Friday, August 5, 2011

मिस्टर ट्रान्स्लेटर



एक ताकाको कुरा हो जुन बेला म काठमाडौंको एउटा स्कूलमा पढाउँथें ! सप्ताहान्तमा हाम्रो विध्यालयले केही शिक्षक-शिक्षिकाहरुलाई चितवनको एउटा फार्म-हाउसतिर बिदा मनाउन लैजाने निधो गर्‍यो । त्यो समूहमा म पनि परेंछु । भर्खर् - भर्खर् बिहा गरेको थिएँ । जान त त्यति मन मानेको थिएन, तर पनि सबै साथीहरु जान लागेको बेला म मात्रै के 'एक्लो ब्रिहस्पती' हुने है भनेर मिस्सिन पुगें ।

हामी जम्मा दश-बाह्र जना थियौं। त्यो समूहमा एक अस्ट्रेलियन शिक्षिका पनि थिइन् । आफ्नो देशमा जागिरबाट अवकाश पाइसकेर नेपाल घुम्न आएकी ती शिक्षिकालाई बिध्यालयले स-साना केटाकेटीहरुलाई अङग्रेजी बोलीचालीको बिकासमा सहयोग पुर्याउनको लागि उनलाई नियुक्ति दिएको थियो । जे होस् हामी मध्यान्ह अगाडि नै त्यतातिर लाग्यौं । बेलुका त्यहीं चितवनको स्थानीय विध्यालयका शिक्षकहरु पनि भेला भए, भलाकुसारी भयो, पढ्ने-पढाउने बिषयमा कुराकानीहरु भए ! राम्रै जमघट भयो !

ठूलो साँझ झमक्कै परिसकेको थियो, खान-पिन शुरु भयो । रमाइलो गफ-गाफ हुँदै थियो ! स्थानीय एक साथीले दोहोरी गाएर रमाइलो गरौं भन्ने प्रस्ताव राखे; गाउन पनि पो शुरु गरी हाले त पूरा भाका हालेर - 'बल्ल पर्‍यो निर्माया, माकुरी जालैमा !' लौ न त भनेर मैले पनि स्वरमा स्वर मिलाएँ । समूहमा गाउँदा रमाइलै भयो । ती अस्ट्रेलियन शिक्षिका पनि रमाउँदै ताली पड्काउन थालिन् । मलाई लाग्यो - उनले त्यो गीतको शब्द र अर्थ पनि बुझे कति रमाइलो गर्दी हुन् । मैले गीतका हरेक अंशको अङग्रेजीमा अनुवाद गरेर उनलाई सुनाउने निर्णय गरें । साथीहरुले गाइसक्ने बित्तिकै मैले अनुवाद गरिदिन्थें । उनी 'गूड' भन्दै रमाइलो मान्दै ताली पड्काउँथिन्।

अरुबेला म सामान्य उल्था गर्न पनि गार्हो मान्ने मानिस त्यतिबेला दोहोरी गीतका हरफहरुको फटाफट उल्था गरेको देख्दा सबै साथीहरु छक्क परे, रमाइलो पनि माने ! एकजना साथीले त खप्नै नसकेर मुखै खोले - 'यो सब सोमरसको कमाल हो है' ! त्यो साँझ सार्है रमाइलो र अविस्मरणीय भयो ! बिदा मनाएर हामी काठमाडौं फर्कियौं ।

केही समयपछि एकदिन बिहानको कक्षा पढाइसकेर बिध्यालयको प्राङगणतिर निस्कदैं थिएँ । एउटा तिखो महिला स्वर कानमा ठोक्किन आयो - 'हेलो मिस्टर ट्रान्स्लेटर'। म यसो के फर्केको मात्र थिएँ, तिनै अस्ट्रेलियन शिक्षिका रहिछन् स्कूलबाट बिदा भएर आफ्नो देश फर्किन लागेकी ! लौ त 'गूड बाइ' भनेर अर्को कक्षातिर लागें । म अहिले यसो सम्झन्छु - त्यो सोमरसकै कमाल थियो क्यारे मलाई 'मिस्टर ट्रान्स्लेटर' बनाउने !


अगस्ट ०५ , २०११ , लस अलामोस, न्यू मेक्सिको






No comments: