अहिले छुट्टीमा छु - स्कूल र युनिभर्सिटी दुवै बन्द छन्। त्यसैले बिहान चाँडै उठ्नुपर्दैन। सुताइको समय बढेको छ र समानुपातिक रुपले सपना पनि धेरै नै देखिन थालेका छन्। भनिन्छ नि-खाली दिमाग शैतानको कर्मस्थल हो! त्यसैले होला आजको सपना त झनै रोचक देखियो। दौरा,सुरुवाल, कोट, ढाका-टोपी र बाँसबारी कारखानाबाट उत्पादित चिल्ला छाला-जुत्ता लगाएर सेतो प्लेटको चिल्लो गाडीमा चढेको रहेंछु। मेरो गाडीले बाहिरबाट प्रदूषीत हावा लिएर शक्ति निर्माण गरी शुद्द हावा बाहिर फाल्दो रहेछ। सेतो रङ्गको बिशाल घरको अगाडि गएर गाडी रोकिएछ। ड्राइवरले 'हजुर, ल आइपुगियो!' भनेपछि म ओर्लिएँ। ठूलो मन्च तयार भएको रहेछ। पर्खँदा-पर्खँदा राष्ट्रपती, प्रधानमन्त्री र अन्य बिशिष्ट कर्मचारीहरु अधैर्य भइसकेका रहेछन्। तालीको फोहोराले मेरो स्वागत भयो र मलाई सपथ ख्वाउने तिर लागियो। मैले सोधें-'के को सपथ हो नि?'। ए तपाईंलाई थाहा छैन-'तपाईं हावा मन्त्रीमा सपथ लिंदै हुनुहुन्छ नि!' भीडबाट एउटा आवाज आयो! 'म त्यसका लागि कसरी योग्य भएँ नि?' भनी सोधेको मात्र के थिएँ- 'हावा मन्त्रीको लागि मात्र होइन, तपाईंंको योग्यता त हावा प्रधानमन्त्रीको लागि पनि पुग्छ, शायद अझ बढी नै होला! हावाले चल्ने गाडी, हावाले चल्ने बिध्युत् संयन्त्र र हावाले चल्ने देशै निर्माण गर्ने तपाईं भन्दा अरु को हुन सक्छ?'म झसँग भएँ। मलाई कता-कता डर लागेर आयो। सपथ खान छोडेर भाग्न खोजें। सक्दै सकिंन। धेरै कोशीस गरें, रोएँ, कराएँ तर भाग्न भने सक्दै सकिंन। फोनको घन्टीले बिउँझाइदियो। खुट्टा खुम्च्याएर सुतेको रहेंछु र पो त!
**
(December 27, 2015
Worcester, MA)
No comments:
Post a Comment