Thursday, June 11, 2015

ढिलो हुन्न है!

म बिहान ७:३० बजे तिरै बस चढ्छु विश्वबिध्यालय जानलाई। सधैंं झैं आज पनि अरु एक दुई जना सहयात्री सँगै बस चढें। 'रिसर्च'को सामूहिक छलफल गर्नु पर्ने दिन आज परेको तर पढाउने र घरको कामले अलिक ब्यस्त भएकोले छलफलको बिषय पढ्न पाएको थिइँन। त्यसैले पछाडिको सीटमा गएर बसें र पढ्नको लागि झोलाबाट एउटा 'रिसर्च पेपर' निकालें जुन आजको छलफलको बिषयसँग सम्बन्धित् थियो। 
'पेपर' यसो पल्टाएको मात्र के थिएँ, छेवैमा बसेका एक 'नौला' सहयात्रीले मेरो ध्यानाकर्षण गराउँदै सोधे-'तिमी कलेज जान्छौ?' मैले 'हो, म कलेजमा काम गर्छु।' भनें। ६०-६५ बर्ष उमेरका मेरा पहिलो पटकका ती सहयात्रीले गुनासो पोख्दै भने-'मैले पनि कलेज पढ्ने बिचार गरेर स्याटको जाँच दिएको थिएँ; तर दुर्भाग्यवश केही अङ्क कमी भयो र कलेज प्रवेश पाइँन। अर्को बर्ष चाँही अलिक मेहेनत गरेर स्याट दिने योजना गरेको छु। मेरो पि. एच. डी. गर्ने बिचार छ।' उनले यस्तै भन्दै गए! मैले बीच-बीचमा 'ओ. के.', 'गूड लक' भन्दै गएँ। बस म सधैं झर्ने स्टपमा पुगिसकेछ। ती नयाँ सहयात्रीलाई 'बाइ' गरेर बसबाट ओर्लिएँ। मनमा कुरा खेल्न थाले-'उनको बाटो पनि मेरो जस्तै भयो र भाग्यले साथ दियो भने उनले ७५ बर्षमा पि. एच. डी. गरी केही बर्ष थप 'रिसर्च' पनि गर्ने रहेछन्। त्यसैबेला कतै फ्याकल्टीको स्थान पाए भने अरु १५-२० बर्ष सकृय 'रिसर्चर' हुन सक्ने रहेछन्। उनको त्यो आत्मबिश्वासलाई सम्मान छ। यी नौला सहयात्रीको योजना सुन्दा लाग्यो-'चाहेको काम गर्न ढिलो चाँही हुने रहेनछ है!'


June 11, 2015
Ann Arbor, Michigan

No comments: