के अरू?
**
जोडी हात परालको झुपडीमा नेता छिरेका थिए
माग्दै भोट चुनावको समयमा आशा छरेका थिए।
ऐले छन् ती कता? कुनै समयमा फिर्छन् कि गाउँतिर?
फाटेको उसको विक्षिप्त मन त्यो जोड्लान् कि खै आखिर!
**

(शार्दूल विक्रिडीत-१९ अक्षर)

September 02, 2016
Worcester, MA

तीजको शुभकामना

छोरो पाउँदा 'रानी' हुने 
छोरी पाउँदा 'छौंडा'।
लोग्ने लठ्ठ जाँड-रक्सीले 
हानेको छ कौडा!
बूढी आमै 'बोक्सी' हुन्छिन्
नाती रोगी भए,
बुहारीले जल्नु पर्छ
दाइजो थोरै भए!
यस्तो चलन हट्यो भने
तीज राम्रो होला।
तब मात्र तिम्रो पति
'शिव' जस्तो होला!
**

September 03, 2016
Worcester, MA

आफ्नै कथा-ब्यथा

मैले पनि पारी पाखा घाँस काटेकै हो 
गीत गाउँदै चौतारीमा मायाँ साटेकै हो।
समयको झटारोले हान्दा पुगें पर 
तर्किएर हिंड्या हैन मलाई विश्वाश गर!
**
ढाड दुख्दा पटुकीले कम्मर कसेर
बेंसी खेत खनेका थ्यौं सँगै बसेर।
ओडारको मुनि बसी मकै भट्मास खाको
हिजै जस्तो लाग्छ अहिले भयो सम्झनाको।
**
दसैं आउँछ,तिहार आउँछ सम्झनाले छुन्छ
कैले काँहीं मेरो मन एकान्तमा रुन्छ।
ज्ञान खोज्दै हिँड्या थिएँ,सुख कैले हैन
अझै पनि संघर्ष त सकिएको छैन!
**

September 04, 2016
Worcester, MA

बोल ! (गीत)

बोल मिठो बोलीको रसैले 
संसार जित्छ बोलीको वशैले! 
*
बिचार पुर्याइ मौका हेरी मिठो बोली बोल
मनका कुरा एकै चोटि झट्टै नखोल!
*
बोल मिठो बोलीको रसैले
संसार जित्छ बोलीको वशैले!
*
मुख टाल्न, जिभ्रो थुत्न खोज्नेसँग बोल
जस्तो पायो त्यस्तै भने बोल्दै नबोल!
*
बोल मिठो बोलीको रसैले
संसार जित्छ बोलीको वशैले!
*
बोली पनि गोली जस्तो ख्याल गर्नु पर्छ
होइन भने जीन्दगीमा पछुताउनु पर्छ।
*
बोल मिठो बोलीको रसैले
संसार जित्छ बोलीको वशैले!
**
September 05, 2014
Worcester, MA

आफ्नी आमा भन्दा ...

आफ्नी आमा भन्दा राम्री भैछन् छिमेकी 
त्यसैले पो तिम्रो सन्देश गोप्य भाको हो कि?
छिमेकीले हुर्मत् लिंदा पछि थाहा पाउला!
जनताको विश्वाश जिते मात्र सुख पाउला।

*
September 07, 2016
Worcester, MA

मेरो छिमेकी

मेरो एउटा छिमेकी छ धेरै पुरानो 
कैले काहीँ खै किन हो? चित्त गर्छ सानो। 
खेलाउँछ, फकाउँछ अनि थर्काउँछ
अझ चित्त नबुझेमा ढुङ्गा बर्षाउँछ।
*
उसले भने जस्तो गरे झट्टै खुशी हुन्छ
काख्मै राखी तेल घस्दै चुम्मा दिने गर्छ।
मेरो एउटा छिमेकी छ धेरै पुरानो
कैले काहीँ खै किन हो? चित्त गर्छ सानो।
**
September 08, 2016
Worcester, MA

जिन्दगीको सार!

खोंचबाट हेर्दा खेरी सबै देखिंदैन 
डाँडामाथि पुग्नु पर्छ टाढा टाढा देख्न। 
चढ्दै जाऊ डाँडा-काँडा बन्दै होसियार
अनि मात्र बुझ्छौ होला जिन्दगीको सार!

*
September 10, 2016
Worcester, MA

पर्देशी साथीलाई

बिदेश बस्ने साथी तिम्रो पीर-ब्याथा लुकाई 
सम्झन्छौ कि कैले-काहीँ गाउँघरको कमाइ।
खेत बारी जोती सँगै बाउसे गर्दै हिंड्थ्यौ
हिलो छ्यापी एक अर्कालाई रमाइलो गर्थ्यौ।
*
बिदेश पनि सजिलो त छैन अरे भन्छन्
पराइले थर्काउँदा आँशु कति झर्छन् ?
फेस्बूकमा फोटाहरू मुस्काएकै हुन्छन्
साँच्चो कुरा चाँही के हो कोही भन्दैनन्!
*
मुखियाले खेत बारी नह्ड्पेको भए
स्वास्नी पोइला गई मन नतड्पेको भए।
गाउँघरमै हुन्थ्यौ होला आज पनि तिमी
लेखी ल्याको हुने रैछ देखेर हुन्न नि!
**
September 11, 2016
Worcester, MA

दसैंं आयो रे!

बिदेशमा बस्ने साथी! दसैंं आयो रे!
दलानको छेवै तिर खुसी छायो रे!
यस्पाली त तिम्रो छुट्टी मिली हाल्छ कि?
त्यो खुसीमा खुसी थप्न गाउँ जान्छौ कि?

*
September 22, 2016
Worcester, MA

पर्देशीको दसैं?

मलाई पनि घर फर्की दसैंं मान्ने मन थ्यो 
बा-आमाको हातको टीका लगाउने मन थ्यो।
छोरा-छोरीहरू सँग खुसी साट्न मन थ्यो। 
प्रियसीको हात समाई पिङ् मच्चाउन हुन्थ्यो!
*
साहूजीको रीन सम्झी मन ठाउँमा छैन
जागीरमा छुट्टी पनि मिल्छ जस्तो छैन।
यसपालीको दसैंं पनि त्यसै जान्छ होला
पर्देशीको दशा यस्तो, उता कस्तो होला?
*

September 29, 2016
Worcester, MA

आँखा भरिन्छ।

आँधी-हूरी-चट्याङले हान्दै बेला-बेला 
भूगोलको अर्को तिर पुग्याछु यो बेला। 
तन मेरो टाढा होला मन त्यतै घुम्छ
दसैंं-तिहार आउँदा खेरी आँखा भरिन्छ। 

*
October 01, 2016
Worcester, MA

गाउँघर सम्झेर

खोला तरी उकालो र पाखा चढेको
चर्को घाममा पसिनाको धारा झरेको। 
हिजै जस्तो लाग्छ तर बर्षौं बितेछ
अहिले पनि गाउँघर उस्तै छ कि त?
**
गीत गाउँदै पाखाहरू थर्काएर हिंड्थ्यौं
चौतारीको छेउमा बसी दु:ख-सुख साट्थ्यौं।
समयको झटारोमा पर्दै टाढा-टाढा
भै गए नि मेरो गाउँको मायाँ छ है गाढा!
**

October 01, 2016
Worcester, MA

यस्तो पनि दसैंं?

पसलेले उधारोमा लुगा दियो कि?
दर्जी दाइले नयाँँ लुगा सिलाई दियो कि?
खिर्चिङ्-मिर्चिङ्,मसलाको जोहो गर्यौ कि?
मुख्यासँग अक्षतालाई बिन्ती गर्यौ कि?
**
छिमेकीले ठूलो खसी ढाल्दैछन् रे उता
के भनेर सम्झाउँदैछौ बाल-बच्चालाई यता!
मास्टरसँग मैनावारी रीन लियौ कि?
एकाध धार्नी मासु ल्याई दसैंं टार्छौ कि!
**

October 02, 2016
Worcester, MA

बिथोलिएको सपना

कैले यता कैले उता मन छैन ठाउँमा 
आज राती सपनीमा पुग्या रैछु गाउँमा।
रातो माटो भिजाएर भित्ता पोत्दै थिएँ 
दर्जी दाइले आँगनीमा लुगा सिउँदै थिए।
**
घर मुनि खेतमा रैछ धान झुलेको
फूलबारीमा रङ्गी-चङ्गी फूल फूलेको।
केटा-केटी रम्दै थिए लिङ्गे-रोटे पिङ्मा
घण्टी बज्यो निद्रा खुल्यो बिग्र्यो सपना।
**

October 04, 2015
Worcester, MA

गरीबको दसैं

छोरो भन्छ-नयाँँ लुगा गजबको चाहिन्छ बाबा सुन! 
छोरीले गहना नभै अब भने थाल्दैछ धर्ना दिन! 
झूत्रो भो फरियाँ भनेर उनले गर्छिन् सधैंं गन्गन
भारीले थिचिई धुजा हुन गयो नाङ्गो छ आफ्नै तन।
*
ज्याला छैन ठूलो कसोगरी गरौं यी माग मैले पूरा?
छिमेकीहरूका तढक्-भडकले मुटु पर्‍यो झन् चिरा।
खाली पेट छ यो दसैंं, तर उता देख्छु ठूलो रम्झम
यस्तो बेथितिको समाज भगवान् तिम्ले बनायौ किन?
**

(शार्दूल विक्रिडीत-१९ अक्षर) 

October 09. 2016
Worcester, MA

यो फोटोले के भन्दैछ?

न माटो बोकी हिँड्नु छ, इजरायली किसान झैं 
न पानी खोजी हिंड्नु छ, अरबको मरूभूमी झैं!
प्रकृतिको धनी देश, अब्बल यो हुनु पर्दछ
युवा हो! यही माटोमा पसिना अरु पोख्नु छ!

October 20, 2016
Worcester, MA


कस्तो छ बिदेश!

फेस्बूकमा देखे जस्तो मात्र बिदेश छैन 
स्वप्न-भित्र झुमी राख्ने नौरङ्गी नि हैन। 
चिल्ला चिल्ला सडकमा चिल्लै गाडी कति!
गाडी भित्र बेदनाका कथा होलान् कति?
**
दिन रात काम गर्दा कोठा भाडा उठ्ला!
केही बची हाल्यो भने म्याक्डोनाल्डलाई पुग्ला!
साहूजीलाई खुसी पारे बक्सिस केही होला 
नत्र भने भोलि अर्को काम खोज्नु पर्ला। 
**
भिसाको म्याद सक्किसक्यो स्ट्याटस् नि बिग्र्यो 
रेस्टुराँ वा पेट्रोल पम्पको मालिक पनि झर्क्यो।
बिकल्पको बाटो छैन त्यहीँ पुग्नु पर्छ 
अलार्म लगाई आँखा मिच्दै हाजिर हुनु पर्छ। 
** 
उताबाट ॠण धेरै बोकी आको थिएँ
प्रियशीलाई ठूला-ठूला बाचा देको थिएँ। 
बा-आमाको आशा पनि सानो कहाँँ छ र!
कैले पूरा होलान् र खै? यस्ता रहर!
**
अक्टोबर १०, २०१६
मासाचुसेट्स, अमेरीका

ज्ञानको भेटी

लड्दै र पड्दै वन-कन्दरामा 
खेल्दै हिलो उन्मत भै गरामा। 
केही सिकियो अब क्यै सिकाऊँ 
यो ज्ञानको भेटी कतै चढाऊँ।


(ईन्द्रबज्रा छन्द-११ अक्षर)

August 21, 2016
Worcester, MA

मेरो नयाँँ बैठक कोठा

बैठक कोठाको झ्याल खुल्लै छ 
परैसम्म बगैंचा देखिएको छ।

म एकटकले हेरिरहेछु। 
बगैंचामा के छैन!
बगैंचामा सबथोक छ!
**
रुख बिरुवाले भरिएको छ 
फूलै-फूलले सजिएको छ 
पोखरीहरूका पानीमा तरङ्गहरू
मनै भरङ्ग पार्ने 'लुसी ग्रे' हरू
बगैंचामा के छैन!
बगैंचामा सबथोक छ!
**
केटाकेटीहरूले
पिङ् खेलेका छन्
चिप्लेटी खेलेका छन् 
अनि 
जोडीहरुले मायाँ-प्रीति साटेका छन्। 
कोही लाजमात्र छोपेर दौडिएका छन्
दर्शकहरू यी द्रिश्यमा रमाएका छन् 
म एउटा दर्शक थपिएको छु!
**
मेरो नयाँँ बैठक कोठाको झ्यालले 
मलाई पूरै बगैचा देखाइदिएको छ!
बगैंचामा सबथोक छ!
आहा! बगैंचामा त सिङ्गो जीवन छ!

**
(नोट: यसले त मलाई कवि बनाउला जस्तो छ!)
________________

जुलाई २९, २०१६
एल्म पार्क, मास्साचुसेट्स

Friday, May 27, 2016

मेरा सपनाहरू

युवाशक्ति बिदेशिनु अब नपरोस्
क्षमता र योग्यताको कदर गरियोस्!
**
जीवनमा काम लाग्ने शिक्षा-दीक्षा होस्
जनशक्ति 'बाँधी राख्ने' आकर्षण होस्!
**
यति भए खेत बारी बाँझो रहन्न
पहाडको स्याउ त्यसै कुही झर्दैन!
**
बाटो-घाटो, पूल, रेल सबै बन्दछ
युवा शक्ति मिल्यो भने देश बन्दछ!
**
देशैभरि विश्व-बिध्यालय बन्नेछन्
बिदेशीले पढ्नलाई भिशा माग्नेछन्!
**
मे २१, २०१६
उस्टर, मासाचुसेट्टस्

के बिदेशिनु रहर हो?

छाला र हड्डी दिन-रात घोटी 
उब्जाई अन्न पेट-काटी बेची।
कैले लिई रीन ती साहूबाट
पढें बहुतै मिहिनेत साथ।
*
प्रमाणपत्र बोकी हातमा त्यो
जागीर खोज्दै बहुतै हिंडियो।
अङ्ग्रेजीमा खोट कतै लगाए
तिम्रा कोही छन् कि?भने कसैले!
*
न कोही नाता न त छन् रुपियाँ
जागीरका शूत्र बिना भएँ म!
भौंतारींदै आज पुगें बिदेश
मुटु छ मेरो त्यही देश भित्र!
**
April 30, 2016
Worcester, MA

जिन्दगानी ...

जिन्दगानी यस्तै रैछ 
घाम-छायाँ जस्तो। 
बतासले उडाएको 
एउटा पात जस्तो!
कुहिरोमा हराएको 
एउटा काग जस्तो।
जिन्दगानी यस्तै रैछ
घाम-छायाँ जस्तो!

**
April 07, 2016
Worcester, MA

मुस्कानले ...

मुस्कानले सबै कुरा कहाँँ भन्छ र,
चर्किएको मन भित्र हूरी चल्दछ!
कुना पसी भेल बनी बग्छ यो मन
जीन्दगीलाई डोर्याउने रैछ यै मन !

**
March 12, 2016
Worcester, MA

थाकेको चैं छैन जीन्दगी!

चर्किएर फुट्ला जस्तो हुन्छ जीन्दगी 
तन्किएर टुट्ला जस्तो लाग्छ जीन्दगी!
च्यापिएर, थिचिएर तात्छ जीन्दगी 
अझै पनि थाकेको चैं छैन जीन्दगी!

**
March 20, 2016
Worcester, MA

भारी बिशाल छ...

भारी बिशाल छ उता थिचिदिन्छ त्यो तन 
अझै बढी सकसले किचिइन्छ यो मन!
फुरुङ्ग भै उडीदिने मन हुन्छ कैले?
हो सत्य के जीवनको? बुझीने छ कैले?

**
March 22, 2016
Worcester, MA

नदी पारी ...

नदी पारी जाने थियो एउटै मात्र डुङ्गा
पुग्दा-पुग्दै किनारामा छुटी हाल्यो डुङ्गा। 
साँझ पर्‍यो एकान्तमा बास पर्ने भयो 
जीन्दगीको यात्रा अब अनिश्चित भयो!

**
March 25, 2016
Worcester, MA

आश

धेरै टाढा क्षितिजमा एउटा 'दियो' छ
त्यै उज्यालो खोज्दै जीवन अझै घस्रिंदैछ। 
आशै-आशमा झुन्डिएको यौटा जीन्दगी 
आँधी-हुरी भित्र परी बिलाई जान्छ कि!

**
February 24, 2016
Worcester, MA

संसार

धेरैका ओठ-तालु सुकेका छन् 
थोरैका भुँडी र गाला उठेका छन्। 
धेरैले सावाँको ब्याज बढी तिरेका छन् 
थोरैले अकुत सम्पत्ति थुपारेका छन् ।
धेरैले न्याय कम पाएका छन् 
थोरैले धेरैमा अन्याय गरेका छन्।
त्यसैले धेरैको लागि संसार कठिन छ
र थोरैका लागि संसार स्वर्ग छ!
**

February 26, 2016
Worcester, MA

जवानीको ...

जवानीको ठूलो हिस्सा उतै झरेछ 
जीन्दगीको केही अंश मात्रै बचेछ!
बाङ्गो-टिङ्गो नागबेली बाटो हिंडेर 
सोचे जस्तो जीन्दगीमा कहाँँ हुन्छ र!

**
February 29, 2016
Worcester, MA

सेल्फीको छ दुनियाँँ !

गरीबको छेउमा बसी सेल्फी खिचेर
'परोपकार' गर्नेहरू कहाँँ कम छन् र!
**
शोषितको छेउमा बसी सेल्फी खिचेर
'समाज कल्याण' गर्नेहरु कहाँँ कम छन् र!
**
महिलाको छेउमा बसी सेल्फी खिचेर
'नारी कल्याण बादी' हरू कहाँँ कम छन् र!
**
नाङ्गा बालकहरू सँग सेल्फी खिचेर
'बाल-कल्याण' गर्नेहरू कहाँँ कम छन् र!
**
बिद्यार्थीको छेउमा बसी सेल्फी खिचेर
'बिध्या-दान' गर्नेहरू कहाँँ कम छन् र!
**
सेल्फी खिची मिडियामा हालिदिए भैगो
कहींबाट औँला उठ्ने बाटै बन्द भो !
** ** **
January 28, 2016
Worcester, MA

समाजबाद् ...

समाजबाद् र साम्यबाद्का अभियन्ता पैले 
नयाँँ शक्ति निर्माणमा लाग्याछन् रे अैले। 
के रहेछ नयाँँ शक्ति? के के यस्ले गर्ला?
के यसले जनताका सास्ती कम गर्ला?

**
January 27, 2016
Worcester, MA

दक्षीणबाट ...

दक्षीणबाट न्यानो हावा बग्ला जस्तो छ 
ठडिएको चुच्चे टोपी ढल्ला जस्तो छ।
उत्तरतिर रातो कार्पेट खस्रो परेछ कि?
दक्षीणका प्रभू अब खुसी भएछन् कि?


**

January 25, 2016
Worcester, MA

सापेक्षताबाद

कहिलेकाँहीं मीठो बोली 
गाली बन्दो रैछ!
कुनै बेला गालीले त
आँखा खोल्दो रैछ।
देश, काल, परिस्थिति
हेर्नु पर्ने रैछ।
सापेक्षताबादको नियम
यस्तो हुँदो रैछ!
** ** **
उस्टर, मासाचुसेट्स
जनवरी २४, २०१६

Wednesday, January 20, 2016

बिथोलिएका सपनाहरू

टिङ्, ट्वाङ्, टुङ् 
फोनको घण्टी बज्यो। 
एउटा मीठो सपनामा थिएँ 
सब भताभुङ्ग भयो!
**
कहिले हुरीले छानो उडायो 
र सपना तोडिदियो।  
कहिले भालेको 'कुखुरी काँ'ले
सपना बिथोल्यो! 
कहिले बालक छोरा-छोरीको
'चि-हाँ, चि-हाँ'ले ब्युँझायो!
यसरी निद्रा खल्बलिएकै छन्  
सपना बिथोलिएकै छन्। 
**
एकान्तमा एक्लै हुँदा सोच्छु 
कुनै त्यस्तो समय आओस् 
म नबिथोलिएको सपना देखूँ। 
म एउटा सिङ्गो सपना देखूँ। 
त्यसो भए पो म भन्न सक्थें-
आज मैले यस्तो सपना देखेँ। 
**
जनवरी २०, २०१६ 
उस्टर, मासाचुसेट्स 
  
 
 

Sunday, January 17, 2016

भूईंचालोले ...

भूईंचालोले ढालिदियो गरीवको घर 
बर्षै दिन बित्न लाग्यो खप्दै कहर!
**
सरकारका मीठा कुरा सुन्दा आस लाग्छ
सिरेटोले मुटु छेड्दा मरिन्छ झैं लाग्छ!
**
सिरेटो र शीत छेक्ने झुपडी भा हुन्थ्यो 
हिउँद बाँकी हुँदै सरकार अाइपुगे हुन्थ्यो!
**  

January 17, 2016
Worcester, Massachusetts

Saturday, January 16, 2016

प्रधानमन्त्रीसँग बृहस्पतीको यात्रा योजना

शुक्रबार बेलुका चाँडै सुतें। यस्तो गजबको सपना देखेंछु कि म त बालुवाटार पुगेको रहेंछु प्रधानमन्त्रीको निम्ता पाएर। सपना पनि लामै देखेंछु। हामी बीचको कुराकानीको सारांश राखी हालौं है त !
**
म: नमस्कार हजुर!
प्रम: ल बस, बस। मलाई नमस्कार सुन्ने फुर्सत् छैन। बिकास-योजनामा ब्यस्त छु। ए, तिमी कहाँँ बस्छौ रे?
म: म अमेरीकामा बस्छु हजुर!
प्रम: अब उता बस्ने होइन। देशमै बस्नु पर्छ। ए, तिमी डरायौ कि क्या हो उप-प्रधानमन्त्री बनाइदिन्छ भनेर! नडराऊ,नडराऊ,उपको कोटा पूरा भैसक्यो। तिमी मेरो योजनामा काम गर्छौ कि भनेर बोलाको। के छ बिचार?
म: कस्तो योजना हजुर?
प्रम: च्व! मेरो पि. ए. ले तिमीलाई भनेन? खैर, त्यो मंगल भन्दा परको ठूलो ग्रह छ नि। त्यसको नाम के रे?
म: बृहस्पती हजुर!
प्रम: हो बिदेशीले 'जुपीटर' हो कि के भन्छ रे। हामीले बृहस्पती नै भन्नु पर्छ। त्यहाँ हाम्रा जनतालाई पठाउने मेरो योजना छ - आधा बर्षमै।
म: विकसीत देशले भर्खर मंगलमा बस्ती बसाउने हो कि भनेर योजना बनाउँदैछन् रे हजुर। बृहस्पती त धेरै टाढा छ नि!
प्रम: त्यही भएर त भनेको नि। हामी अरु भन्दा अगाडि हुनु पर्छ। अरु मंगल तिर भुल्दै गर्छन्। हामी पहिल्यै बृहस्पती पुगेर बस्ती बसाली हाल्नु पर्छ। बृहस्पती त ठूलो छ रे नि! त्यसैले हामी हाम्रा जनतालाई खाडी मुलुक, कोरिया, मलेसिया होइन, बृहस्पती तिर पठाउँछौं, बृहस्पती तिर!
म: यो कसरी संभव छ हजुर?
प्रम: पि. एच. डी. गरेको होइन तिमीले? त्यति पनि थाहा छैन? त्यो न्युटनको तेस्रो नियम छ नि; हो त्यही नियम लगाएर पठाउने!
म: त्यसको लागि त रकेट बनाउनु पर्छ हजुर। इन्धन चाहिन्छ! धेरै खर्च लाग्छ।
प्रम: ए हो र? मैले त हाइस्कूलमा यो नियम पढ्दा त्यति धेरै खर्च लाग्ला जस्तो लागेको थिएन है! कति जति लाग्ला नि?
म: हाम्रो देशको एक बर्षको बजेट बराबरै लाग्छ होला हजुर!
प्रम: यो सबै मेरो भन्दा पहिले बनेका सरकारहरूको कमजोरी हो। कुनै सरकारले न्युटनको तेस्रो नियम तिर अहिले सम्म ध्यानै दिएन!
म: तेही त हजुर! हजुर जस्तो 'भिजन' भाको प्रम त इतिहास मै पहिलो र अन्तिम जस्तो लाग्छ मलाई त!
प्रम: यो चाँही तिमीले सही भन्यौ है! ल रकेटको सट्टा 'गुलेली' प्रयोग गरे कसो होला? यस्मा तिम्रो के बिचार छ? पख, पख! मसँग अर्को 'आइडीया' पनि छ। तिमीलाई 'इक्यारुस' को बारेमा थाहा छ? उसले मैनले पंखेटा जोडेर सूर्यको नजिक सम्म यात्रा गरेको थियो नि। हामी पनि त्यसै गरौं न। हामीलाई त उसको जस्तो मैन पग्लीने समस्या पनि आउन्न किनकि हामी सूर्य तिर होइन, सूर्यबाट टाढा जान्छौं क्या रे!कि होइन त?
म: यसको लागि आधा बर्ष लाग्छ र हजुर?
प्रम: त्यही त म भन्दैछु। यो त झन चाँडो हुन्छ। ल अहिल्यै परीक्षण गर्न शुरु गरी हाल त! हिजो काठमाडौंको बिध्युतीय रेल उद्घाटन गर्न जाँदा ओडाएको खादा बलियो छ;त्यसैको पंखेटाहरु बनाऊ। मैन चाँही मेरो पि. ए. सँग माग। नाकाबन्दीले अरु सबै कुरा रोकिए पनि कालाबजारीबाट भए पनि मैनको 'सप्प्लाई' भने रोकिएको छैन। ल म अर्को ठाउँमा मेरो अर्को योजना 'फ्ल्याश' गर्न जानु छ। म हिंडें। केही पर्‍यो भने मेरो पि. ए. लाई भन्नू!
म: हुन्छ हजुर! म अहिल्यै काम शुरु गरिहाल्छु!
(पंखेटा बनाउन खादा तानेको त छोराले ओडीरहेको ब्ल्याङ्केट तानेंछु। उसले पनि के सपना देखेछ खै-मलाई नाकैमा हिर्काएछ! हाच्छिउँ गर्दै बिउंझिएँ; झसँग भएँ। एकछिन मात्र नबिउँझिएको भए, देशको इतिहास रच्दै म बृहस्पती तिर लाग्थें होला। हाम्रा प्रधानमन्त्रीको सपना पनि पूरा हुन्थ्यो! )

January 16, 2016
Worcester, Massachusetts

Sunday, January 3, 2016

एउटा प्रश्न

दिउँसो घाम त लागेको छ 
तर यसमा ताप छैन। 
राती जून त लागेको छ 
तर यसमा उज्यालो छैन। 
** 
हिमालको चिसो हावाले हानेको छ
तराइको शीतलहरले छोपेको छ।
पहाडको सिरेटोले मुटु छेडेको छ
ओतको शीतले शरीर निथ्रुक्क भिजेको छ।
**
एउटा शीशाको घर भए
घाम त छिर्थ्यो होला
हावा त रोक्थ्यो होला
न्यानो हुन्थ्यो होला!
**
तर शीशाको घरको पनि
के भर र !
आन्दोलनको ढुङ्गाले चर्काइदिन्छ
समस्या फेरि उस्तै हुन्छ।
**
त्यसैले
तप तप चुहिएको चिसो निद्राबाट
थर्थर कामीरहेको ओठबाट
एउटै प्रश्न गुन्जीरहेको छ-
के यो देशमा सरकार त छ?
**


January 03, 2016
Worcester, Massachusetts

जुत्ता चाँही बाहिरै खोल्नुस् है नत्र 'भाइरस' आउँछ!

दुईवटा डाटा स्टोर गर्ने फ्ल्याश ड्राइवले काम गर्न छोडे पछि तिनीहरुसँग खेल्दा खेल्दै आजको दिन बित्यो तर पनि काम गर्ने बनाउन भने सकिएन। तर यसले मलाई एउटा पुरानो कुराको संझना भने गरायो। 
जागीर खोज्ने सिलसिलामा काठमाडौंका नीजी बिद्यालय चाहार्दै थिएँ। एउटा सानो चिटिक्क परेको स्कूलमा पुगें। ढोकामा पालेले सोध्यो-'कसलाई खोज्नु भएको होला?' मैले भनें-'यहाँ जागीर खुलेको रहेछ। त्यसैले प्रिन्सिपललाई भेटौं भनेर आएको।' उसले मलाई प्रिन्सिपलको अफिस देखाइदियो। ढोका ढक-ढक्याएँ। एउटी महिलाले ढोका खोलिन्। म भित्र छिर्न मात्र लागेको थिएँ; उनले हतारिंदै एकै सासमा भनिन् -'पख्नोस्, पख्नोस्, तपाईंंको जुत्तामा सबै धूलै-धूलो रहेछ। जुत्ता चाँही बाहिरै खोल्नुस् है नत्र हाम्रो कम्प्युटरमा 'भाइरस' आउँछ!' शायद धूलै-धूलो भएको जुत्ता लगाएर गएकोले होला, जागीर पनि भएन!

मेरा यी फ्ल्याश ड्राइव पनि कतै भाइरसबाट संक्रमीत भए कि!

**

(January 02, 2016
Worcester, MA)

सपनामा मन्त्री पो बनेंछु

अहिले छुट्टीमा छु - स्कूल र युनिभर्सिटी दुवै बन्द छन्। त्यसैले बिहान चाँडै उठ्नुपर्दैन। सुताइको समय बढेको छ र समानुपातिक रुपले सपना पनि धेरै नै देखिन थालेका छन्। भनिन्छ नि-खाली दिमाग शैतानको कर्मस्थल हो! त्यसैले होला आजको सपना त झनै रोचक देखियो। दौरा,सुरुवाल, कोट, ढाका-टोपी र बाँसबारी कारखानाबाट उत्पादित चिल्ला छाला-जुत्ता लगाएर सेतो प्लेटको चिल्लो गाडीमा चढेको रहेंछु। मेरो गाडीले बाहिरबाट प्रदूषीत हावा लिएर शक्ति निर्माण गरी शुद्द हावा बाहिर फाल्दो रहेछ। सेतो रङ्गको बिशाल घरको अगाडि गएर गाडी रोकिएछ। ड्राइवरले 'हजुर, ल आइपुगियो!' भनेपछि म ओर्लिएँ। ठूलो मन्च तयार भएको रहेछ। पर्खँदा-पर्खँदा राष्ट्रपती, प्रधानमन्त्री र अन्य बिशिष्ट कर्मचारीहरु अधैर्य भइसकेका रहेछन्। तालीको फोहोराले मेरो स्वागत भयो र मलाई सपथ ख्वाउने तिर लागियो। मैले सोधें-'के को सपथ हो नि?'। ए तपाईंलाई थाहा छैन-'तपाईं हावा मन्त्रीमा सपथ लिंदै हुनुहुन्छ नि!' भीडबाट एउटा आवाज आयो! 'म त्यसका लागि कसरी योग्य भएँ नि?' भनी सोधेको मात्र के थिएँ- 'हावा मन्त्रीको लागि मात्र होइन, तपाईंंको योग्यता त हावा प्रधानमन्त्रीको लागि पनि पुग्छ, शायद अझ बढी नै होला! हावाले चल्ने गाडी, हावाले चल्ने बिध्युत् संयन्त्र र हावाले चल्ने देशै निर्माण गर्ने तपाईं भन्दा अरु को हुन सक्छ?'म झसँग भएँ। मलाई कता-कता डर लागेर आयो। सपथ खान छोडेर भाग्न खोजें। सक्दै सकिंन। धेरै कोशीस गरें, रोएँ, कराएँ तर भाग्न भने सक्दै सकिंन। फोनको घन्टीले बिउँझाइदियो। खुट्टा खुम्च्याएर सुतेको रहेंछु र पो त!
**
(December 27, 2015
Worcester, MA)

आँखा देख्ने

आँखा देख्ने 'अन्धा' हरू,
कान सुन्ने 'बहिरा' हरू, 
निदाएको झैं बहाना गर्ने हरू,
जब यी समाजमा ब्याप्त हुन्छन्
दु:खका दिन कहिल्यै टुङ्गीन्नन्!

**
(December 22, 2015
Worcester, MA)

नेता

ऊ स्टेजमा 'मिनरल वाटर' पिउँदै गर्जियो-
म यो च्याप्टरको अध्यक्ष हुँँ 
त्यो च्याप्टरको सचिब हुँं 
र 
अरु बाँकी सबै च्याप्टरको संयोजक हुँँ।
**
मलाई जिताउनुस्

सडकलाई हिमाली पानीले धोइदिन्छु
पहाडलाई स्वीट्जरल्याण्ड बनाइदिन्छु
तराइलाई इजराइल बनाइदिन्छु
देशलाई सिंगापूर बनाइदिन्छु।

तपाईंहरुलाई मंगल ग्रहमा पुर्याइदिन्छु!
**
उसले जनताको 'वाह-वाही' पायो
भोट पायो र जीत हात पार्यो।
पद बहाली गर्‍यो
र कुर्सीमा बस्यो!
**
कुर्सी गजबको रहेछ।
बस्ने बित्तिकै 'मेमोरी क्लीअर' हुँँदो रहेछ!
उसले अघी गरेका सबै कुरा बिर्सियो।
दक्षिणबाट एउटा फोन आयो
उत्तर बाट अर्को फोन आयो।
संगीतमय फोनका 'टोन'हरु सँगै
त्यो 'नेता' त
बेढङ्गको नाच पो नाच्न थाल्यो!


**

(December 04, 2015
Worcester, MA)

गरीब

सूट-टाइमा ठाँटिएको उसले 
बी. एम. डब्ल्यु. घ्याच्च रोक्यो। 
एउटा माग्नेले 'होमलेस' छु 
'डलर दिएर कृपा गर' भन्यो। 
'म गरीब छु, डलर छैन।' भन्दै 
ऊ पसलभित्र छिर्यो।
'ब्ल्याक लेबल' र 'मार्लबोरो' किन्यो।
तर एक डलर नपुग भयो ।
माग्नेले एक डलर तिरिदियो
र खुशी भयो।
तर
त्यो 'गरीब' माग्नेतिर फर्किएन
चिल्लो कारमा बस्यो र हुँईकियो!

**
(December 03, 2015
Worcester, MA)

हेलो सरकार!

हेलो सरकार! हिजोआज के गर्दैछौ नि?
अझै टुक्का बुन्दैछौ कि गम्भीर हुन्छौ नि?
कूटनीती गर्दैछौ कि गाली मात्र हो?
जनताले सास्ती भोग्ने कैले सम्म हो?
**
शिखण्डी र पाखण्डीका भर नपर 
नेपालीका सच्चा माग चाँडै पूरा गर।
सिंहदरबार बाट मात्र कुर्लिएर हुन्न
गाउँ-गाउँ पुग्नु पर्छ दु:खी मुटु छुन।
**
सक्छौ भने इतिहासका गल्ती सँच्याऊ
छर्-छिमेकमा सम्बन्धलाई नयाँँ बनाऊ।
कूटनीती दह्रो बनाई नयाँ बाटो खोल
अब अरु नेपालीको ज्यान नमोल। 

** **
(November 26, 2015
Worcester, MA)

देश भित्र ...

देश भित्र बस्नेलाई देश दुखेको छ 
बिदेशमा बस्नेको नि मुटु जलेको छ।
देशै नहुनेको पीडा अझ कस्तो होला
नेत्रित्वले गम्भीर भै कैले सोच्ने होला?


(September 06, 2015
Worcester, MA)

जीन्दगीको बाटो - रैछ बाङ्गो-टिङ्गो

बाले भन्थे - चण्डी, रुद्री, बेद पढेर 
पण्डित हुनु पर्छ छोरो ठूलो भएर। 
पुराण भन्ने पण्डित बने कूलै तर्दछ 
कि त भने पाँच-सर्कारको जागीर खानु पर्छ। 

**
चण्डी, रुद्री, बेद पनि केही पढियो
गाउँघरमा कर्म-काण्ड पनि गरियो।
लोकसेवाको जाँच पनि दिए जस्तै लाग्छ
संघ र संस्था, बैंक पनि धाए जस्तो लाग्छ।
**
पण्डित हुने,जागीर खाने भाग्य रैनछ
शहरमा विज्ञानको मास्टर बन्नु रैछ।
गाउँबाट शहर हुँदै बिदेश पसियो
जीन्दगीमा अझै गर्नु पर्ने के के हो? 

**

(August 21, 2015
Worcester, MA)

डाँडै काटी गए ...

डाँडै काटी गए पनि फेरि भेटिन्छ 
अस्ताएको घाम पनि भोलि फर्किन्छ। 
बेला बेला 'हेलो' भन्दै फोन गरौंला
मौका मिले जिन्दगीमा फेरि भेटौंला!


(August 19, 2015
Worcester, MA)