'तिमीले दौराको बाउलाले सिंगान पुछ्दै गुच्चा हानेको बिर्सियौ कि?' बर्षौ पछि गाउँघरको दैनिकी सम्झाउँदै स्कूले साथीले आज फेसबूकबाट खबर पठाए। उनलाई मात्र खुसुक्क जवाफ लेख्न मनले मानेन किनभने जिन्दगीको त्यो सुनौलो क्षण हामी धेरैले भोगेका छौं। स्कूलमा टिफ्फिनको समयमा गुलेली झैं औंला तन्काएर गुच्चा मारी खेलेको म कसरी बिर्सन सक्छु र ! छुट्टीको घन्टी बजेपछी घर जान बुर्कुसी मार्दा सुरुवालको ईँजार चुँडिएर एक हातले किताब च्यापेर अर्को हातले सुरुवाल समाती घर पुगेको पनि हिजै जस्तो लाग्छ! त्यही माथि बाटोमा पुतलीले जिस्क्याउँदा लाजले रातो पीरो भएको त अहिल्यै जस्तो लाग्छ! अहा, क्या थिए ती दिनहरू! साथी, समयको झटारोले आज धेरै टाढा पुगिएछ। तिमी उता रहे छौ, म यता पुगेँछु। माथ्लाघरको ठूले कता छ? तल्लाघरे साने नि? जे होस् तिमीले झक्झ्क्यायौ र ती दिनहरुलाई अझ ताजा बनायौ। नमरी बाँचे, कालले साँचे फेरि त्यतै कतै भेटौंला!
July 1, 2015
Ann Arbor, Michigan
No comments:
Post a Comment