फेस्बूकमा देखे जस्तो मात्र बिदेश छैन
स्वप्न-भित्र झुमी राख्ने नौरङ्गी नि हैन।
चिल्ला चिल्ला सडकमा चिल्लै गाडी कति!
गाडी भित्र बेदनाका कथा होलान् कति?
**
दिन रात काम गर्दा कोठा भाडा उठ्ला!
केही बची हाल्यो भने म्याक्डोनाल्डलाई पुग्ला!
साहूजीलाई खुसी पारे बक्सिस केही होला
नत्र भने भोलि अर्को काम खोज्नु पर्ला।
**
भिसाको म्याद सक्किसक्यो स्ट्याटस् नि बिग्र्यो
रेस्टुराँ वा पेट्रोल पम्पको मालिक पनि झर्क्यो।
बिकल्पको बाटो छैन त्यहीँ पुग्नु पर्छ
अलार्म लगाई आँखा मिच्दै हाजिर हुनु पर्छ।
**
उताबाट ॠण धेरै बोकी आको थिएँ
प्रियशीलाई ठूला-ठूला बाचा देको थिएँ।
बा-आमाको आशा पनि सानो कहाँँ छ र!
कैले पूरा होलान् र खै? यस्ता रहर!
**
अक्टोबर १०, २०१६
मासाचुसेट्स, अमेरीका
No comments:
Post a Comment