Saturday, January 16, 2016

प्रधानमन्त्रीसँग बृहस्पतीको यात्रा योजना

शुक्रबार बेलुका चाँडै सुतें। यस्तो गजबको सपना देखेंछु कि म त बालुवाटार पुगेको रहेंछु प्रधानमन्त्रीको निम्ता पाएर। सपना पनि लामै देखेंछु। हामी बीचको कुराकानीको सारांश राखी हालौं है त !
**
म: नमस्कार हजुर!
प्रम: ल बस, बस। मलाई नमस्कार सुन्ने फुर्सत् छैन। बिकास-योजनामा ब्यस्त छु। ए, तिमी कहाँँ बस्छौ रे?
म: म अमेरीकामा बस्छु हजुर!
प्रम: अब उता बस्ने होइन। देशमै बस्नु पर्छ। ए, तिमी डरायौ कि क्या हो उप-प्रधानमन्त्री बनाइदिन्छ भनेर! नडराऊ,नडराऊ,उपको कोटा पूरा भैसक्यो। तिमी मेरो योजनामा काम गर्छौ कि भनेर बोलाको। के छ बिचार?
म: कस्तो योजना हजुर?
प्रम: च्व! मेरो पि. ए. ले तिमीलाई भनेन? खैर, त्यो मंगल भन्दा परको ठूलो ग्रह छ नि। त्यसको नाम के रे?
म: बृहस्पती हजुर!
प्रम: हो बिदेशीले 'जुपीटर' हो कि के भन्छ रे। हामीले बृहस्पती नै भन्नु पर्छ। त्यहाँ हाम्रा जनतालाई पठाउने मेरो योजना छ - आधा बर्षमै।
म: विकसीत देशले भर्खर मंगलमा बस्ती बसाउने हो कि भनेर योजना बनाउँदैछन् रे हजुर। बृहस्पती त धेरै टाढा छ नि!
प्रम: त्यही भएर त भनेको नि। हामी अरु भन्दा अगाडि हुनु पर्छ। अरु मंगल तिर भुल्दै गर्छन्। हामी पहिल्यै बृहस्पती पुगेर बस्ती बसाली हाल्नु पर्छ। बृहस्पती त ठूलो छ रे नि! त्यसैले हामी हाम्रा जनतालाई खाडी मुलुक, कोरिया, मलेसिया होइन, बृहस्पती तिर पठाउँछौं, बृहस्पती तिर!
म: यो कसरी संभव छ हजुर?
प्रम: पि. एच. डी. गरेको होइन तिमीले? त्यति पनि थाहा छैन? त्यो न्युटनको तेस्रो नियम छ नि; हो त्यही नियम लगाएर पठाउने!
म: त्यसको लागि त रकेट बनाउनु पर्छ हजुर। इन्धन चाहिन्छ! धेरै खर्च लाग्छ।
प्रम: ए हो र? मैले त हाइस्कूलमा यो नियम पढ्दा त्यति धेरै खर्च लाग्ला जस्तो लागेको थिएन है! कति जति लाग्ला नि?
म: हाम्रो देशको एक बर्षको बजेट बराबरै लाग्छ होला हजुर!
प्रम: यो सबै मेरो भन्दा पहिले बनेका सरकारहरूको कमजोरी हो। कुनै सरकारले न्युटनको तेस्रो नियम तिर अहिले सम्म ध्यानै दिएन!
म: तेही त हजुर! हजुर जस्तो 'भिजन' भाको प्रम त इतिहास मै पहिलो र अन्तिम जस्तो लाग्छ मलाई त!
प्रम: यो चाँही तिमीले सही भन्यौ है! ल रकेटको सट्टा 'गुलेली' प्रयोग गरे कसो होला? यस्मा तिम्रो के बिचार छ? पख, पख! मसँग अर्को 'आइडीया' पनि छ। तिमीलाई 'इक्यारुस' को बारेमा थाहा छ? उसले मैनले पंखेटा जोडेर सूर्यको नजिक सम्म यात्रा गरेको थियो नि। हामी पनि त्यसै गरौं न। हामीलाई त उसको जस्तो मैन पग्लीने समस्या पनि आउन्न किनकि हामी सूर्य तिर होइन, सूर्यबाट टाढा जान्छौं क्या रे!कि होइन त?
म: यसको लागि आधा बर्ष लाग्छ र हजुर?
प्रम: त्यही त म भन्दैछु। यो त झन चाँडो हुन्छ। ल अहिल्यै परीक्षण गर्न शुरु गरी हाल त! हिजो काठमाडौंको बिध्युतीय रेल उद्घाटन गर्न जाँदा ओडाएको खादा बलियो छ;त्यसैको पंखेटाहरु बनाऊ। मैन चाँही मेरो पि. ए. सँग माग। नाकाबन्दीले अरु सबै कुरा रोकिए पनि कालाबजारीबाट भए पनि मैनको 'सप्प्लाई' भने रोकिएको छैन। ल म अर्को ठाउँमा मेरो अर्को योजना 'फ्ल्याश' गर्न जानु छ। म हिंडें। केही पर्‍यो भने मेरो पि. ए. लाई भन्नू!
म: हुन्छ हजुर! म अहिल्यै काम शुरु गरिहाल्छु!
(पंखेटा बनाउन खादा तानेको त छोराले ओडीरहेको ब्ल्याङ्केट तानेंछु। उसले पनि के सपना देखेछ खै-मलाई नाकैमा हिर्काएछ! हाच्छिउँ गर्दै बिउंझिएँ; झसँग भएँ। एकछिन मात्र नबिउँझिएको भए, देशको इतिहास रच्दै म बृहस्पती तिर लाग्थें होला। हाम्रा प्रधानमन्त्रीको सपना पनि पूरा हुन्थ्यो! )

January 16, 2016
Worcester, Massachusetts

No comments: