साँझ झमक्क परिसकेको थियो । पिठिउँमा नूनको गह्रौं भारी थियो ! खुट्टा दुखेर मर्नु न बाँच्नु भैसकेको थियो । 'आज धेरै बाटो हिंडिसकियो,बुवा; एतै भात पकाएर खाउँ अनि एही खनिउँको रुखमनि सुतौं है त !' मैले भनें । अरू पनि तीन चार जना साथीहरु थिए । घरबाट हिंडेको पाँच दिन भैसकेको थियो । मेरो कुरा सबैलाई मनासिबै लागेछ । हामीले तेसै गर्यौं। भातसात पकाएर खाएपछी, खनिउँको रुखमुनि एउटा तन्ना ओछ्याएर पल्टिउँ । राती पानी परेछ, थाकेको जीउले अलिक धेरै भिजे पछि मात्र थाहा पाएछ ! त्यस्तो राती हुँदी के गर्ने होला त, बाबै ! अँध्यारोमा छाम-छाम् छुम-छुम् गर्दै बाटो लाग्यौं । अलिक माथि तिर डाँडाको छेउमा एउटा गाईगोठ रहेछ। त्यँही ओत लागेर सुत्ने निर्णय गर्यौं। बर्षाको पानीबाट त बचियो, तर रातभरी मुटु छेड्ने गरि चिसो बतास चलिरह्यो । कहिले उज्यालो होला र बाटो लागौंला जस्तै भयो । धैर्य भएर पर्खनुमात्र पर्ने रहेछ,उज्यालो त हुने नै रहेछ ! अन्तत: उज्यालो भयो । नूनको भारी बोकेर बेलुका घर पुग्ने आशाले बाटो लाग्यौं!
"भारी बोक्ने भरियाको, यै हो जिन्दगानी !"
जुलाई २४, २०११ , लस अलामोस, न्यू मेक्सिको
No comments:
Post a Comment