Saturday, September 13, 2014

सपनाको रँगीन संसार

घर छेवैको पोखरीमा एउटा सानो अनौठो डुँगा रहेछ। यसो हेरें,उत्सुकता जाग्यो। डुँगामा पसेर भित्तातिर यसो थिचेको मात्र के थिएँ, त्यसले बिस्तारै पानीको सतह छोड्यो र अकासियो। मलाई लाग्यो यो त डाक्टर क्याभोरको 'क्याभोराइट' ले बनेको डुँगा पो रहेछ जुन एच. जी. वेल्सले उनको टाइम मेसिनमा उल्लेख गरेका छन् । त्यसैले यो पृथ्वीको गुरुत्वको बिपरित तिर जाँदैछ। मैले मनमनै चिताएँ-यसले मेरो गाउँतिर लगे हुन्थ्यो। त्यति सोचेको मात्र के थिएँ-डुँगा भुईंमा गएर बस्यो। बाहिर निस्केर यताउती हेरें। कस्तो अचम्म-म त आफ्नो गाउँ पुगेको रहेछु। पुतलीलाई भेटें, ऊ त अझै कल्कलाउँदी नै रहिछे। मैले सोधें-तिमी त तरुनी नै रहिछौ नि, पुतली? मुस्काई तर केही भनिन! उस्ले मलाई हामी सानो हुँदा गाई-बाख्रा चराउने, घाँस-दाउरा गर्ने भीर पाखातिर लगी! उस्ले भनी-हेर अहिले हाम्रो गाउँ त स्वर्ग भएको छ स्वर्ग। स-स्याना रुखका पोथ्रालाई देखाउँदै भनी-यी जमुना हुन्-जेनेटिकल्ली मोडिफाइड। म त जिल्ल परे - कति साना रुख, अनि कति धेरै फलेका! उसले एउटा टनेलमा पसेर स्विच के थिचेकी थिई-हामी एउटा पावर हाउसमा पुग्यौं-सबै कुरा अटोमेटेड। रोपवेले जोडिएका पाखा-पखेराहरू! तल बेंसीमा अत्याधुनिक तरीकाले सजाइएका बाली-नालीहरु! मेरो गाउँ फेरिएछ, पुरै नयाँ भएछ। पुतली मात्र रहिछ-मैले चिनेको अरु सबै नयाँ रहेछन्-मानिसहरू नयाँ, खान-पान नयाँ, बोल्ने-हिड्ने ढंग नयाँ, र सम्पूर्ण वाताबरणै नयाँ। म बडो रमाइलो मान्दै र अचम्भित हुँदै घुम्दै गएँ। मैले भनें- पुतली, ल गाउँ त अब स्वर्गै पो बनेछ, अहिलेलाई म जान्छु, फेरि आउँला मात्र के भनेको थिएँ, मेरो कानैको छेउमा एक लात बज्रियो र झल्याँस्स ब्युँझिएँ। सँगै सुतेको छोरोले पनि 'हरर फिल्म' को तेस्तै के सपना देखेको रहेछ क्यार!

No comments: