Sunday, January 3, 2016

एउटा प्रश्न

दिउँसो घाम त लागेको छ 
तर यसमा ताप छैन। 
राती जून त लागेको छ 
तर यसमा उज्यालो छैन। 
** 
हिमालको चिसो हावाले हानेको छ
तराइको शीतलहरले छोपेको छ।
पहाडको सिरेटोले मुटु छेडेको छ
ओतको शीतले शरीर निथ्रुक्क भिजेको छ।
**
एउटा शीशाको घर भए
घाम त छिर्थ्यो होला
हावा त रोक्थ्यो होला
न्यानो हुन्थ्यो होला!
**
तर शीशाको घरको पनि
के भर र !
आन्दोलनको ढुङ्गाले चर्काइदिन्छ
समस्या फेरि उस्तै हुन्छ।
**
त्यसैले
तप तप चुहिएको चिसो निद्राबाट
थर्थर कामीरहेको ओठबाट
एउटै प्रश्न गुन्जीरहेको छ-
के यो देशमा सरकार त छ?
**


January 03, 2016
Worcester, Massachusetts

No comments: