१५ बर्ष बढी बितिसकेछ। भौतिक शास्त्रमा भर्खर एम. एस्सी. सकेको थिएँ। निजी बिध्यालयमा जमेरै काम गरिरहेकोले जागीरको समस्या त थिएन। तर अरु साथीहरुको सिको गर्दै मलाई विश्वविध्यालयमा एक-दुई पिरियड भए पनि पढाउन पाए हुन्थ्यो भन्ने रहर लाग्न थाल्यो। संयोगबस विश्वविध्यालय अन्तर्गतको एउटा कलेजले यस्तै पार्ट-टाइम शिक्षकहरुको लागि विज्ञापन गरेकोले मलाई ढुङ्गा खोज्दा देउता मिले झैं भयो। तुरुन्तै निवदन हालें। अन्तर्वाताको लागि नाम पनि निस्क्यो। गजबै भो, मक्ख परें।
निकै तयारी गरेर स्कूलमा बिदा मागी अन्तरवार्ता दिन गएँ। अन्तर्वाता यति राम्रो दिएँछु कि प्रश्नकर्ताले 'ल राम्रो तयारी गर्नु भएको रहेछ। बिध्यार्थीलाई पनि यसरी नै तयारी गरी पढाउनु होला।' भन्दा मेरो छाती गर्वले ढक्क फूल्यो; खुसीले आँखा पनि रसाए। अन्तर्वातामा उतीर्ण भएँ।
बिहानी कक्षाहरु पढाउने कुरा पक्का भो।
एक दिन बिहानै कलेज पढाउन भनेर शानका साथ त्यता तर्फ लागें। बिभागीय कार्यलयमा गएर दैनिक कार्यतालीका हेरें। एउटा पिरियड बिहान ८ बजे रहेछ र अर्को ११ बजे रहेछ। २ पिरियड पढाउँदा बिहान बित्ने भो। ठिकै छ पढाउँदै गर्छु; कुनै बेला विभागीय प्रमुखलाई भेटी समय मिलाउन अनुरोध गर्नु पर्ला भन्ने लाग्यो। कक्षामा गएँ। कक्षाकोठा बिध्यार्थीहरुले खचाखच थियो। न्युटनका सबै नियमहरु पढाएँ। सफलतापूर्वक पिरियड सकियो। त्यसपछी दुई घण्टा कुरेर अर्को कक्षा पढाएँ। अनि आफ्नो नियमित जागीर गरिरहेको विध्यालयतिर लागें। बिद्यालय ढिलो पुगेकोले हाजीर पुस्तिका प्रिन्सिपलको कोठाभित्र पुगीसकेको रहेछ। म त्यो दिन गयल भएँ।
यसरी एक हप्ता बित्यो तर विभागीय प्रमुखलाई भेटेर मेरो समय मिलाउन अनुरोध गर्ने इच्छा पूरा हुन सकेन। उनी एकदिन आउँदा रहेछन् र हप्तादिन भरिको हाजीरी बजाएर जाँदा रहेछन्। धेरै मेहेनत गरेर उनी आउने दिन र समय पत्ता लगाएँ र कुरेर बसें। उनी आए, हाजीरी पुस्तिका पल्टाए र लहरै एक हप्ताको लागी हाजीरी ठोकिदिए। उनी हिंड्नै लागेका थिए; मैले 'सर, मेरो समय मिलाइदिनु न।' मात्र के भनेको थिएँ-उनले कड्किंदै भने-'यो बिभाग तिम्रो बाउको बिर्ता हो र तिमीले भने-भनेको समय मिलाउने!' र त्यहाँबाट उनी हिंडे। यसरी तीन महिनासम्म काम गरें र मैले गर्वले पाएको यो जागीर छोडिदिएँ। केही समय पछी तलब लिन गएको त "हाजीरी पुस्तिका हामीले 'डम्प' गरी सक्यौं। तिमीले यहाँँ काम गरेको 'रेकर्ड' छैन।" भनी प्रशासकले रित्तो हात फर्काइदिए!
June 18, 2015
Ann Arbor, Michigan
No comments:
Post a Comment