Wednesday, November 26, 2014

'सर्वाइवल'को लागि के चाहिन्छ-क्रेडिट कार्ड, माइक्रोवेव, ईन्टरनेट वा कार? (पछाडि फर्केर हेर्दा)

दूधको थोपै रहेनछ। पसल गएँ। 'कोल्ड स्टोरेज'बाट एक ग्यालन दूध झिकें र काउण्टरमा गएँ। दूधको मूल्य तिर्न क्रेडिट कार्ड झिकें। पसलेले भन्यो - 'सरी सर, वी डोन्ट एक्सेप्ट क्रेडिट कार्ड फर दिस अमाउण्ट।'त्यतिबेला खल्तीमा चार पाँचवटा क्रेडिट कार्ड थिए। ती सबै निकम्मा भए। यसले मलाई लगभग दश बर्ष अगाडि एकजना साथीले भनेको याद गरायो जुनबेला म भर्खर अमेरीका आएको थिएँ। एक दिन सामान किन्न जाँदा पसलमा मैले 'क्याश' तिरेको देखेपछि उनले तपाईंसँग क्रेडिट कार्ड छैन भनेर सोधे। मैले छैन भन्ने बित्तिकै उनले भने 'ए, हो र! लौ, क्रेडिट कार्ड बिना कसरी 'सर्वाइव' गर्नुहुन्छ त?' अर्को एक बर्षसम्म क्रेडिट कार्ड आएन तर 'सर्वाइव' चाहिं गरें। अलिक पछि एक अर्का साथीले पाउरोटी त चीज लगाएर 'माइक्रोवेव' गरेर खाँदा पो मिठो हुन्छ भनेर मलाई सल्लाह दिए। मैले फेरि कमजोरी देखाएँ- म सँग 'माइक्रोवेव' छैन। उनले भने-'ल मैले तपाईंलाई मानें। 'माइक्रोवेव' बिना पनि तपाईं कसरी 'सर्वाइव' गर्न सक्नु हुन्छ नि!' यो त भयो इलिनोइमा एक बर्ष बस्दाको 'सरवाइवल'को कुरा!
मासाचुसेट्समा पि. एच. डी. गर्दै गर्दा एकजना सहपाठी साथीले एउटा 'वेबलिङ्क' दिएर भनिन् 'यू क्यान सी दिस इन ईन्टरनेट'। मेरो कमजोरी त्यहाँ पनि फुत्किहाल्यो-'आइ डोन्ट ह्याव इन्टरनेट!' उनले तुरुन्तै भनिन् -'हाउ डु यू सर्वाइव विदाउट ईन्टरनेट?' त्यहीताका एकदिन छोरोलाई अस्पताल लानु पर्ने भयो। नजिकै भएकोले हामी प्राय: हिंड्दै जान्थ्यौं। एउटा साथीले भन्यो-'आइ क्यान ड्रप यू गाइज् देअर, बट आइ वण्डर हाउ यू सर्वाइव विदाउट अ कार!' कुरा के भने यस्ता सबैकुरा भएपनि 'सर्वाइवल'का गाँठीकुरा चाँही अरु नै हुन् कि जस्तो लाग्न थालेको छ।

No comments: